काठमाडौं– २७ महिनाअघि धनुषाकी काविया साह (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि नेपालबाट कुवेतका लागि हिँडिन् । २१ वर्षीया साह नेपालबाट कुवेत हिडेपनि उनलाई दलालले इराक पुर्याएका थिए । इराकमा १८ महिना काम गरेर कुवेत मै आएपछि उनी स्वदेश आइपुगेकी छन् । एजेन्टकै कारण फसेकी उनी फेरि एजेन्टकै सहयोगमा इराकबाट कुबेत फर्कन सकिन् ।
नेपाली पनि त्यत्ति राम्रो बोल्न नसक्ने उनी एक सहयोगीका साथमा मात्र हिँड्ने गरेकी छन् । उनीसँग आफनै बहिनी पर्ने साथी छन् । इराकमा पाएको दुःख र पीडाले उनी पुरुष देख्नै सक्दिनन् । पुरुष देख्ने बित्तिकै उनी थरथरी काम्न थाल्छिन् । बोल्न डराउने उनी कसैसँग नजर जुँधाएर हेर्दिनन् । उनकी सहयोगी बहिनीले भनिन्–‘दिदीको आँखामा जहिले पनि आँशु नै मात्र देख्छु, उहाँ सुकसुक मात्र गरिरहनुहुन्छ ।’ साह गतहप्तामात्र मात्र नेपाल फर्किएकी हुन् । उनलाई कुवेतस्थित नेपाली दूतावास र कुवेतमा रहेका गैरआवासीय नेपालीको सहयोगमा उद्धार गरी नेपाल फकाइएको हो ।
वैदेशिक रोजगार प्रवद्धन बोर्डमा भेटिएकी उनीसँग समस्याको कुरा गर्दा गहभरी आँशु पारिन् । कुनै शब्द बोल्नु अघि नै उनी रुन थालिन् । निक्कै बेरको सन्नटापछि उनले भनिन्,–‘मलाई छोरा मान्छे देख्यो कि डर लाग्छ । अचानक रिस उठेर आउँछ । म धेरै बोल्नै सक्दिन ।’ उनले यसो भनेपछि उनकी सहयोगी बहिनीसँग हामीले कुराकानी गर्यौं ।
इराकमा जोखिम मोलेर लुकी लुकी एजेन्टलाई सम्पर्क गरी कुवेत फर्किएँ । अस्मिता जोगाउन खोज्दा कुटाइ खाएँ । पैसा तिरेर ल्याएका हौं भन्दै उनीहरुलाई मनलाग्दी गर्थे ।
‘नेपालबाट एजेन्ट दिलीप पासवानले भारत हुँदै कुवेत लैजाने भनेर इराक पुर्याइएको हो । इराकमा १८ महिना काम गरेँ एउटा घरमा । एक जना ६५ वर्षकी बुढी र अन्य ३ जना पुरुष थिए मैले काम गर्ने त्यो घरमा । ती पुरुष सरकारी जागिर थिए,’उनले भनिन, ‘त्यो देशमा महिलाको कुनै सम्मान छैन । आफ्नै आमाका आगाडी अर्की महिलालाई समाउँछन् । महिलाको त इज्वत नै गर्दैन् । उनीहरुका लागि महिला खेलौना हुन् । जे मन लाग्यो त्यही गर्छन । महिलाको चाहनाले केही हुँदैन । उनीहरुकै चाहना अनुसार जुन समय हो त्यही समय जबरजस्ती गर्छन ।’
१८ महिना घर बाहिर ननिस्की काम गरेकी उनले लामो संर्घषपछि कुबेत फर्कन सकेको बताइन्् । इराकमा जोखिम मोलेर लुकी लुकी एक एजेन्ट जितेन्द्र यादवलाई सम्पर्क गरी कुवेत फर्किएको बताइन्् । आफूलाई इराक पठाउने पासवानकै पहलमा आफू कुवेत आएको थाहा पाएको पनि उनले बताइन््।
‘अस्मिता जोगाउन खोज्दा कुटाइ खाए । मसँग एक जना भारतीय मुलकी महिला पनि काम गर्थिन । हामीलाई ती तीन जना पुरुषले उनीहरुले चाहेको बेला कोठामा बोलाउँथे । उनीहरुको व्यवहारले म त बेहोस नै हुन्थेँ,’ पीडा नै पीडाले भरिएको अनुहार खुम्च्याउँदै भनिन्, ‘भारतीय मुलकी ती बहिनी त बोल्न पनि सक्दिनन् ।’
आफैंले पैसा तिरेर आफ्नै अस्मिता लुटाएर आएको भन्दै उनले भनिन्, ‘घरकाले मात्र हैन्, घरमा पाहुना आएकाहरुले पनि छाडेनन् । पैसा तिरेर ल्याएका हौं भन्दै उनीहरुलाई मनलाग्दी गर्थे । ज्यान जोगाउनकै लागि भएपनि जे भन्छन् त्यही मानियो । पैसा तिरेर इज्जत लुटन लगाइयो ।’
कुवेत फर्किएपछि राम्रो काम पाएपनि इराकको घटनाले काम नै गर्न नसकेर स्वदेश फर्किएको उनले बताइन्् । बोर्डमा उपचार खर्चका लागि सहयोग माग्न पुगेकी उनले दूतावासमा पुगेर हारगुहार गरी नेपाल फर्किएको बताइन्् ।
यसरी पुर्याइयो इराक
बाध्यकारी रोजगारी कै कारण साहजस्ता महिला दलालको फन्दामा पर्ने गरेका छन् । परिवारकै विश्वासका कारण उनीहरु बेचिने गरेका छन् । उनीहरुको सोझोपनको फाइदा उठाउँदै दलालले पनि बढी रकम असुली गर्ने तथा सरकारले प्रतिबन्ध लगाएका देशमा पुर्याए नारकीय जीवन विताउन बाध्य बनाउने गरेका छन् ।
कुबेतका लागि भनेर दिल्ली पुगेकी उनलाई एजेन्टले दिल्लीबाट बंगलादेश पुर्याएको थियो । बंगलादेशमा पुगेपछि भने एजेन्टले इराकको महिला गृहमा काम गर्नुपर्ने भनेर इराक पुर्याएको उनको भनाई छ ।
आफना गाँउका काका पर्ने एजेन्ट जितेन्द्र यादवमार्फत उनी अर्कोको एजेन्ट दिलीपसँग सम्पर्कमा पुगेकी थिइन । दिलीप प्रहरीको फरार सूचीमा छन् । उनी तराईका जिल्लाबाट महिलाहरुलाई फकाउँदै भारत तथा खाडीका मुलुकमा पुर्याएर तस्करी गर्ने काम गर्दै आएका छन् । भारतीय जेलमा परेर छुटेका दिलीप मलेसिया र युएईमा बसेर नेपाली महिला खाडीका देश पठाउने सेटिङ मिलाउँछन् ।
कावियाले यादवलाई कुवेत जान १ लाख ४० हजार तिरेको बताइन्् । घरमा बाबु नभएपछि विदेश जाने भनेर सोधीखोजी गर्दा काका पर्ने एजेन्ट यादवले पासवानलाई भेटाएर चिनाइदिएको र काकाकै साथी भन्ने विश्वासले आफू उसले दिएको आवश्वासन अनुसार अघि बढेको साहले बताइन् । उनले भनिन, ‘पासवानले कुवेतमा महिनाको ४ सय डलर कमाइ हुने महिला गृहबाट राम्रो डिमाण्ड आएको छ भनेर प्रलोभन देखाए । त्यसपछि अरुलाई २ लाख लाग्छ । तर, साथीको आफन्त भएका कारण १ लाख ४० हजार दिनुभनेर पैसा लिए ।’
शुरुमा कुबेत काम गर्ने भनेपनि पछि भारतको मुम्वइ हुँदै इराक पुगेको साहले बताइन् । ‘त्यहाँ गएपछि पैसा कमाउने कुरा त कता कता हो बाचेर आउन मुस्किल भयो । महिनाको ४ सय डलर कमाई हुन्छ भनेको थियो । तर, आफु जाँदा लागेको ऋण नै तिर्न नसकी फर्किएँ,’ उनले भनिन, ‘अब समाजमा मुख कसरी देखाउनु भने चिन्ताले सताइरहेको छ ।’
उनले समुदायले हेय भावले हेर्ने समस्याबाट पनि अब झन पीडिन हुने बताइन्् । ‘विदेशबाट दुःख पाएर फर्केकालाई गाउँमा पनि राम्रो नजरले हेर्दैनन् । अब उपचारपछि यतै घरायसी काम खोजेर गर्छु,’ उनले भनिन् । साहले कक्षा ५ सम्ममात्र अध्ययन गरेको पनि बताइन् ।
बाध्यकारी रोजगारी कै कारण साहजस्ता महिला दलालको फन्दामा पर्ने गरेका छन् । परिवारकै विश्वासका कारण उनीहरु बेचिने गरेका छन् । उनीहरुको सोझोपनको फाइदा उठाउँदै दलालले पनि बढी रकम असुली गर्ने तथा सरकारले प्रतिबन्ध लगाएका देशमा पुर्याए नारकीय जीवन विताउन बाध्य बनाउने गरेका छन् ।
प्रतिक्रिया