समाजसेवा गर्न आएका विदेशी नेपालमा बाल यौन दुराचारी ! | Khabarhub Khabarhub

समाजसेवा गर्न आएका विदेशी नेपालमा बाल यौन दुराचारी !



काठमाडौं–२०७४ चैत २४ मा काभ्रेको मण्डन देउपुर–६ बाट बाल यौन दुराचार आरोपमा पक्राउ परेका हाइ प्रोफाइल क्यानडाली नागरिक पीटर जोन डाल्गिल्सलाई जिल्ला अदालत काभ्रेले एकमहिना अघि दोषी ठहर गर्‍यो।

न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले पिटरलाई दोषी ठहर गरेको थियो। काभ्रे जिल्ला अदालतका अनुसार, अदालतले यही असारको अन्तिम साता सजाय सुनाउने छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले करिव १५ दिन सम्मको निगरानीपछि डाल्गिल्सको घरमा छापा मारेर उनलाई पक्रिएको थियो। उनिसँगै प्रहरीले १२ र १४ वर्षका बालकको समेत उद्धार गरेको थियो।

स्ट्रिट किड्स इन्टरनेसनल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था स्थापना गरेर विश्वव्यापी रूपमा काम गरिरहेका पिटर सन् २००२ मा संयुक्त राष्ट्रसंघको चाइल्ड लेबर कार्यक्रम अन्तर्गत नेपालमा चिफ टेक्निकल एडभाइजरका रूपमा खटिएका थिए। त्यसयता उनि नियमित रुपमा नेपाल आउँथे।

अनुसन्धानमा संलग्न ब्युरोका तत्कालिन डिएसपी कवित कटवालका अनुसार, पीटर मुख्यगरी बाल यौन दुराचारकै निम्ति बारम्बार नेपाल आउने गरेका थिए। उनले काभ्रेको मण्डन देउपुरमा आफ्नै लगानीमा घरसमेत बनाएका थिए। यूएन ह्याबिट्याटका निम्ति अफगानिस्तान प्रतिनिधिका रूपमा समेत काम गरेका पिटरले आफ्नै घरमा काम गर्न बस्नेका छोरा र उनका आफन्तका छोरामाथि यौन शोषण गरेको आरोप थियो।

यसरी पक्राउ परेका थिए हाइप्रोफाइल पिटर

तत्कालिन समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को पिल्लर ३ सम्हालेका कवित कटवालको टोलीले पिटरलाई पक्राउ गरेको थियो। डिएसपी कटवाल भन्छन्-युएनको विशिष्ट पदमा कार्य गरिसकेका व्यक्ति बाल यौन दुराचारमा संलग्न होलान् भनेर विश्वास समेत लागेको थिएन। तर, जब सीआईबीमा उजुरी पुग्यो तब हाम्रमे टोलीले पिटरमाथि निगरानी बढाउन थाल्यो।

पीटर जोन डाल्गिल्स

कटवाल थप्छन्-अनुसन्धान गर्दै जाँदा पत्ता लाग्यो की पिटर त काभ्रेको कात्तिके देउराली भन्ने स्थानमा घर नै बनाएर नेपाली बालकमाथि यौन दुराचार गरिरहेका रहेछन्। कट्वालका अनुसार, एकजना पीडित बालकको बयानका आधारमा उनि विरुद्ध अनुसन्धान अघि बढेको थियो। लगातार २१ दिन सम्म प्रहरी टोलीले पिटरबारे निगरानी राखेको थियो। यही क्रममा २०७४ साल चैत्र २४ गते राती पिटर २ जना बालकलाई लिएर जब उसको फार्म हाउसमा पुगे। लगत्तै उनको निगरानीमा रहेको सिआईबीको टोलीले पिटरमाथि एक्सन लियो र उनलाई पक्राउ गर्‍यो।

पिटर मात्र होइन बालयौन दुराचार सम्बन्धि अन्य ५ वटा ‘रेड’ समेत डिएसपी कटवालकै नेतृत्वमा भएको थियो। ती घटनामा ७ जना विदेशी नागरिक पक्राउ परेका छन्।

डिएसपी कवित कटवाल

पछिल्लो तीन बर्षमा ११ जना विदेशी पक्राउ

सिआईवीको तथ्याङ्क अनुसार, पछिल्लो तीन बर्षको अवधिमा बालयौन दुराचारको आरोपमा ११ जना विदेशी नागरिक पक्राउ परिसकेका छन् भने ती घटनामा कम्तिमा १५ जना बालकको उद्धार गरिएको छ। उनीहरु सबै यौन दुराचारमा संलग्न रहेकै अवस्थामा पक्राउ परेका हुन्।

यस्तो छ पक्राउ श्रृङ्खला

-२०७५ माघ ५ गते, काठमाडौंको कालिमाटीबाट बेलायती नागरिक इयान रोबर्ट कोल बाल यौन दुराचारको आरोपमा पक्राउ
-२०७५ माघ ५ गते, काठमाडौंको कालिमाटीबाट भारतिय नागरिक अजय पोद्दार पक्राउ
-२०७५ साउन ६ गते, काठमाडौंको गौशालाबाट फ्रान्सेली नागरिक ४२ बर्षीय क्रिस्टोफी गुलिएक्स र ३८ बर्षीय डेनिस माथेउ पक्राउ
-२०७५ जेठ ३१ गते, काठमाडौंको ठमेलबाट नेदरल्याण्डका ६६ बर्षीय पिट हेन भान पक्राउ
-२०७४ चैत २४ गते नगरकोट र काभ्रेको सिमानाबाट क्यानडाली नागरिक पीटर जोन डाल्गिल्स पक्राउ
-२०७४ पुस १९ गते ६३ वर्षीय जर्मन नागरिक योगेन भन्ने हान्स जर्जिन काठमाडौंको भोटेबहालबाट पक्राउ
-२०७४ कात्तिक २३ गते, काठमाडौंको कोटेश्वरबाट ७५ वर्षीय नेदरल्यान्डका नागरिक हेनरिकस एड्रियानस जोसेफस क्रुइजसेन पक्राउ
-२०७४ भदौ २१ गते, काठमाडौंको ठमेलबाट अष्ट्रियाका नागरिक मार्कस केन्डलर बाल यौन दुराचारको आरोपमा अर्धनग्न अवस्थामा पक्राउ, एक बालकको उद्धार
-२०७४ असार १५ गते, काठमाडौंको ठमेलबाट ६३ वर्षीय जर्मन नागरिक अल्बर्ट फ्रेड किन्लेक बाल यौन दुराचारको आरोपमा पक्राउ
-२०७३ गत भदौ २४ गते, काठमाडौंको ठमेलबाट ४८ वर्षीय अमेरिकी नागरिक केनेथ जोसेफ कम्बोस बाल यौन दुराचारको आरोपमा पक्राउ

कतिपय दुराचार आरोपी त विदेश फर्किनसमेत सफल भएको बताइन्छ। फ्रान्सेली नागरिक गेराड फिलिप्पे नेपाल आएर १५ जना भन्दा बढी बालबालिकालाई यौन दुराचार गरेर २०१४ को मे महिनामा नेपालबाट बाहिरिसकेको अध्यागमनको तथ्याङ्कले देखाएको छ। प्रायःजसो पक्राउ परेकाहरु ५० वर्ष उमेरभन्दा माथिका छन्। त्यसमाथि पनि उनीहरु धेरै जनाको डिभोर्स भइसकेको खुलेको सिआइबीले जनाएको छ। सिआइवीका डिआइजी निरज शाही भन्छन् – उनिहरु यौन दुराचारसम्बन्धी क्रियाकलाप गर्नकै लागि अन्तर्राष्ट्रिय रुपमै यौन दुराचारीहरु नेपाल आउने गरेको पाइएको छ।

समाजसेवाको भेष, बाल यौन दुराचारको धन्दा

सबैजसो यौन दुराचारीले समाज सेवा गरेजस्तो गर्दै गरिब बालबालिकालाई प्रलोभनमा पारेर यौन दुराचार गर्दै आएका छन्। अधिकांश दुराचारीले पर्यटन भिसामा नेपाल आएर गरीब, कम शिक्षित र सडक बालबालिकालाई यौन दुराचार गर्ने प्रहरीको बुझाई छ। विदेशी भन्ने बित्तिकै सजिलै विश्वास गर्ने हुनाले पनि यौन दुराचारीले नेपाली बालबालिकमाथि निशाना बनाएको प्रहरीले दाबी गरेको छ।

बाल यौन दुराचारका घटनाहरू कम गर्न र त्यस्ता घटनाबारे थाहा पाउन सरकारले सिविन नेपाल जस्ता संस्थासँग सहकार्य गरेर बाल हेल्पलाइन (१०९८) स्थापना गरेको छ। त्यस बाहेक समुदाय प्रहरी साझेदारी मार्फत पनि यस्ता किसिमका घटनाबारे जनचेतना बढाउने काम भइरहेको छ

अनुसन्धानबाट काठमाडौंका सडक बालबालिका, उपत्यका आसपासका जिल्लाहरु धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेलगायतका बालबालिकामाथि बढी यौन दुराचार हुने गरेको तथ्य फेला परेको छ। प्रहरीका अनुसार, नेपालमा २०६० तिरबाटै अमेरिका, जर्मनी, फ्रान्स र अमेरिकाका नागरिकले बालबालिकालाई यौन दुराचार गरेका घटना रेकर्डमा छन्।

विश्वका जुनसुकै देशका यौन दुराचारीको निशानामा नेपालका बालबालिका रहेको ग्लोबल स्टडी अन सेक्सुअल एक्सप्लोइटेसन अफ चिल्ड्रेन इन ट्राभल एण्ड टुरिजम नामक एक अध्ययन प्रतिवेदनले औंल्याएको छ। यो प्रतिवेदनले अन्य एशियन देशका बालबालिका समेत असुरक्षित रहेको उल्लेख गरेको छ। नेपाल, कम्बोडिया, हाइटी, होण्डुरस, केन्यासहितका मुलुकमा बालबालिका यौन दुराचारीको निशानामा रहेको भन्दै यो अध्ययनले धार्मिक पर्यटक समेत यस्तो घृणित अपराधमा भइरहेको जनाएको छ।

यस्तो छ कानुनी प्रावधान

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार, कसैले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिन्छ। बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

त्यस्तै बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडित बालकको उमेरका हिसाबले १० वर्ष देखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ। यतिमात्र होइन यही संहिताले कसुरबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराइ दिनुपर्ने व्यवस्था समेत गरेको छ।

बाल यौन दुराचार नियन्त्रण कसरी ?

डिएसपी कटवाल भन्छन् – विदेशी त्यसमा पनि गोरो छाला देख्ने वित्तिकै आँखा चिम्लिएर विश्वास गर्ने प्रबृत्ति देखिन्छ। अझ ग्रामिण भेगका विपन्न परिवारका मानिसहरुमा यो समस्या झनै ठूलो छ। दुराचारीहरुले त्यही कमजोरीमा खेल्दै उनिहरुलाई सहयोग गरेको जस्तो गर्ने र दुराचार गर्ने गरेको पाईएको छ। त्यसैले यसको नियन्त्रणका लागि जनचेतनाको आवश्यक्ता जरुरी छ ।

त्यसो त बाल यौन दुराचारका घटनाहरू कम गर्न र त्यस्ता घटनाबारे थाहा पाउन सरकारले सिविन नेपाल जस्ता संस्थासँग सहकार्य गरेर बाल हेल्पलाइन (१०९८) स्थापना गरेको छ। त्यस बाहेक समुदाय प्रहरी साझेदारी मार्फत पनि यस्ता किसिमका घटनाबारे जनचेतना बढाउने काम भइरहेको छ। तर यस्ता किसिमका घटना गुपचुप रूपमा हुने हुँदा जनचेतनाको माध्यमबाट नै यसलाई कम गर्नुपर्ने पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ९ : १४ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार