काठमाडौं उपत्यकामा ३ महिने ट्राफिक उज्यालो अभियान शुरु « Khabarhub

काठमाडौं उपत्यकामा ३ महिने ट्राफिक उज्यालो अभियान शुरु


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज तुल्याउन र दुर्घटना न्यूनीकरण गर्न सडक प्रयोगकर्ता, पैदलयात्री, चालक/सहचालक र कलेजका विद्यार्थीलाई लक्षित गरी तीन महिने ट्राफिक उज्यालो अभियान शुरु गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ट्राफिक उज्यालो अभियान शुरु गरेको हो । अभियानअन्तर्गत ट्राफिक सचेतना अवधारणालाई आम नागरिकसम्म पुर्‍याइने तथा सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गरिने जनाइएको छ । यस्तै, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले अभियान शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक नियमको व्यावहारिक प्रयोग, लेन अनुशासन, मर्यादित सवारी चालक, कानूनलाई आत्मसात् गर्ने प्रवृत्तिलाई प्राथमिकतामा राखी सडकमा हुने लापरवाहीलाई न्यूनीकरण गर्न अभियान सफल हुने महाशाखाले विश्वास लिएको छ ।

अभियानका क्रममा समुदाय प्रहरी साझेदारीसँग समन्वय गरी पर्चा पम्प्लेट, स्टिकर विरण र श्रव्यदृष्य प्रदर्शनी ट्राफिक नियमबारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा सचेतना कक्ष लिने र स्कूल/कलेजका विद्यार्थीलाई विद्यालयमै गएर कक्षा लिने विधि बनाइएको छ ।

महाशाखा र माताहतका ४० एकाइबाट लक्षित समूह पहिचान गरी सञ्चालन गरिने उक्त अभियानमा अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन हुनेछ । पुस, माघ र फागुन महिनासम्म सञ्चालन हुने अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिइने छ ।

त्यसक्रममा कम्तीमा सार्वजनिक भाडाका सवारी चालक र सहचालक ३० हजार, निजी सवारी चालक १५ हजार सरकारी चालक ५ हजार, पैदलयात्री २० हजार र विद्यार्थीलाई सवारी सडक अनुशासनबारे प्रशिक्षित तुल्याइने महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

अभियानको शुभारम्म गर्दै महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेन्द्र थापाले मुलुकमा सवारी दुर्घटनाबाट वार्षिकरुपमा २ हजारको सङ्ख्यामा नागरिकले अकालमा ज्यान गुमाउन परिरहेको बताउँदै सडक सुरक्षा न्यूनीकरणका लागि तय गरिएको १२ वटा विभिन्न कार्यक्रममध्ये उज्यालो कार्यक्रम एक भएको जानकारी दिए ।

नियम उलङ्घन गर्नेबाटै सुरक्षामा खटिएकालाई अपशब्द बोल्ने तथा ट्राफिक नियमबारे थाहा नपाएका व्यक्तिभन्दा पढे लेखेका शहरियाबाटै सडक अनुशासन उलङ्घनका घटना बढी हुँदै आएको बताइएको छ । यस आर्थिक वर्षको ५ महिनाको अवधिमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी ७६ जनाको ज्यान गएको छ ।

सडक लेन अनुशासनको पालना नगर्ने, नागबेली पारेर सवारीसाधन कुदाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, मोबाइलमा कुरा गरेर सवारी दौडाउने र तीव्रगतिमा मोटर साइकल हाक्ने नै बढी दुर्घटनामा पर्ने गरेको अध्ययनले देखाएको छ ।

सो अवसरमा उच्च माध्यामिक विद्यालय सङ्घका कावा अध्यक्ष युवराज शर्मा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला, अखिल नेपाल मजदूर सङ्घका अध्यक्ष सोम तामाङलगायतले महाशाखाको सचेतना अभियानलाई सम्पूर्ण ढङ्गबाट सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १२ : ३० बजे

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र