भएन रक्तचन्दनको व्यवस्थापन : २ लाख किलो राख्न समस्या, १९ हजार किलो गायब | Khabarhub Khabarhub

भएन रक्तचन्दनको व्यवस्थापन : २ लाख किलो राख्न समस्या, १९ हजार किलो गायब



काठमाडौं- धार्मिक प्रयोजनमा प्रयोग हुने रक्तचन्दन सकेसम्म नेपालीले आफ्नो पूजा कोठामा पूजा गरेरै राख्छन् । पूजा थाली मै हुने रक्तचन्दन अहिले सबैभन्दा बढी तस्करी हुने सामान बनेको छ । सुरक्षा संयन्त्रले तस्करीमा प्रयोग हुने रक्तचन्दनको सुरक्षा गर्ने काम गरेपनि सुरक्षा संयन्त्रबाटै गायब हुने, नियन्त्रणमा लिएको रक्तचन्दन व्यवस्थापन गर्न नसक्नेलगायतका नियती सुरक्षा निकायले भोगिरहेको छ ।

प्राचिनकालदेखि नै रक्तचन्दनको महत्व बुझेका नेपाली एक दशक अघिबाट हुन थालेको ओसारप्रसार र तस्करीबाट भने चकित बनेका छन् ।
रक्तचन्दनसँगै जोडिएको राजनीतिक जालोको नालिबेली छोटो समयमा निक्कै नै फैलिएको छ । एउटा काठको दाउरोका रुपमा रहेको रक्तचन्दनले कसरी राजनीतिक पकड जमायो यो खोजीको विषय हो ।

२०६४ यताको १२ बर्षको अवधिमा हरेक राजनीतिक दलका कार्यकर्तादेखि लिएर तस्कर, पुलिससम्मको ध्यान रक्तचन्दनले खिचेको थियो । बीचको ५/६ बर्षको अवधिमा रक्तचन्दन तस्करीका समाचार बाक्लै आए । योबीचमा प्रहरीले श्रृङ्खलाबद्ध रक्तचन्दन बरामद् पनि गर्‍यो ।

यस्तो छ बरामद् श्रृङ्खला

– २०६४ कार्तिक २७ गते, सिन्धुपालचोकबाट कुटनीतिक नम्बर प्लेटको नक्कली नम्बर ११ सीडी ३८ र ११ सीडी २६ को प्रयोग गरी खासा कटाउन लागेका २ वटा भ्यानसहित रक्तचन्दन बरामद् ।
– २०६४ असोज ३ गते, कपिलवस्तुको भिल्मीबाट ८ सय ८३ किलो रक्तचन्दनसहित ५ जना पक्राउ ।
– २०६४ बैशाख ६ गते, सिन्धुपाल्चोकको चेहेरेबाट ना २ ख २६३४ नम्बरको भ्यान सहित रक्तचन्दन बरामद् ।
– २०६४ बैशाख ६ गते, वीरगञ्जको सिमावर्ती क्षेत्रबाट २ वटा गोदाममा लुकाएर राखेको रक्तचन्दन बरामद् ।
– २०६४ मंसिर १३ गते, बालाजु बाँजोघारी बाईपासबाट ८३ थान रक्तचन्दन सहित १ जना पक्राउ ।
– २०६६ भदौ ३ गते, दोलखा लादपबाट ६ सय किलो रक्तचन्दन बरामद् ।
– २०६६ भदौ २८ गते, भक्तपुरबाट २ हजार किलो रक्तचन्दन बरामद् ।
– २०६८ साल जेष्ठ १८ गते, सिन्धुपालचोकको तातोपानीबाट १ हजार ४ सय ५३ किलो रक्तचन्दन बरामद् ।
– २०६८ साल असार १७ गते, सिन्धुपालचोकको कोदारीबाट १ हजार ४ सय किलो रक्तचन्दन बरामद् ।
– २०६८ साल भदौ १६ गते, काभ्रेको पाँचखालबाट ६ सय किलो रक्तचन्दन बरामद् ।
– २०६८ साल भदौ २४ गते, सिन्धुपाल्चोक स्थित तातोपानी भन्सार कार्यालयबाट १ सय २८ किलो रक्तचन्दन बरामद्

यस बाहेक पनि अघिल्लो बर्षसम्म नै सानो–सानो परिमाणमा रक्तचन्दन बरामद् भएका छन् । वन तथा भू–संरक्षण मन्त्रालयका अनुसार, रक्तचन्दन भारतका आन्ध्र प्रदेश, कर्नाटक र तामिलनाडु राज्यबाट नेपालका विभिन्न सीमा नाका हुँदै चीनतर्फ तस्करी हुने क्रममा बरामद गरिएको हो । नेपाल सन् १९७५ जुन १८ मा ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) को पक्ष राष्ट्र बनेको हो । रक्तचन्दन सो महासन्धिको अनुसूची २ मा सूचीकृत वनस्पति हो । महासन्धिको व्यवस्था विपरीत नेपाल प्रवेश गरेका रक्तचन्दन बरामद गरिएको हो ।

प्रतिबन्धित भन्दै प्रहरीले रक्तचन्दन पक्रन्छ र वन मन्त्रालयलाई जिम्मा दिन्छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेल अहिलेसम्म जतिपनि रक्तचन्दन बरामद् भयो त्यो सबै कानूनी प्रक्रियाका लागि वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निकायलाई जिम्मा लगाएको बताउँछन् ।

अहिलेसम्म पक्राउ परेका रक्तचन्दन एकपटक मात्र भारत फर्काइएको छ । अरु सवै त्यत्तिकै थन्किएर बसेका छन् । करिव १२ बर्षदेखि जम्मा भएको झण्डै २ लाख किलो रक्तचन्दन अहिले समस्याको रुपमा देखिएको छ ।

बरामद लोपोन्मुख जडीबुटी सम्बन्धित स्थानमै फिर्ता गर्नुपर्ने अन्तर्राष्ट्रिय कानुन र महसन्धिको प्रावधानअनुुसार मन्त्रिपरिषद्ले फिर्ता दिने निर्णय गरेको थियो । वन तथा वातावरण मन्त्रालयका उपसचिव सुमन सुवेदीका अनुसार, अदालतबाट फैसला भइसकेका मुद्दाका रक्तचन्दन फिर्ता लैजान भारतलाई पत्राचार गरेपनि नलगेकाले वन विभाग परिसरमै राखिएको छ ।

सुरक्षाका नाममा करोडौं खर्च

तथ्याङ्क अनुसार, बरामद् रक्तचन्दन सुरक्षामा राज्यको करोडौं रुपैयाँ खर्च भइरहेको छ । काठमाडौंको वन विभाग परिसरमा राखिएको रक्तचन्दनको सुरक्षामा मात्र १२ वर्षदेखि ३० सुरक्षाकर्मी र १ वनरक्षक खटिँदै आएका छन् ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीलाई अतिरिक्त सेवा सुविधासहित खटाईएको छ । रक्तचन्दन चार वटा कन्टेनर, एउटा ट्रक र एउटा टाटा मोबाइल गाडीमा लोड गरिएको छ । बर्षौंदेखि थन्किएर बस्दा ती गाडीसमेत थोत्रा र काम नलाग्ने भइ सकेका छन् । वन विभाग बाहेक अन्य एक दर्जन जिल्लाहरुमा पनि रक्तचन्दन राखिएको छ । त्यसको सुरक्षाका नाममा राज्यको करोडौं रुपैयाँ खर्च भइसकेको छ ।

१९ हजार ३ सय २४ किलो गायब

बरामद् गरी थन्क्याएर राखिएको ११ हजार २ सय ४३ किलो रक्तचन्दन २०६४ कार्तिक २६ गते जिल्ला वन कार्यालय ललितपुरमा एकाएक गायब भयो । रक्तचन्दन चोरिएको घटना सार्वजनिक भएपछि अनुसन्धान गर्दा सुरक्षागार्ड, चालकलगायत वन कार्यालयका कर्मचारीकै संलग्नतामा चोरी भएको खुलेको थियो ।

प्रत्यक्ष रुपमा चेरी भएको घटना बाहिर आएको यो एउटा उदाहारण मात्र हो । वन विभागसँग अहिले रहेको रक्तचन्दन र बरामद् भएको रक्तचन्दको तथ्याङ्क हेर्दा करिव २० हजार किलो रक्तचन्द हराएको देखिन्छ ।

तथ्याङ्क अनुसार, वन विभागसँग अहिले एक लाख ९० हजार सात सय ९६ किलोग्राम बरामद रक्तचन्दन छ । नेपालमा हालसम्म दुई लाख ४७ हजार ४८ किलोग्राम रक्तचन्दन बरामद् गरिएको वन विभागका महानिर्देशक डा. रामप्रसाद लम्साल बताउँछन् । बरामद् रक्तचन्दन मध्ये ३६ हजार ९ सय २८ किलो भारतले जिम्मा लिएको छ भने बाँकी १९ हजार तीन सय २४ किलो रक्तचन्दन भने गायब छ ।

कसरी व्यवस्थापन गर्न सकिन्छ ?

महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमार्फत पटक पटक ऐन नियम तर्जुमा गरी रक्तचन्दन व्यवस्थापन गरिनुपर्ने सुझाव दिएको छ । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ मा भने फिर्ताको निर्णय भएको ९० दिनभित्र लगिसक्नुपर्ने व्यवस्था छ ।

नत्र देशमै अन्य प्रक्रियाबाट व्यवस्थापन हुने प्रावधान उक्त ऐनमा छ । यसलाई हेर्दा भारतले नलगेको खण्डमा अब नेपाल आफैंले पनि नष्ट गर्न सक्छ ।

नेपाल प्रहरीका पूर्व एआइजी नवराज ढकाल भन्छन्–भारतलाई पत्राचार गर्दा पनि उसले रक्तचन्दन लिन मान्दैन भने नीतिगत रुपमा निर्णय गरेर त्यसको व्यवस्थापन गर्नुपर्छ । नत्र जति लम्बियो उति नै आर्थिक भार थपिदै जाने छ । वन तथा वातावरण मन्त्रालयका उपसचिव सुमन सुवेदीले खबरहबसँग कुरा गर्दै भने, ‘रक्तचन्दन अब व्यवस्थापन गर्ने प्रक्रियामा छ ।’

यता वन विभागका महानिर्देशक डा. रामप्रसाद लम्साल नेपाल साइटिस महासन्धिको पक्ष राष्ट्र भएको र सोही अनुसार नयाँ ऐन ल्याइसकिएकाले अब उक्त रक्तचन्दनको छिट्टै व्यवस्थापन हुने बताउँछन् ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १० : ०१ बजे

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा