नेपाली साँच्चै असभ्य ! | Khabarhub Khabarhub

नेपाली साँच्चै असभ्य !


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘ए बज्यै, भाडा दिनोस् त ।’ माइक्रोबसको खलासी पछिल्तिरबाट बोल्यो ।

‘एकछिन पख न । याँ दाँत कोट्याउँदैछु ।’ मेरो छेउमा बसेकी करिव ६५ वर्षकी बृद्धा च्याठिइन् । मैले देखेँ, आमै बीस रुपियाँको कटकटाउँदो नोटलाई बेरेर सुइरोजस्तो बनाइ मस्तसँग आफ्ना दाँत कोट्याउनमा निग्मग्न थिइन् । माइक्रोबसको अघिल्लो सिटमा थियौँ हामी ।

हामीसँगैको सिटमा रहेको अधवैंसे चालकले आमैतिर पुलुक्क हेर्‍यो । सुकिला लुगा लगाएकी ती बृद्धालाई हेरिसक्नासाथ उसको अनुहारमा एक्कासि घिन भरियो । माइक्रोबसलाई धुम्बाराही ओरालोबाट रिङरोड क्रस गरेर सुकेधारातिर मोड्दै गर्दा उसले भन्यो, ‘आमैले त्यही दाँत कोट्याकाएको पैसा हाम्लाई दिन लाग्या हो कि क्या हो ?’

‘अर्को त भए पो दिउँ त ! दाँत बिझाएर आफूलाई कस्तो सकसक लागिराछ ।’ आमैको मुखबाट टिमुर्किएको बोली निस्कियो । दाँत कोट्याउने क्रम जारी थियो ।

‘बुढाबुढी भएर अरुलाई संस्कार सभ्यता सिकाउनु पर्ने उमेरमा पनि यस्तो फोहोरी काम गर्ने ?’ तिनको चालामाला देखेपछि म नबोली बस्नै सकिन । मुसुमुसु हाँस्तै भनेँ, ‘अब त्यो खलासी भाइले त्यो घिनलाग्दो पैसा कसरी समाउँछन् ?’

‘नसमाए समाउँदैन नि । मलाई के हुन्छ ?’ आमैको यसपटकको जवाफ सुनेर मलाई हाँसो लाग्यो । मैले उनलाई निकै मजाले नियालेँ, फेरिफेरि कतै देखियो भने राम्रैसँग याद होस् भनेर ।

‘अहिले तपाईं हाम्रो हातमा भए पनि पैसा भनेको देशको सम्पत्ति हो । यसरी नोटलाई दुरुपयोग गरेको थाहा पायो भने राष्ट्रबैंकले पुलिस गुहारेर कारवाही गराउन सक्छ । तपाईंजस्ता बुढाबुढीले यस्तो काम नगरेको राम्रो ।’ मैले उनलाई सम्झाउन खोजेँ । त्यो बेला माइक्रोबस यात्रु उतार्न–चढाउन सुकेधारा प्रहरी बीट छेउ रोकिराखेको थियो ।

‘गर्छ कारवाही ? कस्ता कस्ता भ्रष्टाचारीलाई त कारवाही गर्न सक्या छैन यै नाथे दाँत कोट्याको भरमा गर्छ ?’ दाँत कोट्याएर निस्केको फोहोर नोटको टुप्पोबाट फाल्दै बुढियाले त उल्टो धम्की पो दिइन्, ‘कसरी कारवाही गर्दो रैछ म पनि हेर्छु ?’

लगत्तै आमैले त्यो नोट फुकाएर खलासीको हातमा थमाइन् । खलासीले घिनमान्दै नोटलाई अलि अलग्गै राख्यो ।

ड्राइभर बेस्सरी रिसायो । तर केही बोलेन । मलाईचाहिँ हाँसो लाग्यो । भनेँ, ‘म त लेख्ने मान्छे । तपाईंले आज मलाई गजबको लेख्ने खुराक दिनु भो ।’

‘तपाईंले लेखेर के हुन्छ ? तपाईंले लेख्ने भनेको पत्रिकामा होला ।’ दिमागै रनभूल्लमा पार्ने गरी आमैले भनिन्, ‘मेरो बारेमा आफ्नै भाइले किताबै लेखिसकेको छ । मेरो भाइ तपाईंभन्दा ठूलो पत्रकार छ । उसले लेखेको त्यो किताब अमेरिका जापान समेत पुगिसकेको छ । तपाईंले लेखेर के नाप्नु हुन्छ ?’

मैले आमैको अनुहार फेरि नियालेँ कोही अग्रज पत्रकारहरुसँग मिल्छ कि भनेर । अहँ ठम्याउन सकिन ।

त्यसबेलासम्म माइक्रोबस लक्ष्मी बैंक अघिल्तिर पुगिसकेको थियो । उत्रिने तर्खर गर्दै गरेकी आमैसँग हाँसेर सोधेँ, ‘एकचोटि तपाईँको भाइको नाम भन्दिनोस् न ।’

‘तपाईँलाई किन चाहियो मेरो भाइको नाम ?’ आमैको अनुहारमा दुर्वासा रुप उत्रिएको देखेँ ।

‘कस्ता कस्ता फोहोरी मान्छे पनि हुन्छन् ?’ चालकले रिसाउँदै गाडीको स्टेयरिङ नीलोपुलतिर घुमायो ।

सार्वजनिक यात्रा सकसपूर्ण हुन्छ । हेर्दा भलाद्मी देखिने व्यक्तिको यात्राले अरु यात्रुलाई उकुसमुकस बनाइरहेको हुन्छ । तर उनीहरुले धेरै कुरा व्यक्त गर्न सक्दैनन् ।

यस्तै एउटा अर्को घटना छ रानीबारी–जमल यात्रा गर्दाको । त्यो बेला म मनोक्रान्ति अभियन्ता डा. योगी विकासानन्दलाई भेटेर सुन्धारातिर आउँदै थिएँ, माइक्रोबसमा । मनमा डा. योगीले भनेका जीवनोपयोगी कुराहरु खेलिरहेका थिए । आँखा चिम्लिएर सम्झँदै ती कुराहरु सदाका लागि स्मरणीय बनाउने कोसिस पनि गरिरहेको थिएँ ।

म ढोकाछेउको आधा सिटमा थिएँ । दुईजना बस्न मिल्ने सिटमा अतिरिक्त यात्रु बस्नु–बसाउनु आमचलन नै हो । आधासिटमा नितम्ब अड्याउन पाओस् नपाओस् उसले पूरा भाडा तिर्नु पर्छ । कतिपय अवस्थामा त त्यही आधा सिटमा नितम्ब अड्याउन पाउनुलाई पनि ‘भाग्य’ ठानिन्छ ।

बिनासिट झुण्डिएर तथा आधा सिटमा बसेर यात्रा गर्ने बानी छैन । तर कहिलेकाहीँ हतार भएको अवस्थामा त्यही आधा सिटमा पनि चित्त बुझाउनु पर्छ । त्यो दिन मेरो हालत त्यही थियो ।

माइक्रोबस जसै अघि बढ्यो म बसेको सिटको बीचमा बच्चा च्यापेर बसेकी २५–२६ वर्षकी युवती र ड्राइभरभन्दा पछाडिको ‘ज्वाइँ सिट’ (स्मरण रहोस् त्यो सिटमा बस्ने यात्रुले पछाडि फर्कनुपर्ने भएकाले मैले उपमा दिएको हो ।) मा बसेकी २०–२२ वर्षकी यात्रु यति चर्को स्वरमा गफ गर्न लागे कि मेरो सम्पूर्ण एकाग्रता भंग हुन पुग्यो ।

सामान्यता यात्राका बेला अरु यात्रुले गर्ने गफ मेरा लागि चाखको विषय हुने गर्छ । आख्यान लेख्नका लागि काम लाग्छ भनेर दिमागमा सन्चित पनि गर्ने गर्छु । तर त्यो दिन भेटिएका ती युवतीहरुका गफले झिंजो मात्र उत्पन्न गराए ।

मेरा आँखाले पालैपालो ती युवतीका अनुहार र शरीर नियाले । निकै सुशिक्षित र सम्पन्न परिवारका जस्ता लाग्थे तिनीहरु । एउटी बिवाहित अर्की अविवाहित । तर तिनीहरुको गफको स्तर सुन्दा लाग्थ्यो उनीहरु संस्कारविहीन छन् । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन भन्ने सामान्य कुराको पनि हेक्का छैन ।

तिनीहरुको गफका कारण छेउछाउका अन्य यात्रुले समेत दिक्क मानेको देखेपछि मैले आफूलाई सम्हाल्नै सकिनँ । छेउकी युवतीलाई सुस्तरी भनेँ, ‘बहिनी एकचोटि ख्याल गर्नोस् त, तपाईंहरुको गफले अरुलाई डिस्टर्ब भएको छ कि ?’

उसले मेरो अनुहारमा पुलुक्क हेरी । अनि अघिल्तिरबाट एकोहोरो रुपमा बोलिरहेकी बहिनीतिर फर्केर भनी, ‘ओइ नबोल, अरुलाई डिष्टर्ब भयो रे ?’
अब अघिल्तिर बसेकीका नजर मेरो अनुहारमा गाडिए । अनि दिदीतिर फर्केर च्याँठिई, ‘के आफ्नो गफ गर्न पनि नपाउनु ? हामीले कसको के खाइदिएका छौँ ?’

‘त्यही त, आफ्नो पैसाले भाडा तिरेर यात्रा गर्नुछ । बोल्न पनि नपाउनु रे ।’ मेरो छेउकीले आक्रोश ओकली, ‘अरुले बोलेको सुन्न नसक्नेले ट्याक्सीमा हिँड्नु नि ।’ त्यो बेला मलाई भने म राजधानीको सार्वजनिक सवारी साधनमा होइन, सारौं चराको झुण्ड भएको बाँसघारीभित्र भएको अनुभूति गरिरहेको थिएँ ।

मेरो समर्थनमा कोही बोल्छ कि भनेर वरिपरि नजर डुलाएँ । अहँ, बोल्ने संकेत कसैले देखाएनन् । जवकि हरेक यात्रु सुशिक्षितजस्ता देखिन्थे ।

अब मैले आँखा चिम्लिएर उनीहरुको उपेक्षा गर्नुको विकल्प देखिनँ । किनकि त्यो बेला रछ्यान चलाइ मुख छिटा भन्ने उखानको याद आइरहेको थियो ।

मेरो त्यो मौनताले उनीहरुलाई झन् चर्कोसँग पोलेको देखियो । अघिल्तिर बसेकीले खलासीलाई सोधी, ‘ए भाइ, तिम्रो गाडीभित्र बोल्न पाइँदैन, हो ?’
‘बोल्नोस् दिदी बोल्नोस् ।’ उसले उल्टो उकेरा लगायो, ‘कसैले पाइँदैन भन्यो भने मलाई भन्नोस् ।’

‘हामीले गफ गर्दा याँ कसैकसैलाई डिष्टर्ब भयो रे नि त ।’ सायद उसले मतिर हेरेर बोल्दै थिई । आँखा चिम्लिएकाले मैले देखिन ।

मलाई भने भित्रभित्रै हाँसो लाग्यो । तर हाँसोलाई जतिसक्दो दबाएँ । सोचेँ, हाम्रो समाजका नारीहरु कमजोर, हेपिएका र हीनभावनाले ग्रस्त रहेछन् भन्ने कुरा बेकार रहेछ ।

अहिले पनि सुकेधारा र सामाखुसी रुटमा यात्रा गर्दा ती नारी अनुहारसँग नजर ठोक्किन्छ कि भनेर खुब ख्याल गर्छु । तर अहँ कहिल्यै साइत जुरेन ।
भेट भइहाल्यो भने भन्ने मन छ– ‘तपाईंहरुको दुस्साहसलाई सलाम !’

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ७ : २६ बजे

राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान

दोहा– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान

पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

रामपुर – रामपुर नगरपालिका–४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार

दार्चुलामा जिप दुर्घटना : मृतकको सङ्ख्या सात पुग्यो  

काठमाडौं – दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै

ट्रम्प जिताउन सक्रिय केनेडी हेल्थ सेक्रेटरी बन्दा गाबार्ड बनिन् गुप्तचर निर्देशक

न्युयोर्क – भ्याक्सिनमा विश्वास नगर्ने रोबर्ट एफ केनेडी जुनियरलाई डोनाल्ड

छाला नपाउँदा मादल बनाउन समस्या, पुर्ख्यौली पेसा संकटमा

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक