बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र | Khabarhub Khabarhub

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र परेको छ । बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटरमा पाँच र जोमसोमदेखि कोरलाको ११० किलोमिटर सडकमा सातवटा प्याकेज छन् ।

म्याग्दीको गलेश्वर–नारच्याङ पुल, मुस्ताङको कोवाङ–जोमसोम र चराङ–छोसेर खण्डको सडक अलपत्र परेको हो । निर्माण व्यवसायीले समयमा काम नगर्दा चीनको सिमाना कोरला नाका जोड्ने सडक अलपत्र परेको छ ।

कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालोपत्रका लागि निर्माण कम्पनीहरुसँग पहिलो चरणमा भएको सम्झौताको म्याद मङ्सिर १५ गते सकिएको छ । जोमसोम–कोरला सडकको पनि तेस्रो पटक थपिने म्याद आगामी असारमा सकिँदै छ ।

गलेश्वरदेखि नारच्याङ पुलसम्मको १९ किलोमिटर, कोवाङदेखि जामसोम १९ किलोमिटर र चराङदेखि छोसेर २५ किलोमिटर सडकको काम ठप्प भएको छ ।

गलेश्वर–नारच्याङ पुल खण्डको सडक कालोपत्र गर्न ठेक्का शर्मा–युनाइटेड जेभीले लिएको थियो । कोवाङ–जोमसोम सडक कालोपत्र र चराङ–छोसेर खण्डको सडक ग्राभेल गर्न कोशी एन्ड न्यौपाने जेभीले ठेक्का लिएको थियो । कोशी एन्ड न्यौपाने जेभीले छ महिनादेखि रोकिएको सडकको काम अझै अघि बढाएको छैन ।

सुरआती चरणमा कोशी एन्ड न्यौपानेले तीव्र गतिमा अघि बढाएको भए पनि पछिल्लो अवस्थामा काम रोकिएको हो । मुस्ताङको मार्फादेखि टुकुचेसम्म ग्राभेल पूरा गरेपछि व्यवसायीले काम नगरेकाले सडक अलपत्र परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष आसबहादुर थकालीले बताए ।

व्यवसायीको लापरवाही र सम्बद्ध कार्यालयका प्राविधिक तथा कर्मचारीको बेवास्ताले आयोजनाको बजार क्षेत्रका सडकमा काम हुन नसकेको उनले बताए । सडक निर्माणमा भएको ढिलाइले जोमसोम, मार्फा, पुथाङलगायत बजार क्षेत्रमा अन्य विकासका पूर्वाधारको काम गर्न गाउँपालिकालाई अप्ठ्यारो परेको अध्यक्ष थकालीको भनाइ छ ।

कम्पनीले कोवाङदेखि जोमसोम खण्ड करिब ६२ करोड र चराङदेखि छोसेर खण्ड करिब रु २६ करोडमा सम्झौता गरेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार साबिक कम्पनीले तल्लो खण्डमा ५० र उपल्लो खण्डमा ६२ प्रतिशत काम गरेको छ ।

गलेश्वर–नारच्याङ पुल खण्डको काम पनि करिब ५० प्रतिशत भएको छ । कोशी एन्ड न्यौपानेकै नाम हटाएर साबिक कम्पनीको नाम सप्तकोशी एन्ड जलाधार कन्सट्रक्शन राखिएको परियोजना प्रबन्धक सहदेव गौतमले जानकारी दिनुभयो । उनले कोशी एन्ड न्यौपानेले थालेका सबै काम अब नयाँ कम्पनीले सञ्चालन गर्ने बताए ।

जोमसोम–कोरला सडकको छोसेरदेखि कोरला नाकाको २४ नं गेटसम्मको सडक ११ मिटर फराकिलो र ग्राभेल गर्ने काम एक वर्षअघि नै सकिएको थियो । जोमसोमदेखि छुसाङसम्मको सडक स्तरोन्नति पनि अन्तिम चरणमा पुगेको छ ।

नारच्याङ पुलदेखि कोवाङसम्मको दुईवटा प्याकेजको ठेक्का लिएको शर्मा–गजुरमुखी कम्पनीले कामलाई तीव्रता दिएको सडक आयोजनाका सुपरभाइजर इन्द्रसिं शेरचनले बताए । म्याग्दी र मुस्ताङका दुईवटै खण्डमा पर्याप्त मात्रामा उपकरण र मजदूर परिचालन गरेको छ ।

आयोजनाले काम अघि नबढाए ठेक्का तोडेर कारवाही गर्ने चेतावनी दिएपछि निर्माण व्यवसायीले सक्रियता देखाएका छन् । शर्मा–युनाइटेडले पनि बैशरीदेखि बेगखोला खण्डलाई फराकिलो बनाउन उपकरण र मजदूर परिचालन गरेको आयोजनाका इन्जिनीयर किरण सुवेदीले बताए ।

कामलाई तीव्रता दिन व्यवसायीसँग बैठक, सरोकारवालासँग समन्वयका साथै पत्राचार गरेर ताकेता गरिएको इन्जिनीयर सुवेदीले बताए । बेनीदेखि जोमसोमसम्म दुई लेन कालोपत्र र जोमसोमदेखि कोरलासम्म ११ मिटर फराकिलो ग्राभेल सडक बनाउन पाँच अर्बभन्दा बढी लागतमा आयोजना सञ्चालन भएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ३ : ०१ बजे

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको

हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम

सिन्धुपाल्चोक – यहाँको मेलम्ची नगरपालिकाले गत आर्थिक वर्षमा हल गोरु

गाजामा खाद्य संकट गहिरिँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेनसी – संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनमाथि अर्को मुद्दा दर्ता

काठमाडौं – दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको

फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने

काठमाडौं– नेपाल फिलोसफिकल रिसर्च सेन्टरले अङ्ग्रेजी भाषामा सीमित शोध प्रकाशन