देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस् « Khabarhub

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्



नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको भेलाले कांग्रेस एकताको लागि स्पष्ट खाका ल्याउनुपर्ने बताउँछन् । 

उनी अर्को पार्टी बन्ने सम्भावना नरहेकाले अब अदालतले गरेको फैसला मान्न आग्रह गर्छन् । 

विधि र प्रक्रियाबाट विशेष महाधिवेशन भएका कारण पुनरावेदनको मुद्दाले कांग्रेसलाई एक बनाएर लैजाने उनको विश्वास छ । देउवा नेपाल आउने विषयमा औपचारिक जानकारी मूल कांग्रेसलाई नभएको उल्लेख गर्दै पौडेल देउवा कसैको पक्ष या विपक्षमा नलागीबीचमा बसेर सबैका कुरा सुन्दै अभिभावक भएर पार्टी मिलाउन लाग्नुपर्ने सुझाव दिन्छन् । 

देउवा चुनदेवीमा सभापति भएर बसेको विषय केटाकेटीपन भएको महामन्त्री पौडेलको ठम्याई छ । विधिको शासन सबैले मान्नुपर्ने उल्लेख गर्दै यसलाई नमानेको खण्डमा गलत संस्कार हाबी हुने उनको विश्लेषण छ। 

विशेष महाधिवेशनबाट आएको सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाबीच चाँडै भेट हुने उल्लेख गर्दै देउवाको नेतृत्वमा १५ औँ महाधिवेशनमा जान नसकिने पौडेलेको स्पष्टोक्ति छ । उनी देउवालाई तटस्थ बसेर अभिभावक हुँदै समस्या सुल्झाउन सुझाव दिन्छन् । प्रस्तुत छ महामन्त्री पौडेलसँग खबरहबले गरेको छोटो कुराकानी : 

कांग्रेस एकता हुने सम्भावना टरेको हो ?

अर्को पार्टी बन्ने सम्भावना टर्‍यो अब। पार्टीभित्रै झगडा गरेर बस्ने, सबै बस्ने अवस्था भयो। अर्को पार्टी बन्ने त सम्भावना रहेन नि अब । 

उहाँहरूले अर्को पार्टी खोल्नुभयो भने के हुन्छ ?

अब केस अदालतमा छ। अदालतले गरेको फैसला जसले पनि मान्नुपर्ने भयो । अर्को पार्टी दर्ता गर्न कोही पनि जानुहुन्न । छरिएका कांग्रेसहरू एकजुट भएर अगाडि बढ्नुहुन्छ ।

अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दियो भने नि ?

त्यस्तो सम्भावना हुन्छ र भन्या  ? ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि आएर गरेको महाधिवेशन जोक हुन्छ र ? हामी अदालतको निर्णय मान्छौँ । पार्टीभित्र आपसी बेमेल भयो भन्ने कुराको सन्दर्भमा अदालतले टुङ्ग्याएपछि हामीबीच बेमेलको स्थिति अन्त्य हुन्छ । 

अदालतको निर्णय नआउन्जेलसम्म इतरपक्षले गरेको राष्ट्रिय भेला अरु गतिविधिलाई वास्ता नगर्ने तपाईँहरूको रणनीति हो ?

उहाँहरूको भेलालाई वास्ता गरेर के गर्ने ? आधिकारिक कांग्रेस हामी भएकोले उहाँहरूको भेलामा गएर बोल्न मिलेन । हामीले तपाईँहरूको बटम लाइन के हो ? तपाईँ, हामीले पेश गरेको पहिलाको ७ बुँदामा के के फेर्नुपर्ने हो ? के के थप्नुपर्ने हो ? त्यो राष्ट्रिय भेलाबाट पास गरेर आउनुहोस् भनेका छौँ । त्यसपछि संवाद गर्न, कुराकानी गरेर मिलाउन तयार छौँ भनेका छौँ ।

उहाँहरूको भेलालाई कसरी बेवास्ता गर्नु र ? तर के भेलाबाट कांग्रेस एकजुट बनाउने निष्कर्ष आउँछ, आउँदैन त्यो हेर्नुपर्छ ।

राष्ट्रिय भेलापछि उहाँहरूले पार्टी एकताको खाका ल्याउनुहुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ?

उहाँहरू के गर्नुहुन्छ ? त्यो उहाँहरूको विषय भयो । हामी महाधिवेशनमा अगाडि बढिसक्यौँ । मिल्न तयार भएर राष्ट्रिय भेलाबाट एउटा खाका ल्याउनुभयो भने त्यसलाई हामीले अध्ययन अनुसन्धान गरेर मिलन बिन्दु पत्ता लगाउँछौँ । 

पहिला वार्ता गर्न नमिलेको कुरा मिलाउन विषय चाहियो नि । अहिले हामी जिम्मेवारीमा रहेको कारण उहाँहरूले स्विकार्नु पनि पर्‍यो। असन्तुष्टिका विषयहरू के के हुन् ? विधिपद्धति कसले मान्ने नमान्ने भन्ने कुरा पनि होला । विधि प्रक्रिया मिलेन भनेर उहाँहरूले भन्नुभएको विषय के हो ? 

१५औँ महाधिवेशन निष्पक्ष स्वतन्त्र हुँदैन भनेर आशंका गर्नुभएको कहाँ कहाँ हो ? अथवा अरू कुरा के के हो ? त्यो कुरा भयो भने नै हामीले समझदारी गर्न सक्छौँ । उहाँहरू त अहिले भेलामा व्यस्त हुनुहुन्छ । 

व्यस्त भएको कारणले संवाद गर्ने परिस्थिति पनि नबनेको होला । भेला सकिसकेपछि भेला गर्ने साथीहरूसँग परामर्श गरेर निर्णयहरू आउँछन् भन्ने हाम्रो अपेक्षा छ । 

उसो भए शेरबहादुर देउवा नेपाल आएपछि संवाद छलफल रोकिएको हो ?

हो, त्यसपछि संवाद छलफल भएको छैन । हाम्रो पूर्व सभापति नेपाल आउनुभयो । उहाँलाई हामी स्वागत गर्न चाहन्छौँ । हाम्रो आग्रह के हो भने उहाँ यता र उताको भएर होइन तटस्थ कांग्रेसको अभिभावक भएर सबैलाई मिलाउने प्रयत्नमा जानुपर्छ । 

मिलाउने वातावरण बनाउन उहाँले पहल गरिदिनुभयो भने राम्रो हुन्छ । त्यो हाम्रो अपेक्षा हो उहाँहरूसँग । 

देउवा आउँदा किन स्वागत गर्न नजानुभएको ?

हामीहरूलाई आधिकारिक जानकारी दिइएको थिएन । औपचारिक जानकारी नभएपछि हामी कसरी जाने ? हामी पार्टीकै काममा व्यस्त थियौँ। हामी अब भेट्छौँ । 

चुनदेवीमा छुट्टै पार्टी कार्यालय खडा गरेर देउवा सभापति बनेको विषयले तपाईहरुलाई कुनै असर गरेको छैन ?

यो विषय हाँस उठ्दो छ। कांग्रेस पार्टी भनेको विधिको शासन र नीति विधान मान्ने पार्टी हो । जतिसुकै झगडा भएपनि विधिको शासन र नीतिमा कांग्रेस एकजुट हुने गरेको थियो । तर यो पन केटाकेटी जस्तो भयो । 

अदालत र निर्वाचन आयोगले दिएको विधिको शासन पालना नगर्नु भनेको तपाईँहरू आफै विश्लेषण गर्नुहोस् । विधिको शासन रहन्छ कि रहँदैन यसो गरेपछि त्यो उहाँहरूले नै ख्याल गर्नुहोस् । यसमा म केही भन्न चाहन्न उहाँहरूलाई नै छोडिदिन्छु । 

उहाँहरूले दस्तावेज लगायत भाषणमा  १४औँ महाधिवेशनको नेतृत्व शेरबहादुर देउवा रहेको खण्डमा मात्र पन्ध्रौँ महाधिवेशन जाने भनेर सर्त राख्नुभएको छ । के यो सम्भव छ ?

तपाईँहरूले १५ औँ महाधिवेशन देउजाको नेतृत्वमा जानुपर्छ भन्ने विषयमा विधिको शासनलाई हेर्नुहुन्छ कि यो अनावश्यक मागलाई हेर्नुहुन्छ : सानो केटाकेटी र विवेकले बोल्ने मान्छेले पनि यो अवस्था देख्दैन भने हामीले कसरी देख्छौँ ? हामी त अझ नीति, विधान र सिद्धान्त मान्ने मान्छे । उहाँहरूको यो अडान कायम राखेर वार्ता भयो भने त मिल्ने कुरै आउँदैन नि । 

हामी युवा पुस्ताको चाहना र अग्रजहरूको अनुभव लिएर कांग्रेसलाई एकजुट र परिवर्तनकारी शक्ति बनाउन चाहन्छौँ । अर्को कुरा तपाईँहरूलाई थाहा छ कि छैन यो माग देउवाको होइन । उहाँलाई उल्क्याउने अरु व्यक्तिको हो । देउवा कांग्रेस विभाजनको पक्षमा हुनुहुन्छ जस्तो मलाई लाग्दैन । तर उहाँलाई सल्लाह दिने व्यक्तिहरूको कमजोरी हो । 

देउवा नेपाल आएर सभापतिकै हैसियतमा छुट्टै पार्टी कार्यालय खोलेर बस्ने मनस्थितिमा हुनुहुन्थ्यो भनेजस्तो मलाई लाग्दैन । उहाँलाई अरु कसैबाट उल्क्याउने काम भइरहेको छ । 

कांग्रेसको एकता नचाहने, कांग्रेसलाई जहिले विवाद बनाइराख्ने र नेतृत्व नस्विकार्ने व्यक्तिहरूले देउवालाई गलत सन्देश दिइरहेका छन् । देउवाले आफ्नो नेतृत्वमा १५ औँ महाधिवेशन होस् भन्न चाहनुभएको पनि होइन ।  

आदरणीय शेरबहादुर देउवा दाइलाई हाम्रो आग्रह के हो भने बीचमा बसिदिनुहोस् । कसका कुरा सही, कसका कुरा गलत छुट्याइदिनुहोस् । आग्रह र पूर्वाग्रही कुरा नसुन्दिनुहोस् । सर्वोच्च अदालत र निर्वाचन आयोगले गरेको निर्णयलाई मानिदिनुहोस् । कुरा मिलाइदिनुस् भन्ने हाम्रो आग्रह हो ।

दुवै पक्षले आआफ्ना अडान नछोडेपछि मिलनबिन्दु पत्ता लागेको देखिँदैन। खास मिलनबिन्दु भेटिने चुरो के हो  ?

पहिला समस्या के हो त्यो पहिचान गरेपछि मिलनबिन्दु हुन्छ । उहाँहरूको समस्या नै के हो भन्ने आधिकारिक ढंगमा आइसकेको छैन । घरि एउटा कुरा गर्नुहुन्छ, घरि अर्को कुरा । समस्या स्वाभाविक र सैद्धान्तिक ढङ्गबाट आउनुपर्‍यो । कानुन विधान र नीतिले दिने कुरा आउनुपर्यो। आएपछि हाम्रो पनि त १५औँ महाधिवेशन गर्ने जिम्मेवारी हो, त्यो महाधिवेशनतिर लाग्छौँ । 

पन्ध्रौँ महाधिवेशन मात्रै गरेर हुँदैन । सबैलाई समेट्ने किसिमको महाधिवेशन हुनुपर्छ। त्यसको लागि निष्पक्षता कायम हुनुपर्छ । सबैको विश्वास आर्जन हुने स्थिति हुनुपर्छ। त्यसको लागि के के गर्नुपर्छ ? हामी तयार छौँ । उहाँहरूको खास समस्या के हो र मिलन कसरी गर्ने भन्ने विषय लिएर आउनुपर्‍यो । 

हामी त कांग्रेस एक बनाउन तयार नै छौँ नि । तर नीति, नेतृत्व त उहाँहरूले स्विकार्नु पर्‍यो नि । अनावश्यक माग लिएर अगाडि बढ्नु जायज हुँदैन। यसले विधिको शासनलाई धज्जी उडाउँछ । र कांग्रेसमा व्यक्तिवादी चरित्र हाबी गराउँछ ।

नेतृत्व स्वीकारेको खण्डमा सबै कुरा मिल्छ ?

नेतृत्व स्वीकार भनेर हामीले माग्ने कुरै भएन नि ।  उहाँहरूले विधिबाट आएको नेतृत्वलाई त नस्विकार्ने भन्ने पनि कुरा रहन्छ र ? विधिले निर्धारण गरेको कुरा मान्नु त सबैको दायित्व होइन र ?

उसो भए विशेष महाधिवेशनको नेतृत्व र पूर्व सभापति शेरबहादुर देउवाबीच भेटवार्ताको कार्यक्रम छ कि छैन  ?

हामी सभापतिलाई भेट्न चाहन्छौँ । त्यो कोशिस पनि भइरहेको छ ।  उहाँहरूको भेला सकेपछि भेट्छौँ पनि । त्यो भेट्ने वातावरण पनि उहाँहरूले सिर्जना गरिदिनुपर्छ ।

भेटमा तपाईँको नेतृत्वमा १५ महाधिवेशनमा जान सकिँदैन भनेर स्पष्ट कुरा राख्नुहुन्छ ?

राख्छौ नि किन नराख्ने र ? विधि र प्रक्रियाबाट आएको नेतृत्वलाई स्वीकार गरेर पन्ध्रौँ महाधिवेशनमा जाऊँ, तपाईँ अभिभावक बन्दिनुहोस् भन्ने त हाम्रो बटमलाईन नै छ नि। तर हामीलाई स्विकार्नुस् ,हामीलाई स्विकार्नुस् भन्नुपर्ने अवस्था नरहला नि ।

त्यसकारण आजको दिनमा पनि म के चाहन्छु भने कांग्रेस एक ढिक्का बनाएर लाने इच्छा हो भने पूर्व सभापति  देउवा अभिभावक बन्नुहोस् । यताउताको लैलैमा नलाग्नुस् । बीचमा बसेर समस्या सुल्झाउनतर्फ लाग्नुपर्छ, बल्झाउन  होइन ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  २ : ३५ बजे

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का