काठमाडौं – सवारी साधन चलाउन लाइसेन्स अनिवार्य चाहिन्छ । विना लाइसेन्स सवारी कुदाउनेहरु पनि छन् बजारमा । तर, ट्रायल नै पास नगरी नक्कली लाइसेन्स बनाएर सडक हुइक्याइनेहरुको पनि कमी छैन । यस्ता नक्कली लाइसेन्स बोक्नेहरु ४० हजार बढी भएको बताइन्छ ।
गत कात्तिक २२ गते काठमाडौंको कालिमाटीबाट मेनबहादुर मोक्तानको नाममा रहेको ०६–०५५८३४ नम्बरको नक्कली सवारी चालक परिचाय पत्र बरामद् भयो ।
त्यस अघि भदौमा पनि कोटेश्वरबाट भुमसंग दोर्जे लामाको नाममा भेटिएको सवारी चालक अनुमतिपत्र नक्कली पुष्टि भयो । यी त केही प्रतिनिधीमुलक उदाहारण मात्र हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तका अनुसार, पछिल्लो ४ बर्ष यता मात्र ३३ वटा नक्कली सवारी चालक अनुमतिपत्र भेटिएका छन् ।
कहिले कति बरामद् ?
–आर्थिक बर्ष २०७१/०७२ – १४ वटा
–आर्थिक बर्ष २०७२/०७३ – ८ वटा
–आर्थिक बर्ष २०७३/०७४ – ८ वटा
–आर्थिक बर्ष २०७४/०७५ – ४ वटा (कात्तिक सम्म)
यो त भयो प्रहरीले बरामद् गरेको नक्कली लाइसेन्सको तथ्याङ्क । केही समय अघि महानगरीय प्रहरी बृत्त दरबारमार्गले नक्कली सवारी चालक अनुमति पत्र बनाउने गिरोहका केही सदस्यलाइ नियन्त्रणमा लिएको थियो ।
प्रहरी अनुसन्धान अनुसार उक्त प्रति लाइसेन्सको २० हजार रुपैयाँ भन्दा बढी लिने गरेका थिए । तर, यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय समाचारमा बाहेक अहिलेसम्म कतैबाट नक्कली लाइसेन्सका बारेमा आधिकारीक जानकारी नपाएको बताउँछन् ।
जानकारहरु नक्कली लाइसेन्स बनाउन यातायाताका कर्मचारी र ट्राफिक प्रहरीकै मिलेमतो भएको आरोप लगाउँछन् । यातायात ब्यवस्था विभाग भने यो कुरा स्वीकार्दैन । नक्कली लाइसेन्स बनाउन बाहिरी व्यक्ति वा दलाल र विचौलियाको हातहुन सक्ने विभागको ठहर छ । यता ट्राफिक प्रहरी भने नक्कली लाइसेन्स बनाउने गिरोहले छाप र कार्ड आफै बनाउने गरेको दाबी गर्छ ।
कति लाइसेन्स नक्कली ?
केही समय अघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको नक्कली सवारी चालक अनुमतिपत्र बनाउने एउटा गिरोहले दैनिक १२ वटासम्म सवारी चालक अनुमतिपत्र विक्री गर्ने भनेर प्रहरीलाई बयान दिएका थिए ।
त्यो गिरोहले ६ वर्षदेखि निरन्तररुपमा नक्कली सवारी चालक अनुमति पत्र बनाएको अनुसन्धानबाट खुलेको थियो । प्रहरीका अनुसार, त्यो समूहले मात्र प्रहरीले पक्राउ गरेको अवधिसम्म २६ हजार भन्दा बढी नक्कली लाइसेन्स बनाएको देखिन्छ ।
त्यसबाहेक अन्य गिरोहले पनि लाइसेन्स बनाइरहेका छन् । यातायात ब्यवस्था विभागमा दर्ता भएको सवारी र लाइसेन्सल लिनेहरुको तथ्याङ्क हेर्दा पनि नेपालमा ४० हजार जति नक्कली लाइसेन्स भएको अनुमान गर्न सकिन्छ । यद्यपि आधिकारिक तथ्याङ्क भने कसैसँग छैन ।
कस्तो ट्रेण्ड ?
सुरुमा सवारी लाइसेन्स आवश्यकता भएका व्यक्तिहरुको पहिचान गर्ने, अनि उनिहरुको क्षमता अनुसारको रकम माग गर्ने । कम्तिमा १० हजार र त्योभन्दा माथिको रकम दिएपछि घरमा नै सवारी चालक अनुमति पत्र आउने । कहाँ बन्छ ? कसले बनाउँछ ? ल्याउने को ? सवै गुपचुप राखिन्छ ।
अनुसन्धान अनुसार यस्ता गिरोहले नेपालमै भन्दा पनि विदेश जानेहरुका लागि लाइसेन्सको ब्यापार गर्ने गरेका छन् । दैनिकजसो हुने सवारी दुघर्टनाको एउटा कारणमा नक्कली सवारी अनुमतिपत्रका आधारमा सवारी चलाउनु पनि रहेको प्रहरीको भनाइ छ ।
सरकारी आंकडाले नै नक्कली लाइसेन्सका आधारमा सवारी चलाउने उलेख्य भएको देखाइरहँदा पनि नियमनकारी निकायले भने यसप्रति खासै गम्भीरता देखाएको पाइंदैन ।
प्रतिक्रिया