विदेशी चलचित्रलाई किन आवश्यक छ ‘कोटा’ प्रणाली ? | Khabarhub Khabarhub

विदेशी चलचित्रलाई किन आवश्यक छ ‘कोटा’ प्रणाली ?


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही वर्षयता नेपाली चलचित्रको घरेलु बजार विदेशी चलचित्रले कब्जा गरेका छन् ।

अरबौं लगानीमा निर्माण भएका हलिउड चलचित्र र भाषिक बोधगम्यता र समान संस्कृतिका हिसाबले नेपालीबीच थप नजिक हुने मौका पाएका हिन्दी चलचित्र नेपाली चलचित्रका लागि ‘थ्रेट’ बनेका छन् ।

आफ्नै घरेलु बजारमा पनि थिचोमिचोमा परेको भन्दै नेपाली चलचित्रकर्मीले विदेशी चलचित्रलाई कोटा प्रणालीमार्फत प्रदर्शन गरिनुपर्ने आवाज उठाउँदै आएका छन् ।

जबकि, नेपालमा विदेशी चलचित्र ‘स्वतन्त्र व्यापार’ का नाममा नेपाली चलचित्र जसरी नै प्रदर्शन हुने गर्छन् ।

हलवाला या वितरकले विदेशी (हिन्दी र अङ्ग्रेजी) चलचित्रलाई मंहगोमा ‘राइटस्’ खरिद गरेर नेपाल भित्र्याउने गर्छन् । जसकारण हलवालाले ती चलचित्रलाई घरेलु चलचित्रलाई भन्दा बढी महत्त्व दिन्छन् ।

नेपाली चलचित्रले बक्स अफिसमा व्यापारको जादु देखाउन असफल रहेका बेला विदेशी चलचित्रले हल सञ्चालकलाई मलम लगाइदिने काम भने गरेका छन् ।

नेपाली दर्शकको विदेशी चलचित्रप्रतिको क्रेज बढ्दै गएका कारण शहरमा सुविधासम्पन्न नयाँ हलहरु खुलिरहेका छन् ।

चलचित्रकर्मीले नेपाली चलचित्रको विकासका लागि भन्दै विदेशी चलचित्रलाई कोटा प्रणाली लागू गर्नुपर्ने आवाज उठाए पनि राज्य भने कस्ता चलचित्रलाई प्राथमिकतामा राख्ने, कस्ता चलचित्र निर्माण गर्न प्रोत्साहित गर्ने, विदेशी चलचित्रको हकमा कस्तो नियम बनाउने जस्ता विषयमा आफै अलमलमा छ ।

अभिनेता दीपकराज गिरी ।

हालै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विदेशी चलचित्रलाई कोटा प्रणालीका आधारमा लागू गर्ने ‘संकेत’ दिएपछि भने चलचित्रकर्मीमा सानो आशाको दियो बलेको छ ।

बेलाबेलामा नेपाली चलचित्र मारमा परेको आवाज उठाउँदै आएका अभिनेता दीपकराज गिरी भन्छन्– ‘नेपालमा मनोरञ्जनका नाममा विदेशी संस्कृति हाबी भएको छ, स्वदेशी उत्पादनको पनि जगेर्ना भएको छैन ।’

उनका अनुसार विदेशी चलचित्रले नेपालमा व्यापार मात्र गरेका छैनन् । ती चलचित्रले आफ्नो देशको संस्कृति र राष्ट्रियतालाई पनि चलचित्रका माध्यमबाट नेपाली दर्शकको मनसम्म फैलाएका छन् ।

उनी भन्छन्, ‘मनोरञ्जनका नाममा नेपाली दर्शकले हमारा भारत महान् भनिरहेका छन्, यो कुन अर्थमा सही हुन सक्छ ?’

‘भारतको या अन्य राष्ट्रको जयजयकार गरेको चलचित्र हामीले किन हेरिदिनुपर्ने? अरु देशको राष्ट्रियताको हामीले किन प्रचार गरिदिने?,’ उनको प्रश्न छ ।

गिरीका अनुसार अहिले नेपाली दर्शकले खासगरी हिन्दी चलचित्र हेरिरहेका छन् । नेपाली दर्शकलाई हिन्दी चलचित्रको बानी परिसकेको छ । यसकारण उनले कहिलेकाहीँ गालीको पनि सामना गर्नुपर्ने अवस्था आउँछ ।

‘हिन्दी चलचित्रको विरोध गर्दा कति दर्शकले अहिले पनि गाली गर्नुहुन्छ, किनकि उहाँहरुलाई हिन्दी चलचित्रको लत बसिसकेको छ, बरु हलिउड चलचित्रको अझैसम्म खासै प्रभाव छैन, दर्शक आफैले हलिउड चलचित्रका लागि कोटा छुट्याइदिएका छन्,’ गिरी सुनाउँछन् ।

अझ केही वर्षयता त हिन्दी चलचित्र मात्र नभएर हलिउड र दक्षिण भारतीय चलचित्रको पनि नेपालमा प्रभाव देखिन थालेको गिरीको अनुभव छ ।

अभिनेता गिरी दुई करोडको चलचित्रले १ अर्बको चलचित्रसँग तत्काल प्रतिस्पर्धा गर्न नसक्ने बताउँछन् ।

‘दर्शकलाई विदेशी चलचित्र हेर्ने बानी लागिसक्यो, लागेको बानी छुटाउन गाह्रो हुन्छ, तर राज्यले नेपाली चलचित्रलाई नै महत्त्व दिनुपर्छ,’ उनी थप्छन् ।

छिमेकी देश भारतमा पनि सबै विदेशी चलचित्र रिलिज हुँदैनन् । बलिउडले नेपालमा आफ्ना बलियो बजार खोजिसके पनि चीनमा भने आफ्नो बजार विस्तार गर्न सकेको छैन । किनकि, चीनमा विदेशी चलचित्र कोटा प्रणालीका आधारमा रिलिज हुने गर्छन् ।

आकाश अधिकारी ।

चलचित्र निर्माता संघका अध्यक्ष तथा निर्माता आकाश अधिकारीका अनुसार चीनमा अहिले वर्षको ५ वटा भारतीय चलचित्र मात्र प्रदर्शन गर्न पाइने व्यवस्था छ ।

त्यसो त नेपाली चलचित्रकर्मीले पनि चीनमा आफ्नो चलचित्रको बजार खोज्ने प्रयास गरिरहेका छन् ।

प्रदर्शन गरिने चलचित्रले आफ्नो संस्कृति र राष्ट्रियतामा आँच आउन नदिने चीनलाई लाग्यो भने मात्र ती चलचित्रको सेन्सर पास हुन्छ ।

नेपालमा भने लगभग सबै हिन्दी चलचित्र भारतमा रिलिज भएकै दिन प्रदर्शन हुने गर्छन् । कहिलेकाहीँ त नेपाली मेकरलाई आफ्नो चलचित्रको रिलिज मिति नै हेरफेर गर्नुपर्ने बाध्यतात्मक परिस्थिति छ ।

दीपकराज गिरी भन्छन्, ‘हिन्दी चलचित्र नेपालमा बन्द हुनुपर्छ भन्ने मेरो भनाइ होइन, तर सबै चलचित्र प्रदर्शन गरिनु हुँदैन, सेन्सर हुनुपर्छ, ती चलचित्रले नेपाली मष्तिष्कलाई असर पार्नु भएन, अरु भाषा सिक्नु राम्रो हो तर नेपाली भाषा नै त हराउनु भएन नि !’

निर्माता तथा निर्देशक आकाश अधिकारीको भनाइ पनि लगभग उस्तै छ । राज्यले अहिलेको परिस्थितिमा नेपाली चलचित्रलाई महत्त्व दिनुपर्ने उनी बताउँछन् । ‘राज्यले एउटा मापदण्ड बनाओस्, नेपाली चलचित्रलाई महत्त्वमा राखोस्, विदेशी चलचित्र रोक्नु हुँदैन तर केही कडाइ गर्नैपर्छ,’ अधिकारी भन्छन् ।

उनी चलचित्रमा कोटा प्रणाली हुँदा नेपाली चलचित्रको विकासमा सहयोग पुग्ने धारणा राख्छन् । छिमेकी देशहरुमा पनि विदेशी चलचित्र सहजै चल्ने वातावरण नभएको र यसरी भएभरका हिन्दी चलचित्र निर्वाध रुपमा नेपालमा मात्र चल्ने गरेको अधिकारी स्वीकार्छन् ।

‘लिखित रुपमै प्राथमिकतामा राखेर नेपाली चलचित्रलाई महत्त्व दिइयोस्, के गर्दा नेपाली चलचित्रलाई फाइदा हुन्छ, त्यसरी नै अगाडि बढाइयोस् भन्ने राज्यलाई हाम्रो पहिलेदेखिकै अनुरोध हो,’ अधिकारी भन्छन् ।

त्यसो त नेपाली चलचित्र मेकरलाई ‘गज्जबै’लागे पनि दर्शकका लागि भने टाउको दुखाइ बन्ने गरेको छ । नेपालमा प्रायः कमसल चलचित्र निर्माण हुँदा दर्शक त भड्किएका छन् नै, ती चलचित्रले स्तरीय चलचित्रको बजार व्यवस्थापनमा पनि प्रत्यक्ष असर पारेका छन् ।

निर्माता दीपकराज गिरी ८० प्रतिशत नेपाली चलचित्रले दर्शकको टाउको दुखाउने जिकिर गर्छन् । नेपाली चलचित्रका दर्शकले नयाँ ‘टेस्ट’ स्वरुप विदेशी चलचित्रमा बानी बसाल्नुमा नेपाली चलचित्रकर्मी पनि दोषी रहेको उनको बुझाइ छ ।

बजारमा जे बिक्यो, त्यही चलचित्र बनाउन खोज्दा धेरैजसो चलचित्रकर्मी भ्रमरुपी केराको बोक्रामा चिप्लिएर बारम्बार पछारिएका छन् । केही चलचित्रकर्मी भने चलचित्र पनि राम्रा नबनाउने तर विदेशी चलचित्र पनि चल्न दिनुहुन्न भन्ने दृष्टिले आवाज उठाइरहेका छन् ।

प्रदीप कुमार उदय ।

निर्माता, हल सञ्चालक तथा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय कोटा प्रणाली लागू गर्ने या नगर्ने भन्ने बहसको विषय भएको बताउँछन् । उनी चलचित्र प्रदर्शन स्वतन्त्र व्यवसाय भएको तर्क अगाडि सार्छन् ।

त्यसो त यसअघि चलचित्र विकास बोर्डले हिन्दी चलचित्रलाई शुक्रवारभन्दा पहिले रिलिज गर्न नपाइने भनेको थियो । केही हलवालाले चलचित्रलाई ‘स्वतन्त्र व्यवसाय’ भन्दै शुक्रवारअघि नै रिलिज गर्न पाउनुपर्ने माग गरेका थिए ।

‘यदि कोटा प्रणाली लागू गरेर विदेशी चलचित्र मात्र चलाउने हो भने नेपालीहरु नै डुब्ने हुन्, किनकि अहिलेका सुविधासम्पन्न हलमा लगानी धेरै छ,’ निर्मातासमेत रहेका प्रदीप कुमार उदय भन्छन्, ‘यसबारेमा कुनै टुङ्गो नलागेकाले अहिले नै बोल्न चाहिँ मिल्दैन तर मलाई लाग्छ, समग्र चलचित्रको व्यवसाय कस्तो हुनुपर्छ भन्नेमा सबैले ध्यान दिनुपर्छ होला ।’

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १० : ०४ बजे

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।