काठमाडौं – हुनेहरूले आफ्नो सोख पूरा गर्न पैसा तिरेर गीत रेकर्ड गर्छन् । नहुनेले पैसाको जोहो गर्न अरुका गीत गाउँछन् । दैलेखका तीन बालकले भने परिवारलाई आड भरोसा दिन गीत गाएर खर्च जम्मा गर्छन्/गर्थे ।
तर, अहिले उनीहरूको दैनिकी लगभग फेरिएको छ । हिजो परिवार पाल्न रारा ताल जाने बाटोको छेउ र उतैका बजारमा भेटिने वादी समुदायका तीन बालकको जीवनमा खुशीका रंगहरू पोतिन थालेका छन्, त्यो पनि सामाजिक सञ्जालका कारण ।
***
झण्डै एक वर्षअघि दैलेखका तीन बालक सुनिल, विकास र रविन्द्र वादीले कुनै बजारमा गाउँदै गरेको एउटा गीतको खुबै चर्चा भयो । दैलेख हुँदै रारा ताल घुम्न निस्केका केही युवाले उक्त गीतको भिडियो मोबाइलमा खिचेर सामाजिक सञ्जाल फेसबूकमा अपलोड गरेका थिए । गीतले धेरैको मन जित्यो ।
‘काफल खान्या कुइया मरुला जुनकिरी….’ बोलको त्यो गीतको भिडियो सामाजिक सञ्जालमा एकाएक भाइरल बन्यो । महिनौँसम्म पनि ती तीन बालकको खोजी र चर्चा हुन थाल्यो । एक सामाजिक सञ्जाल प्रयोगकर्ताको भित्तोबाट अर्को प्रयोगकर्ताको भित्तोमा शेयर हुन थाल्यो त्यो भिडियो । ती बालकहरूका थप भिडियो पनि आउने क्रम पनि थपियो ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले तात्तातो प्रतिक्रिया दिन थाले – ‘ओहो ! यी भाइहरुले त क्या खत्रा गीत गाउने, अशोक दर्जीलेझैँ दमदार गीत गाए त !’
अशोक दर्जी तिनै बालक हुन्, जो सडकमा गीत गाएर पैसा जुटाउँदै आफ्नो परिवारको जोहो गरिरहन्थे । तर, विषयवस्तु खोज्दै गरेका केही युट्युबरको क्यामरामा उनी परे । रातारात अशोक दर्जी युट्युबमा ‘भाइरल’ बने । उनले गाएको गीतमा भावनात्मक हुँदै विदेशमा रहेका नेपालीले पनि उनका लागि सहयोग जुटाए । एक संगीतकारले काठमाडौंमा ल्याएर दर्जीको स्वरमा गीत रेकर्ड गराइदिए ।
अहिले अशोक दर्जी चर्चित सेलिब्रेटी बनेका छन् । काठमाडौंकै एक बोर्डिङ स्कूलमा अध्ययन पनि गरिरहेका छन् ।
हो, ठ्याक्कै यस्तै । तर, केही फरक ।
रविन्द्र, विकास र सुनिल पनि दैलेख जिल्लाका विभिन्न स्थान पुगेर गाउँदै हिँड्थे । उक्त भिडियो पनि उसरी नै भाइरल भइदियो, जसरी अशोक दर्जीको भएको थियो । उनीहरुले उतैको भाकामा खुबै चर्चित भएको गीत ‘काफल’ गाएका थिए । त्यही गीतले ती तीन बालकको चर्चा दिलाएको थियो ।
तर, उनीहरुलाई थाहा थिएन, आफूहरुले गाएको गीत यसरी रुचाइएको छ र सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त गीतलाई शेयर गरिरहेका छन् भन्ने ।
‘हामीलाई त भाइरल भएछौँ भन्ने पनि थाहा भएन, उतै गीत गाउँदै हिँड्थ्यौँ,’ काठमाडौंमा अचानक भेटिएका सुनिल बादीले खबरहबलाई सुनाए ।
काठमाडौंमा उनीहरू सम्राट चौलागाईंलाई भेट्न आएका रहेछन्, जसले उनीहरुलाई दैलेखबाट पोखरा ल्याएका थिए ।
त्यो अकस्मातको भेटमा हामीले तीनैजनासँग कुरा गर्यौँ । गीत गाउन आग्रह गर्यौँ । उनीहरूले पनि कति पनि गाह्रो नमानी घाँटीका नशा फुलाउँदै गीत गाएर सुनाए । शुरुमा त्यही गीत गाए… काफल खान्या कुइँया…
कुराकानीकै सिलसिलामा बेलाबेलामा सुनिल आकाशतिर हेर्छन् । सुनिलले मात्र होइन, तीनै जनाले आकाशतिर हेर्छन् ।
‘किन आकाशतिर हेरेको ?,’ हामीले सोध्यौँ ।
‘प्लेन हेरेको नि !,’ सुनीलले भने । उनीसँगै रविन्द्र र विकासले पनि मुन्टो हल्लाउँदै सहमति जनाए ।
उनीहरुलाई आकाशमा उड्ने हवाईजहाज हेर्दा आनन्द लाग्छ । स्वरमा स्वर मिलाएर गीत गाइरहेका बेलामा हवाईजहाजको आवाज सुनियो भने आकाशतिर हेर्दै गीत गाउँछन् । शायद, कुनै दिन आकाशमा उड्ने उनीहरुको पनि सपना छ ।
हवाईजहाज मात्र होइन, उनीहरुलाई राजधानीका ठूला घर, यति धेरै गाडी र लिफ्ट देख्दा पनि अचम्म लाग्छ । ‘हाम्रो घरतिर त यति गाडी हुन्थेनन्, त्यहाँ राम्रोसँग पढ्न पनि पाइएको थिएन,’ उतैको लबजमा बोल्दै विकासले सुनाए ।
एउटै गीतले दैलेखबाट पोखरा !
तीनै जना अहिले पोखरामा रहेको भास्कर मेमोरियल स्कुलमा अध्ययन गरिरहेका छन् । उनीहरुका अनुसार काठमाडौंमै बसेर सांगीतिक क्षेत्रमा काम गर्दै आएका सिन्धुपाल्चोकका सम्राट चौलागाईंले यी तीन बालगायकलाई राजधानी ल्याएका थिए । पछि पोखरामा पनि पढ्ने व्यवस्थाका लागि सहकार्य गरिदिए । रविन्द्र भन्छन्, ‘हामीले अङ्ग्रेजी पनि सिकिरहेका छौँ, राम्रोसँग पढ्न पाएका छौँ ।’
तीनै जनाको एउटै उद्देश्य छ ।
हामीले सोध्यौँ, ‘भविष्यमा के बन्ने लक्ष्य छ ?’
‘सिङ्गर ।,’ तीनै जनाको सामूहिक उत्तर थियो यो ।
पोखरामा बसेर अध्ययन गर्दै गरेका तीनै जनाको लक्ष्य गायक बन्ने भए पनि उनीहरुले संगीतको औपचारिक शिक्षा लिएका छैनन् । तीनैजनाले आफूहरुलाई हार्मोनियम बजाउन आउने बताउँछन् । तर, सारङ्गीमा भने उनीहरुले धुन निकाल्न जानेका छैनन् ।
रविन्द्र सुनाउँछन्, ‘घरतिर हुँदा गाउँदै हिँड्ने गर्थिम्, हार्मोनिमय त बजाउन आउँछ ।’
सामाजिक सञ्जालमा गीत रुचाइएकै कारण यी तीन बालकले होस्टेल बसेर पढ्ने मौका पाएका छन् । उनीहरुले झैँ राराको पुलमा बसेर गाउने अरु साथीहरु पनि छन् । आफू केही बन्न सकियो भने अरु साथीहरुलाई पनि केही गर्न सकियोस् भन्ने उनीहरुलाई लाग्छ ।
‘पहिले हामीले पुलमा बसेर गीत गाउँदै पाएको पैसाले घर खर्च चलाउँथ्यौँ, अहिले हामी यता छौँ, घरमा अहिले भाइले हेरिरहेको छ,’
तीनजनामध्ये उचाइमा सबैभन्दा अग्ला सुनिल बादीले सुनाए, ‘घरमा बाआमा र भाइबहिनी छन्, अहिले पनि भाइले अहिले उतै गीत गाउँछ ।’
गायन क्षेत्रमा संघर्ष गरिरहेका सम्राट चौलागाईंले यी तीन बाल प्रतिभालाई काठमाडौं ल्याए । गीत रेकर्ड गराए । दर्शकले पनि उक्त गीत उत्तिकै रुचाए । सम्राट चाहन्छन् कि, भोलि उनीहरुले सबैले चिन्ने गायक बनून् । आफ्नो भविष्य बनाउन् ।
‘उनीहरुको स्वरमा जादु छ, उनीहरुलाई साथको खाँचो छ भन्ने लागेर मैले दैलेख पुगेर उनीहरुलाई काठमाडौं ल्याएँ, विश्वराज बास्तोलाले पनि हामीलाई सहयोग गर्नुभयो,’ सम्राटले भने ।
छुट्ने बेला ।
दैलेखबाट उनीहरु पढ्न र लक्ष्य बनाउन भन्दै गाउँ छोडे । उनीहरुजस्तै अरु सडक गायक भने उतै छोडिए । रविन्द्र, सुनिल र विकासले राजधानी आएर गीत गाउने मौका पाए । आफ्नो पढाइ अगाडि बढाउने भए ।
जाने बेला उनीहरुलाई परिवारले भनेका थिए, ‘जाऊ बाबु, राम्ररी पढ, अङ्ग्रेजी पनि सिकेर आए है !’
अहिले उनीहरुमा एकातिर अङ्ग्रेजी सिक्ने मोह छ, अर्कातिर गायक बन्ने सपना छ । उनीहरुलाई पोखराको वातावरण पनि बडो अजिब लागिरहेको छ । उनीहरु पोखरामा गाडी देख्दा पनि रमाइलो मानिरहेका छन् । फेवाताल देख्दा पनि उत्तिकै रमाइलो मानिरहेका छन् ।
जे होस्, उनीहरुले दैलेखबाट पोखरा आएर फेवाताल देख्न पाए । दशैँमा उनीहरु फेरि घर जाँदैछन् । अब पक्कै उनीहरुले दशैँमा गाउँ जाँदा आफ्ना साथीहरुलाई सुनाउलान् – ‘यार शहरमा त ठूल्ठूला गाडी हुने रैछन्, पोखरामा टन्नै पानी भएको ठूलो पोखरी रैछ, हामी त लिफ्ट पनि चढ्यौँ, पोखरामा नजिकैबाट प्लेन देख्यौँ ।’
उनीहरुले हामीलाई पनि यही सुनाएका थिए, जसरी उनीहरुले भोलि गाउँमा गएर आफूजस्तै साथीहरुलाई सुनाउनेवाला छन् ।
तस्वीर/भिडियो: अर्घेलो थापा
प्रतिक्रिया