दामनमा चर्को हिमपात: हिउँ खेल्दै रमाउँदै पर्यटक « Khabarhub

दामनमा चर्को हिमपात: हिउँ खेल्दै रमाउँदै पर्यटक


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दामन-  मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा आज चर्को हिमपात भएको छ । राजधानी काठमाडौँलगायतका क्षेत्रमा तीन दिनदेखि लगातार परिरहेको पानीसँगै त्यस क्षेत्रमा शुक्रबार रातिदेखि चर्को हिमपात शुरु भएको हो ।

आज बिहान ६ बजेदेखि झन बाक्लो हिमपात भएको छ । आजको हिमपात अहिलेसम्मकै बढी हिमपात भएको स्थानीयले बताएका छन् । यतिबेलासम्म झण्डै आधाफुट बाक्लो हिउँ सडक तथा खुला क्षेत्रमा जम्मा भइसकेको छ । दामन तथा आसपासका घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ ।

बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेपछि त्यहाँ पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । “यतिधेरै हिउँ मैले यहाँ पहिलोपटक देखेको हुँ”, स्थानीय विजय कार्कीले भने, “हिउँ परेपछि यहाँ खेलेर रमाउने पर्यटक धेरै आउँछन् ।” कोही हिउँ मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सङ्गालिरहेका छन् ।

हिउँ परेपछि सडकमा आवतजावत गर्ने लामो दूरीका यात्रु बोक्ने सवारीसाधनमा भने कमी आएको छ तर हिउँसँग खेल्न र रमाउने पर्यटक भने बढ्दै गएका छन् । हिउँ तथा वर्षात्का कारण यतिबेला यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत्को अभावमा पर्यटक तथा स्थानीयले मोबाइल चार्ज गर्नेलगायतका अन्य काममा अवरोध पुगेको छ ।

दामन तथा सिमभञ्ज्याङ घुम्न आएका पर्यटक बिहानैदेखि हिउँमा खेल्दै फोटो खिच्दै रमाएका छन् । काठमाडौँबाट पहिलोपटक दामनमा हिउँ खेल्न पुग्नुभएका पवन थापाले हिउँको वर्षा भएको पहिलोपटक देखेको बताए ।  फुसफुस झर्दै गरेको हिउँको अनुभव उहाँले आफ्ना साथीभाइसँग फोन र सामाजिक सञ्जालबाट साट्नुभयो । “कसरी हिउँ पर्ने रहेछ भन्ने पहिलोपटक देखेँ”, उनले भने, “हिउँसँग खेल्दा निकै रमाइलो लाग्यो ।” उहाँका अनुसार शुक्रबार राति असिना पानी पर्यो‍ त्यसपछि लगातार हिउँ पर्न थाल्यो ।

विशेष कार्यक्रमका लागि दामन पुगेको सर्जिकल एशोसिएशनसँग आबद्ध १८ जनाले पनि हिउँ खेले । कामका लागि आएको भए पनि हिउँ परेपछि काममा ढिलाइ भएको मौकालाई टोलीले हिउँसँग खेलेर रमाइलो गरेको टोलीका रमण कायस्थले बताउनुभयो । होटलको कोठाबाट बाहिर निस्कदै हिउँसँग खेल्दै कामको तयारीमा टोलीका सदस्य जुटेका थिए ।

एभरेष्ट पानोरोमालगायतका होटल तथा रिसोर्टमा पर्यटक जम्मा हुने क्रम बिहानैदेखि थपिँदै गएको छ । अघिल्लो दिन आइपुगेकाले भने रातिदेखि नै हिउँसँग रमाइलो साटेका थिए । त्यस क्षेत्रमा हिउँ परेपछि आसपासका चित्लाङ, टिस्टुङ, बज्रबाराहीलगायतका क्षेत्रमा चिसो बढ्दै गएको छ ।

दामनमा हिउँ खेल्न काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथबाट करीब तीन घण्टामा दामन पुगिन्छ । त्यस्तै वीरगञ्ज, हेटौैंडा, चितवनबाट समेत सहजै दामन पुगेर हिउँ खेल्न सकिने पुगेका पर्यटकहरु बताउँछन् । त्यस क्षेत्रबाट आज बिहानैदेखि हिउँ खेल्नका लागि आउने पर्यटकले होटल ‘बुकिङ’ फोनबाट गरिरहेको स्थानीय होटल सञ्चालकहरुले जानकारी दिए ।

राजधानीबाट त्रिभुवन राजपथबाट ७५ किलोमिटरको दूरीमा रहेको दामन पुगी हिउँसँग रमाउन सक्नेछन् । त्यसैगरी चन्द्रागिरिबाट चित्लाङको कच्ची बाटोबाट पनि साना सवारीसाधनमा दामन पुगेर हिउँ खेल्न सकिन्छ । राजधानीको दक्षिणकाली, फाखेल हुँदै कुलेखानीको बाटो मार्खुभञ्ज्याङ हुँदै दामन पुगेर पनि हिउँको मज्जा लिन सकिने स्थानीय बताउँछन् ।

दामन तथा सिमभञ्ज्याङ क्षेत्रबाट हिमश्रृङ्खलाको अनुपम दृश्य देख्न सकिन्छ । जसमा लोभिने पर्यटकहरु अधिक हुन्छन् । यहाँबाट गणेश, मनास्लु, अन्नपूर्ण, लाङ्टाङ, गौरीशङ्करलगायतका हिमाल तथा हिलश्रृङ्खलाको अनुपम दृश्यावलोकन पर्यटकहरुले गरिरहेका छन् ।

समुन्द्री सतहबाट दुई हजार ४८८ मिटर अग्लो उचाइमा रहेको दामनस्थित भिउ टावरबाट हिमश्रृखलासँगै वरपरका मनोरम दृश्यावलोकन गर्न पर्यटकहरु तछाडमछाड गरिरहेका छन् । पर्यटकीय क्षेत्रका रुपमा चर्चित यस क्षेत्रलाई ग्रामीण पर्यटनको अवधारणामा विकास गरिंदै आएको छ ।

हिन्दू र तथा बौद्धमार्गीको वासस्थान रहेको यहाँको प्रसिद्ध मन्दिर ऋषेश्वरमा वर्षेनी ठूलो मेला लाग्दा धार्मिक पर्यटकहरु आउने गर्छन् । हिउँ परेपछि आएर रमाइलो गर्ने पर्यटकले स्थानीयले निर्माण गरेका होमस्टेमा बसेर ग्रामीण पर्यटनको मज्जा लिन सक्नेछन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १२ : २६ बजे

रुसको रोजाइमा हवाई आक्रमण

युक्रेनको राजधानी किभमा पछिल्लो साता लगातार मिसाइल र ड्रोन आक्रमण

गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम आज सार्वजनिक गरिने

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आव २०८०-८१ को नीति

खाणको पक्षमा दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्व अध्यक्षले बहस गर्ने

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री

दुई देशको सम्बन्ध अगाडि बढाउने पहल भारतले गर्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा महत्त्वपूर्ण ७ बुँदामा

बैतडीका स्थानीय तह नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै

बैतडी– बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति,