काठमाडौं– धम्बाराहीमा रहेको ह्याम्स हस्पिटलले एयर एम्बुलेन्स सेवा शुरु गरेको छ । अस्पतालले आफ्नो छतमा रहेको हेलिप्याडबाट सोमबार एयर एम्बुलेन्स सेवा शुरु गरेको हो ।
नेपाल नागरिक उड्डन प्राधिकरण एरोड्रम सेफ्टी स्टाण्डर्ड विभाग, सिनामंगलबाट अनुमति लिएर ह्याम्स अस्पतालको छतमा नव निर्मित हेलिप्याडमा एयर डाइनेस्टीको हेलिकोप्टरले सफल उडान तथा अवतरण गरेर एयर एम्वुलेन्स सेवा शुरु गरेको हो ।
बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, प्रा.डा. भगवान कोईराला, प्रा.डा. अर्जुन कार्की, अस्पतालका अध्यक्ष राम शरण भण्डारी, मेडिकल डाइरेक्टर डा. भास्कर राज पन्तले संयुक्त रुपमा एयर एम्बुलेन्स सेवा उद्घाटन गरेका हुन् ।
नेपालको भौगोलिक अवस्था अनुकूल छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले दिवा सेवाको रुपमा १२ घण्टा एयर एम्वुलेन्स सेवा विस्तार गरेको अस्पतालका अध्यक्ष राम शरण भण्डारीले बताए ।
हेलिकोप्टर एयर एम्वुलेन्स सेवामा विगत ७ बर्ष देखि सक्रिय डा.संजय कार्कीले नेपालको दुर्गम क्षेत्रबाट विरामी ल्याउन एयर एम्वुलेन्सको रुपमा हेलिकोप्टर सेवा विस्तार गर्नु सजिलो र उपयुक्त भएको बताए । उनले भेन्टिलेटरको माध्यमबाट इर्मजेन्सी सेवाका विरामीहरु ल्याउन पनि हेलिकोप्टर सेवा उपयुक्त हुने बताए ।
प्रतिक्रिया