‘कांग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’ | Khabarhub Khabarhub

‘कांग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण आज समापन हुँदैछ ।

पहिलो चरणको एक महिने जागरण अभियानका क्रममा कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर टोलस्तरसम्म भेला, सदस्यता वितरण, प्रशिक्षण, अभिलेख सङ्कलन, पार्टीका अग्रजको सम्मान, शहीदका घर परिवारसँग भेटघाट र सुझाव सङ्कलन गरेको छ ।

सो जागरण अभियानका क्रममा अधिकांश जिल्लामा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा नेतालाई मिल्न र पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिएका छन् । त्यस्तै काम नगरी नेताका वरिपरि घुमेर चाकडी गर्ने परिक्रमी (गणेश प्रवृत्ति) भन्दा परिश्रमी (कुमार प्रवृत्ति) लाई महत्व दिन र सोहीअनुसार मूल्याङ्कन गर्नुपर्ने सुझाव जागरणमा मुख्यरुपमा उठेको थियो ।

अभियानका क्रममा भोजपुरमा खटिनुभएका नेता रामहरि खतिवडाले गाउँमा कांग्रेस आउँदैन भन्ने गुनासोलाई सम्बोधन गरेर टोलस्तरसम्म विभिन्न कार्यक्रम गरेको बताए ।

केन्द्रका नेतालाई मिल्न आग्रह

कार्यक्रममा गत निर्वाचनमा जितेका र हारेका पार्टीका उम्मेदवारसँगै भएर सौहार्द वातावरणमा कार्यक्रम गरेको जानकारी गराउँदै उनले भने, ‘स्थानीय नेता कार्यकर्ताले पार्टीमा एकता कायम गर्न र गुटउपगुट अन्त्य गर्न सुझाव दिनुभएको छ । कार्यकर्ताले केन्द्रका नेतालाई मिल्न र परिक्रमीको नभई परिश्रमिकका कुरा सुन्न आग्रह गर्नुभयो ।’

कांग्रेस पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्ने र कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धिको सम्प्रेषण गर्ने अभियानको मुख्य उद्देश्य रहेको थियो ।

सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित जागरण अभियान २०७६ सालभरि तीन चरणमा सम्पन्न हुनेछ । अभियानको प्रथम चरण गत वैशाख २५ गते प्रारम्भ भई आज समापन हुँदैछ । दोस्रो चरण आगामी भदौ २४ गते बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ । तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ मेलमिलाप दिवसमा समापन हुने गरी तय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बाँकेमा खटिनुभएका नेता एनपी साउदले अभियानमा पार्टीका सबै एकाइ र भ्रातृ तथा शुभेच्छुक संस्था परिचालन भएको, पार्टीमा एकताको सन्देश गएको र नयाँ सन्दर्भमा पार्टी एक भएर जानुपर्छ भन्ने स्थानीय नेता कार्यकर्ताको बुझाई रहेको बताए । ‘सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनता निराश भएको पायौँ, जनचासोका विषयलाई कांग्रेसले उठाउनुपर्छ, केन्द्रमा नेताहरु मिल्नुपर्छ, जागरण अभियानजस्ता कार्यक्रम पार्टीले निरन्तर गर्नुपर्छ भन्ने स्थानीय तहमा माग छ ।’

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ

कांग्रेसले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने, बढ्दो महँगी, असुरक्षा, भ्रष्टाचारलगायत विषयका विरुद्ध पार्टीले कार्यक्रम बनाई जनतामा जानुपर्ने सुझाव आएको उनले जानकारी दिए । साथै गुटउपगुटका आधारमा नभई पार्टी संस्थागत र पद्धतिका आधारमा चल्नुपर्ने कांग्रेसजनको सुझाव छ ।

लमजुङमा खटिएकी नेत्री कमला पन्तका अनुसार अभियानले पार्टीका सबै निकाय परिचालन भएको र पार्टीमा एकताको राम्रो सन्देश गएको छ । सयौँ नेता कार्यकर्ता र जनतासँग प्रत्यक्ष अन्तक्रिया भएको बताउँदै उनले अभियानका बारेमा केहीले ठीक र आवश्यक थियो भने पनि केहीले भने पहिला केन्द्रमा नै जागरण गर्नुस् भनेर आक्रोश पोखेको उल्लेख गरे।

नेतृत्वले सबैलाई समान व्यवहार गर्नुपर्ने, इमान्दार कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्ने सुझाव दिएको नेत्री पन्तको भनाइ थियो । अभियानका क्रममा नेता कार्यकर्ताले पार्टीका भ्रातृ, शुभेच्छुक संस्था र पार्टीका विभाग तन्दुरुस्त बनाउन सुझाव दिएका छन् ।

अभियानका क्रममा जुम्लामा एक महिनासम्म रहेकी नेत्री रमा पौडेलले अभियानले कार्यकर्तामा उत्साह जागेको सुनाए । वडास्तरसम्म भेला, प्रशिक्षणका साथै पार्टीका विभिन्न एकाइका बैठक पनि भएको बताउँदै उनले स्थानीय नेताकर्तामा केन्द्रमा नेताहरु एक ढिक्का हुनुपर्छ भन्ने सुझाव दिएको जानकारी दिए ।

रिक्त संरचनालाई यथाशीघ्र पूर्णता दिनुपर्छ

रसुवामा खटिएका नेता जीवन परियारले अभियानका क्रममा मुख्यरुपमा स्थानीय तहमा लामो समयदेखि पार्टीका तदर्थ समिति भएको र कतिपय एकाइ रिक्तसमेत रहेकोप्रति आक्रोश पोख्दै यथाशीघ्र पूर्णता दिन आग्रह गरेको बताए ।

कांग्रेसको संशोधित विधानमा संविधानअनुसार पार्टीका नयाँ संरचना बनाउन सङ्क्रमणकालीन व्यवस्था गरिएको भए पनि पार्टी कार्यालयले रिक्त कमिटीलाई पूर्णता दिन प्रभावकारी काम गरेको देखिँदैन । कार्यकर्ताले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको समयमा महाधिवेशन गर्न र प्रशिक्षणका लागि समय समयमा केन्द्रबाट पहल हुनुपर्ने माग गरेको उनले बताए ।

रसुवामा कांग्रेस र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको र समायोजन प्रक्रिया जारी रहेकाले प्रथम चरणको अभियानसमेत लम्बिएर जेठ ३२ गतेसम्म पुग्ने नेता परियारले बताए। रसुवामा सडकलगायत भौतिक निर्माणमा केन्द्र सरकारले खासै ध्यान नदिएको स्थानीयको गुनासो रहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  १० : ५७ बजे

संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल

महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

म्याग्दी – कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च

एमसीसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

तनहुँ– मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) मार्फत

अब सम्झनामा सिलाचीको भोकाएको आँखा र सेलिब्रेसन

राजधानी रोमको ओलम्पिक रङ्गशाला। दिन ९ जुन सन् १९९० को

मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी

चितवन– मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय