घर फर्किने दिनको प्रतीक्षामा रोहिंग्या, नेपाल सरकारले शरणार्थीको मान्यता नदिने | Khabarhub Khabarhub

घर फर्किने दिनको प्रतीक्षामा रोहिंग्या, नेपाल सरकारले शरणार्थीको मान्यता नदिने



काठमाडौं– काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११, कपनस्थित राममन्दिर टोलको भिरालो डाँडो । डाँडामा बनाइएका जस्ताका छाप्रा । यस्तै छाप्रोमध्ये एकमा २१ वर्षीय महोम्मद साईद घर–परिवार सम्झेर बसिरहेका हुन्छन् ।

आफू जन्मेको घर फर्किने ‘दिन’को प्रतिक्षामा साईदले धेरै रात कटाइसके कपनको छाप्रोमुनि । उनलाई थाहा छैन, त्यो दिन कहिले आउला ? उनलाई मात्र हैन, राममन्दिर टोलको डाँडामा टिनको छाप्रोमुनि बसेका कसैलाई पनि थाहा छैन घरजाने दिन कहिले आउने हो ? कति रात उनीहरूले त्यो दिनको प्रतिक्षामा बिताउनुपर्ने हो ?

म्यानमारको रखाइन राज्यमा सरकारले गरेको दमन सहन नसकेर भागेका थिए, महोम्मद साईद । उनीसँग उनका परिवारका सदस्य पनि ठाउँ छाडेर भागेका थिए । तर, साईदले अहिलेसम्म आफ्ना परिवारका सदस्य कहाँ छन् भन्ने थाहा पाउन सकेका छैनन् ।

मध्यरातमा म्यानमारी सेनाले घरमा आगो लगाइदिए पछि साईद ज्यान बचाउन भागेका थिए । घरका अन्य सदस्य पनि सँगै भागेका थिए । तर, हुलमुलमा छुट्टिएका आफन्तसँग उनले दोस्रोपटक भेट्न पाएनन् । ज्यान जोगाउन भागेका अन्य रोहिंग्यासँगै उनी नेपाल आइपुगेका छन् ।

साईद जस्तै भागेर नेपाल आइपुगेका २८ वर्षीय रफिक आलमको पीडा पनि कम दर्दनाक छैन । उनी पनि सरकारको दमन सहन नसकेर ज्यान जोगाउनकै लागि भागेर नेपाल आइपुगे । पाँच दिनसम्म भोकभोकै हिँडेर विराटनगर आइपुगेको उनको उनुभव छ ।

विराटनगर आइपुग्दासम्म उनलाई ‘नेपाल’ भन्ने पनि देश छ भनेर थाहा थिएन । अन्धाधुन्ध हिंड्दै विराटनगर आइपुगेपछि मात्रै उनलाई नेपाल एउटा बेग्लै स्वतन्त्र देश हो भन्ने थाहा भयो । रफिक आलमका तीनजना दिदी अहिले पनि कहाँ छन् ? थाहा छैन । रफिक मात्र होइन, देश छाडेर अर्काको देशमा शरणार्थी जीवन बिताइरहेका रोहिंग्यामध्ये कसैको पनि सिंगो परिवार सँगै छैन ।

काठमाडौंको कपनमा भेटिएका नुरुल आमिनको पीडा पनि कम छैन । आँखै अगाडि सरकारी सेनाले घरमा आगो लगाएको, श्रीमतीको हत्या भएकोजस्ता घटना उनी चाहेर पनि भुल्न सकिरहेका छैनन् । सैनिक आक्रमणमा आफ्ना दाजुभाईहरू गुमाएपछि भागेका उनी बंगलादेश, भारत हुँदै नेपाल आइपुगेका हुन् ।

३७ वर्षीय मोहम्म एईयास पनि सरकारी सेनाबाट मारिने डरले भागेर नेपाल पुगे । सन्तान, श्रीमती र बुवाआमा सँगै आए पनि उनका १ दाइ र २ दिदि उतै छन् ।

नेपालको शरणमा ६ सय ५० रोहिंग्या

गृह मन्त्रालयसँग उपलब्ध विवरणका अनुसार म्यान्मारमा हिंसा भड्किएपछि विस्थापित भएकामध्ये ६ सय ५० रोहिंग्या मुस्लिम नेपाल आइपुगेका छन् । उनीहरू अहिले काठमाडौंसहित विभिन्न ठाउँमा शरण लिएर बसिरहेका छन् ।

उक्त विवरण संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग (यूएनएचसीआर)को नेपालस्थित कार्यालयले गृह मन्त्रालयलाई उपलब्ध गराएको हो । मन्त्रालयका एक अधिकारीका अनुसार सरकार आफैंले यहाँ बसिरहेका रोहिंग्या शरणार्थीबारे कुनै अध्ययन गरेको छैन ।

हाल खानपानको चरम अभाव झेलिरहेका रोहिंग्याहरू नेपालमा पनि आफूहरूमाथि थप हिंसा हुने भन्दै त्रसित छन् । करीब ३ सय ४५ रोहिंग्या काठमाडौंको कपनस्थित राम मन्दिर टोल जग्गा भाडामा लिएर बसिरहेका छन् ।

स्थानीयको जग्गा भाडामा लिएका बसेका रोहिंग्या आफूहरूको माग पूरा भए स्वदेश फिर्ता हुन चाहन्छन् । आफ्नो बचेको धनसम्पत्ति, जग्गा–जमिन फिर्ता गरिदिए तथा म्यानमार सरकारले शान्तिपूर्ण वातावरण निर्माण गरिदिए तुरुन्तै घर फर्किने उनीहरुको भनाइ छ ।

रोहिंग्यालाई शरणार्थीको मान्यता नदिने नेपालको नीति

नेपालले तिब्बती र भुटानीलाई मात्र शरणार्थीको दर्जा दिएको छ । अन्य मुलुकबाट आएका व्यक्तिहरूलाई भने नेपालले शरणार्थीको मान्यता दिएको छैन ।

अहिले रोहिंग्याहरूले मानवीय आधारमा मात्र नेपालमा शरण पाइरहेका छन् । नेपालमा मात्र होइन, बंगलादेशमा २० वर्षदेखि शरण लिइरहेका रोहिंग्याहरूलाई पनि शरणार्थीको दिइएको छैन । उल्टै आतंककारी गतिविधिमा संलग्नताको आरोप खेप्नु परेको छ, उनीहरूले ।

को हुन् रोहिंग्या ?

मुस्लिम समुदायका अल्पसंख्यक रोहिंग्यालाई तत्कालिन बेलायती उपनिवेश सरकारले सन् १८२४ मा पश्चिम म्यानमारमा ल्याएर राखेको थियो । बौद्ध धर्मावलम्बीको बहुल्यता रहेको म्यानमारमा उनीहरूलाई कृषि मजदुरका रुपमा ल्याइएको थियो । बाहिरबाट ल्याएर राखेकै कारण रोहिंग्याले शुरुदेखि नै दमन र शोषणको सामना गर्नुपरेको थियो ।

म्यानमार बेलायती उपनिवेशवाट स्वतन्त्र भएपछि पनि रोहिंग्याहरू भने त्यहीं बसे । विस्तारै मुस्लिम समुदायका रोहिंग्या र म्यानमारका बौद्ध धर्मावलम्बीबीच द्वन्द्व शुरु भयो ।

केही रोहिंग्याहरूले अंगीकृत नागरिकता पाएका थिए भने कतिपयलाई त म्यानमार सरकारले नागरिकता नै दिएको थिएन । पछि सन् १९८२ मा रोहिंग्यालाई दिइएको अंगीकृत नागरिकता पनि खोसियो र देश निकाला गर्ने नीति लियो, म्यानमार सरकारले ।

सन् २०१४ मा गरिएको जनगणनामा रोहिंग्याहरूलाई सामेल गरिएन ।

राज्यले गरेको विभेद र हिंसाविरुद्ध रोहिंग्याले पनि विद्रोह शुरु गरे । रोहिंग्याले विद्रोह शुरु गरेपछि राज्यपक्ष झन बढी दमन गर्ने नीतिमा उत्रियो ।

राज्यपक्षको दमन सहन नसकेपछि उनीहरु आफ्नो भूमि छाडेर भाग्न थालेका छन् । अहिलेसम्म रोहिंग्या समूदायका मनिसहरु भारत, बंगलादेश, थाइल्याण्डसँग नेपालमा शरण लिएर बसेका छन् ।

अझै पनि म्यानमारमा करिब १० लाखको संख्यामा रोहिंग्या भएको बताइन्छ । उनीहरूमाथि अहिले पनि सरकारी पक्षबाट दमन जारी छ ।

सबैभन्दा बढी अत्याचार खेपीरहेको जाति

सन् २०१२ को मे महिनामा म्यानमारको रखाइन प्रान्तमा एक बौद्ध महिलामाथि सामूहिक बलात्कार भयो । प्रहरीले दोषि दोषिलाई पक्राउ ग¥यो । अदालतले उनीहरूविरुद्ध सजाय पनि सुनायो । तर, बौद्ध धर्मावलम्बीहरू भने रोहिंग्या अल्पसंख्यकमाथि आक्रमणमा उत्रिए ।

त्यही घटनापछि संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुनले रोहिंग्या संसारमा सबैभन्दा बढी अत्याचार खेपिरहेको जाति भनेर अभिव्यक्ति दिएका थिए ।

ह्युमनराइट्स वाचले निकाले सन् २०१२ को रिपोर्टमा पनि रोहिंग्यामाथि अत्याचार रोक्न सुरक्षाकर्मीले भुमिका नै निर्वाह नगरेको उल्लेख गरेको थियो । एमनेस्टी इन्टरनेसनलले पनि त्यस वर्षको रिपोर्टमा सोही विषयलाई उठाएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ३ : ०९ बजे

इरानमा राष्ट्रपतिपदको उम्मेदवारी दर्ता सुरु

काठमाडौं– इरानमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इब्राहिम रायसीको स्थानमा

महिलालाई हरेक क्षेत्रमा सहभागिताको अवसर दिनुपर्छ : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलालाई हरेक

उखुको जुस बेचेर मनग्य आम्दानी

कैलाली– धनगढी उपमहानगरपालिका– ३ की पुजा शर्माले धनगढीको सहिद गेट

भत्काइएका सडक दुई दिनभित्र पुनर्स्थापना गर्न सडक डिभिजनको पत्र 

काठमाडौं– सडक डिभिजन काठमाडौँले फुटपाथ विस्तार रोकेर जुद्ध सालिक क्षेत्रमा

अवैध लागूऔषधसहित चितवन र मोरङबाट तीन जना पक्राउ

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा २ किलो