वर्ष समीक्षा – नेपाली सिनेमाले के पायो, के गुमायो ? « Khabarhub

वर्ष समीक्षा – नेपाली सिनेमाले के पायो, के गुमायो ?



काठमाडौं– यस वर्ष नेपाली सिनेमाको बजार निकै निराशाजनक रह्यो । फिल्मकर्मी र दर्शकले आशा गरेका धेरै फिल्म बक्स अफिसमा नराम्ररी चिप्लिए । जुन सिनेमालाई समीक्षकले राम्रो भनिदिए, ती सिनेमा हेर्न दर्शक हलसम्म पुगेनन् । दर्शकले अलिकति पत्याएका सिनेमालाई समीक्षकले कमजोर भनिदिए । दर्शकले सिनेमालाई मात्र होइन, समीक्षकका समीक्षालाई पनि पत्याएनन् ।

यसरी हेर्दा यस वर्ष समीक्षक, दर्शक र फिल्ममेकरको ‘धार’ एकनासको रहेन । सिनेमा क्षेत्र आन्तरिक गसिप र गफमै बढ्ता रमायो । सिनेमाको यो वर्षलाई समीक्षकले पनि असफल वर्षका रुपमा अर्थ्याए । यस वर्ष रिलिज भएका ९६ वटा फिल्ममध्ये जम्मा तीन फिल्मले मात्र नाफा कमाए । बाँकी आधा दर्जन सिनेमाले मुस्किलले आफूलाई ‘सुरक्षित’ गरे । बाँकी चलचित्रले फिल्म बनाउँदै डुबाउँदै गरे ।

यस वर्ष तीन फिल्म (निर्माता र वितरकका अनुसार) ‘छक्का पञ्जा ३’, ‘नाइँ नभन्नू ल ५’ र ‘जय भोले’ ले नाफा कमाएका फिल्मको लिस्टमा आफ्नो नाम लेखाएका छन् ।

यस्तै ‘रामकहानी’, ‘इन्टुमिन्टु लण्डनमा’, ‘चंगाचेट’ ‘क्याप्टेन’ र ‘प्रसाद’ले आफूलाई ठूलो मुस्किलले लगानीसम्म उठाएको वितरकहरुको दाबी छ । यी फिल्मले डिजिटल राइट्स र विदेशमा समेत प्रदर्शन गर्दा आफूलाई सुरक्षित राखेका छन् । यी बाहेक अन्य सिनेमा भने ‘डुब्नकै लागि’ बनेझैँ भएको छ ।

तुलनात्मक रुपमा दर्शकले नेपाली सिनेमालाई विश्वास नै गर्न छोडेको देखिन्छ । यस वर्ष वर्षकै प्रतीक्षित मानिएको फिल्म ‘क्याप्टेन’ ले पनि आफूलाई बक्स अफिसमा बलियो साबित गर्न सकेन । नेपालमा चकलेटी अनुहार र सम्भावना बोेकेका भनिएका कलाकारका फिल्मले पनि निकै नै निराशाजनक व्यापार गरे सिनेमा हलमा ।

अभिनेता अनमोल केसी र प्रदीप खड्काको पनि कुनै क्रेज हलमा देखिएन । भलै अनमोल केसीको फिल्म ‘ए मेरो हजुर ३’ वर्षको अन्तिम दिन रिलिज हुँदैछ । सोही मितिमा रिलिज हुने सलिनमान बनिया अभिनित फिल्म ‘यात्रा’ को पनि दर्शकलाई धेरथोर प्रतीक्षा छ ।

राम्रा भएर पनि फ्लप

यस वर्ष रिलिज भएका ९६ वटा सिनेमामा केही चलचित्रले बाहेक सबै चलचित्रले आफूलाई कथामा नै चुकाएका छन् । मेकिङको हिसाबले तारिफ पाएको चलचित्र ‘रोमियो एण्ड मुना’ को समेत स्किृप्टमा दर्शकको असन्तुष्टि रह्यो ।

फिल्मको एक दृश्यमा स्वस्तिमा खड्का

फागुनमा रिलिज भएको फिल्म ‘बुलबुल’ले भने दर्शक र समीक्षकलाई धेरै हदसम्म चित्त बुझायो । तर फिल्मले नाफा कमाउन चाहिँ सकेन ।
यस्तै यसै वर्ष रिलिज भएका फिल्म ‘प्रसाद’, ‘हरि’ र ‘साँइली’ ले समीक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाए । यद्यपि यी कुनै फिल्मले पनि बक्स अफिसमा कमालको व्यापार गर्न सकेनन् ।

किन असफल फिल्म ?

नेपालमा रिलिज भएका धेरै फिल्महरु मेकिङका दृष्टिले निकै कमजोर देखिए । तुलना गर्ने हो भने वर्षभरि रिलिज भएका फिल्ममध्ये धेरै फिल्म असफल रहनुको मुख्य कारण फिल्मको कथा र मेकिङ रह्यो ।

दर्शकले चाहेजस्ता फिल्म फिल्ममेकरले बनाउन नसक्दा दर्शकले कलाकारलाई दिने सम्मान पनि उत्तिकै कम देखियो । अर्कातिर यस वर्ष रिलिज भएका धेरै फिल्मले राम्रा फिल्म निर्माण गर्नुको साटो बढी मिडियाबाजी गरे । यसको प्रभाव दर्शकमा समेत पर्‍यो । जुन दर्शकले नेपाली सिनेमालाई माया गरेका थिए, ती दर्शकले पनि फिल्मप्रतिको विश्वास गुमाउँदै गए ।

जम्न सकेनन् डेब्यु ‘गर्ल्स’

यस वर्ष नेपाली सिनेमामा विगतका वर्षमा जस्तै नयाँ कलाकारको सानोतिनो बाढी नै आयो । नायकलाई महंगो पारिश्रमिक दिने र नयाँ नायिकालाई डेब्यु गराउने प्रवृत्ति नेपाली फिल्म क्षेत्रमा ‘दूबो’ बन्यो ।

यस वर्ष २८ जना नायिकाहरु फिल्म क्षेत्रमा आए । ती मध्ये निकै कमले मात्र सम्भावना देखाए । फिल्म ‘ब्रेकअप’बाट शिल्पा मास्के, ‘जानी नजानी’बाट निरीषा बस्नेत, ‘रणवीर’बाट शुभेच्छा खड्का, ‘क्याप्टेन’बाट उपासना सिंह ठकुरीलाई बलियो सम्भावना भएका नायिका भनियो ।

अन्य डेब्यु नायिकाले फिल्म दर्शकलाई गतिलो प्रभाव पार्न सकेनन् । यसै वर्ष फिल्ममा डेब्यु गरेका दुई नायिका सुहाना थापा र मलिका महतको फिल्म भने वर्षको अन्तिममा रिलिज हुँदैछ ।

पारिश्रमिकका गसिप, अभिनय झन् झुर

यस वर्ष फिल्म क्षेत्रमा कलाकारले लिएको पारिश्रमिकले पनि सिनेमा क्षेत्रमा धेरैको ध्यान खिच्यो । कतिपय फिल्मकर्मीले राम्रा नायिकाभन्दा धेरै पारिश्रमिक लिएका कलाकारलाई आफ्नो फिल्ममा लिन चाहे । यस वर्ष अनमोल केसी र प्रदीप खड्काको पारिश्रमिक जोडेर सबैभन्दा धेरै हल्ला फैलाइयो । अर्कातिर नायिकामा पनि पारिश्रमिकको दौड वर्षभरि नै रह्यो । केही नायिकाहरु १६ लाख पारिश्रमिक लिएर नम्बर वान हुने दौडमा लागे ।

पारिश्रमिकसँग जोडिएका यी नायक–नायिकाको अभिनयको भने खासै चर्चा भएन । पारिश्रमिक कलाकारको ‘अनुहार’ हेरेर दिएको भन्ने आरोप पनि फिल्म क्षेत्रले खेप्नुपर्‍यो ।

चलचित्र समर लभको एक दृश्य

दर्शक किन आएनन् ?

यो वर्ष नेपाली सिनेमाले दर्शक नपाउनुमा फिल्म मात्र कारण बनेन । सामाजिक विशेषताका रुपमा पनि नेपाली फिल्मले आफ्ना घरेलु दर्शक गुमाउँदै लग्यो । यस वर्ष रिलिज भएका धेरै चलचित्रले ‘क्याम्पेनिङ’ गरेर दर्शकलाई हलसम्म डोर्‍याउने जमर्को गरे । तर, दर्शक नेपाली सिनेमाको सट्टा विदेशी फिल्मप्रति बढी आकर्षित भए ।

फिल्म विश्लेषकहरु भन्छन् – नेपाली सिनेमाले आफ्ना दर्शक गुमाइसकेको छ । किनकि, फिल्ममेकरले थुप्रै पटक दर्शकलाई झुक्याइसकेका छन् ।

केही वर्षयता नेपाली फिल्मप्रति तीतो रोष पोखेका दर्शकले यस वर्ष पनि फिल्मलाई साथ दिएनन् । यतिसम्म कि, राम्रा भनिएका फिल्मलाई पनि दर्शकले चासो दिएनन् । जसका कारण नेपाली फिल्म राम्रा भएर पनि ‘गुमनाम’ रहे ।

समीक्षक र दर्शकको अमिल्दो मनोविज्ञान

नेपाली फिल्ममेकरलाई फिल्म बनाइसकेपछि पनि दुई कुराको भयले सताउने गर्छ, दर्शक र समीक्षक । नेपाली दर्शकको मनोविज्ञान र समीक्षकको मनोविज्ञानबीच मेल नखाँदा बनेका धेरै फिल्महरु ‘फ्लप’ को सूचीमा अटाएका छन् । केही फिल्मलाई समीक्षकले वर्षकै राम्रो भन्नु र ती फिल्म सिनेमा हलबाट रिलिजको दुई दिनमै उत्रिनुले यो कुरालाई प्रमाणित गर्छ ।

नेपाली सिनेमा हेर्ने दर्शक अझै पनि टेलिफिल्मको ‘ह्याङओभर’बाट मुक्त हुन सकेका छैनन् । ‘लोजिक’ खोजेर फिल्म हेर्ने दर्शकलाई पनि फिल्मले हलिउड या बलिउड फिल्मले जस्तो ‘मेकिङ’ दिन सकेका छैनन् । जसकारण दर्शक विभाजित भएका छन् ।

समीक्षात्मक रुपमा नरुचाइएको फिल्म ‘छक्का पञ्जा ३’ वर्षकै सर्वाधिक कमाइ गर्ने सिनेमा बन्नु यसको एउटा उदाहरण हो । नेपाली फिल्ममाथि समीक्षकले फिल्मको मेकिङलाई अध्ययन गरे पनि नेपाली दर्शकको मनोविज्ञानको भने सम्बोधन गर्न नसकेको स्पष्ट छ ।

सिनेमाले के पायो, के गुमायो ?

वर्षभरि रिलिज भएका फिल्मको अध्ययन गर्ने हो भने नेपाली सिनेमाले यस वर्ष कम पाएको छ र धेरै गुमाएको छ । फिल्मलाई चाहिने ठूलो सम्पत्ति ‘दर्शक’ नै नेपाली फिल्म क्षेत्रले गुमाइसकेको छ ।

फिल्मले कुनै पनि कथामा ‘रिस्क’ लगाउन सकेको छैन । व्यावसायिक रुपमा जुन फिल्म सफल भयो, सोही फिल्मको ढाँचा नक्कल गर्ने प्रवृत्ति यस वर्ष सबैभन्दा ठूलो समस्या भएर देखा परेको छ । फिल्ममेकरले स्तरीय फिल्म निर्माण गर्ने भन्दा पनि रिलिज मिति घोषणा गरेर हतारमा फिल्म रिलिज गर्न खोज्दा सबैजसो निर्माता घाटाको व्यापारमा चिप्लेटी खेल्नुपरेको अवस्था देखियो ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ५ : ५८ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर