सत्तारुढदेखि पूर्वराजासम्मको ‘दौड’, के हुँदैछ मधेसमा ? | Khabarhub Khabarhub

सत्तारुढदेखि पूर्वराजासम्मको ‘दौड’, के हुँदैछ मधेसमा ?



काठमाडौं– देशमा चुनाव आउन अझै ४ वर्ष बाँकी छ । तर पछिल्ला केही दिन यताका राजनीतिक घटनाक्रमले चुनाव नजिकिएको हो कि भन्ने भान पारेको छ । यस्तो भान हिमाली र पहाडी क्षेत्रमा भन्दा बढी तराई/मधेसमा परिरहेको छ ।

पछिल्लो समय सत्तारुढ दल नेकपा, हिन्दूधर्मको वकालत गर्दै आएको कमल थापा नेतृत्वका राप्रपा, नागरिकको हैसियतमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहको तराई मोह धेरैनै देखिएको छ । कमल थापाले त देशव्यापी रुपमा नै कार्यक्रम गरे । थापाले देशका विभिन्न १०० भन्दा धेरै स्थानमा सभाको आयोजना गरे । जसले गर्दा राजनीतिक माहोल तात्यो र कतिपयले चुनाव नजिकिएको हो र भन्दै प्रश्न समेत गरे ।

नेकपाका शीर्ष नेताको मधेस यात्रा

फागुन २५ गते शनिवार नेकपाका दुई अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल रौतहट पुगे । नेकपाको प्रदेश नम्बर दुईले आयोजना गरेको आमसभामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र पहिला पहिला चुनावमा रौतहटबाटै उम्मेदवार बन्दै आएका वरिष्ठ नेता माधव कुमार नेपाल गृहजिल्ला पुगे । निर्वाचन अघिदेखि तराई/मधेसमा कुनै ठूलो कार्यक्रम नगरेको नेकपाको फागुन २५ को कार्यक्रम ‘भव्य’ भएको थियो ।

पूर्वराजादेखि राजनीतिक दलहरुको मधेस दौडाहालाई अर्थपूर्ण रुपमा समेत लिन थालिएको छ । सबैको चासो मधेसतिर बढेपछि नेपाली राजनीतिमा एउटा बहश शुरु भएको छ । आखिर सबै दलका नेतादेखि पूर्वराजासम्म किन मधेस दौडाहामा छन् त ?

मधेस विरोधी दलको रुपमा मधेसी नेता कार्यकर्ताले प्रचार गर्दै आएको नकपाको कार्यक्रममा जनसहभागीता उल्लेख्य थियो । सभामा नेकपाका नेतात्रयले आफूहरु मधेसका लागि लड्दै आएको र मधेस विरोधी नभएको भन्दै मधेसी जनतालाई बुझउने प्रयास गरे ।

राप्रपाको देश दौडाह

हिन्दूराष्ट्र पुनस्र्थापना र राजासहितको लोकतन्त्र स्थापनाका लागि राप्रपाले मेची महाकाली यात्रा ग¥यो । फागुन १५ मा ताप्लेजुङबाट शुरु गरेको यात्रा मेची महाकाली हुँदै काठमाडौं आएर समापन भएको छ । त्यसक्रममा विभिन्न जिल्लाका सदरमुकाम र अन्यक्षेत्रमा सभाहरुको आयोजना भयो जसले गर्दा राजनीति तरंगित बन्यो । हिन्दूधर्म र राजासहितको लोकतन्त्रको थापाको दलको मागलाई मानिसहरुले चासोका साथ हरेका थिए ।

पूर्व राजाको ‘वेमौसम’ को तिर्थाटन !

राजनीतिक दलहरुमात्र होइन नागरिकका रुपमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहले पनि यतिखेर आफ्नो सक्रियतालाई बढाएका छन् ।
धार्मिक वा तिर्थाटन भनिएपनि उनी मन्दिरमा भन्दा ‘जनता’ का बीचमा बढी देखिएका छन् । दुई नम्बर प्रदेशलाई केन्द्रमा राखेर भ्रमण गरिरहेका ज्ञानेन्द्र शाहले त्यस क्षेत्रमा पर्ने विभिन्न मठमन्दिरमा पूजा अर्चना र स्थानीयलाई भेट गरिरहेका छन् । उनले जनपुर, सप्तरी, बारा, उदयपुर लगायका स्थानमा आफ्ना समर्थकहरुको बाक्लो साथ पाएका छन् ।

मधेसतर्फको आकर्षण

मधेसमा एउटा असन्तुष्टि छ, त्यो के हो भने मधेसप्रति काठमाडौँले हेर्ने दृष्टिकोण फरक र संकुचित छ । पछिल्लो एक दशकयता मधेसमा विभिन्न वाहनामा राजनीतिक उतारचढाव भइरहेको छ । मधेस आन्दोलन, कहिले पृथकतावादी आन्दोलन, नाकाबन्दी र दर्जनौँ सशस्त्र समूहको क्रियाशिलता मधेसको नियती जस्तै बनेको छ । विभिन्न राजनीतिक दल, समूहले आफ्ना स्वार्थ्य सिद्ध गर्नका लागि मधेसको प्रयोग गर्ने गरेका आरोप लाग्ने गरेको छ ।

यस्तै बेलामा पूर्वराजादेखि राजनीतिक दलहरुको मधेस दौडाहालाई अर्थपूर्ण रुपमा समेत लिन थालिएको छ । सबैको चासो मधेसतिर बढेपछि नेपाली राजनीतिमा एउटा बहश शुरु भएको छ । आखिर सबै दलका नेतादेखि पूर्वराजासम्म किन मधेस दौडाहामा छन् त ?

कुनै बेला मधेस केन्द्रीत दलको मात्रै बढी उपस्थिती देखिने गरेको मधेसमा प्रमुख राजनीतिक दलका नेताहरुको समेत रोजाईमा पर्न लागेपछि यो बहश शुरु भएको छ । आखिर मधेसप्रति प्रमुख दलसहित पूर्वराजाको सामिप्यता किन बढेको छ ?

मधेस मामिलाका राजनीतिक विश्लेषक डाक्टर राजेश अहिराज भन्छन्– ‘मधेसमा बढ्दै गरेको जनघनत्वमात्रै होइन, अलगवादको राजनीतिको शुरु भइसकेको अबस्थामा असन्तुष्टि र राज्यप्रतिको वितृष्णा मधेसमै रहेका कारण त्यसलाई सम्बोधन गर्न राजनीतिक दल र सरकारको समेत ध्यान जान थालेको हो ।’

सबैको आफ्नै दाउँ !

विखण्डनको नारा लगाउँदै आएका सीके राउतसँग ११ बुँदे सहमति गरेको भोलिपल्ट नेकपाका शीर्ष नेताहरु रौतहट पुगेका थिए । आफ्ना दल मधेस विरोधी नभएको र मधेसमा शान्ति, विकासका लागि विखण्डनवादी शक्तिसँग पनि आफ्नो पार्टीले सहमति गरेर मूलधारमा ल्याएको नेताहरुले बताएका थिए ।

मधेसमा संविधान संशोधनको मुद्दासहित अहिलेको राष्ट्रिय जनता पार्टीले गरेको आन्दोलन उग्र बनेका बेला मधेसप्रति नकारात्मक टिप्पणी गरेको भन्दै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेसविरोधी नेताका रुपमा प्रचार भएको थियो ।

संविधान जारी भएपछि संविधानबारे जनतालाइ जानकारी गराउने भन्दै तत्कालिन एमालेले गरेको कार्यक्रममा सप्तरीमा भएको झडपका क्रममा ५ जनाले ज्यान गुमाएपछि ठूलो कार्यक्रम नगरेको नकपाले अघिल्लो साता रौतहटमा गरेको कार्यक्रममा हजारौँ सर्वसाधारणको सहभागिता जनाए । कुनैबेला तत्कालिन एमालेलाई मेधशबाटै लखेट्ने आन्दोलनको नेतृत्व गरेका स्थानीय नेता तथा कार्यकर्ताको समेत सहभागितामा रौतहटमा भएको कार्यक्रमपछि नेकपा हौसिएको छ ।

रौतहटको सभामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले भनेका थिए, हामीलाई मधेसविरोधी भनेर हौवा मच्चाउनेहरुलाई जनताको उपस्थितीले नै जवाफ दियो । अर्थात् हामीलाई केही तराईका नेताहरुले मात्रै मधेसविराधीको ट्याग लगाएका हुन् । हामीप्रति जनताको विश्वास छ । विखण्डनकारी आन्दोलन चलाइरहेका सिके राउतसँग सरकारले सहमति गरी मुलधारको राजनीतिमा ल्याउन सफल भएको भन्दै नेकपाका नेताहरु अब मधेसमा अन्य दलको हैसियत कमजोर भएको आँकलन गरिरहेका छन् ।

यद्यपी संविधान र राष्ट्रिय अखण्डताको पक्षमा रही मुलधारको राजनीतिमा आउने आशा गरिएका राउतलाई जनकपुरमा गरिएको स्वागतमा देखिएको दृष्य र उनले अब लिने भावि रणनीतिबारेको शंशय बाँकी नै छ ।

त्यसबाहेक प्रमुख प्रतिपक्षी दल कांग्रेसको मत तराईमा राम्रै रहेको चुनावी परिणामहरुले देखाउँदै आएको छ । कांग्रेसले औपचारिक रुपमा कुनै कार्यक्रम नगरेको भएपनि कांग्रेस नेताहरुको मधेस दौडाहा व्यक्तिगत रुपमा जारी रहेन गरेको छ ।

खासगरी वरिष्ठ नेता रामचन्द्र पौडेलसहित दोस्रो स्तरका कांग्रेसी नेताहरुको मधेसी दौडाहा समेत चलिरहेको छ । कांग्रेसको अर्को वर्ष हुने महाधिवेशनका लागि आफ्नो पक्षमा मत बटुल्न नेताहरुको देश दौडाहाकै क्रममा मधेस समेत झरेको विश्लेषण गरिन्छ ।

सत्तारुढ दल नेकपा मात्रै होइन, हिन्दू राष्ट्रको माग गर्दै मेची महाकाली अभियानका नाममा देशका बिभिन्न भागमा सभा गरेको कमल थापा नेतृत्वको राप्रपाले समेत तराई मधेसका विभिन्न जिल्लामा कार्यक्रम गरेको छ । हिन्दु राष्ट्रप्रति मधेसी जनताको सहानुभुति बटुल्न जिल्लाकेन्द्रीत सभाहरु भएको आंकलन गरिएको छ । हिमाल र पहाडमा हिन्दू राष्ट्रका पक्षमा रहेका जनताको भावना बुझेको राप्रपाले मधेसमा समेत त्यही भावनामार्फत आफूतर्फ मत आकर्षित गर्न खोजेको स्पस्ट हुन्छ ।

पूर्वराजाको के छ मधेस भ्रमणको एजेण्डा ?

राजनीतिक दलको गतिबिधि मधेसमा बढिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहसमेत मधेस यात्राकै क्रममा छन् ।

विनाकुनै सन्दर्भ जनकपुर र झापामै रहेर मधेस भ्रमणकै क्रममा रहेका शाहले आफ्नो मधेस भ्रमणको मिसनबारे केही बोलेका त छैनन् । तर उनको मधेस भ्रमणको उदेश्यबारे विभिन्न टिप्पणी हुने गरेको छ । मधेसमा सिके राउत प्रवृत्ति र मधेसवादको नारा असफल भएपछि पूर्वराजाको भ्रमणलाई विषेश महत्त्वका साथमासमेत हेर्न शुरु गरिएको छ ।

पहाडमा धर्म परिवर्तनको बहस चलिरहेका बेला मधेसमा भने त्यसको प्रभाव न्यून रहेको छ । मधेसी जनताको हिन्दू धर्मप्रतिको लगाव समेत बढी छ । त्यही भावनालाई क्यास गर्न पूर्वराजाको तिर्थाटन शुरु भएको हुनसक्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।

प्रमुख राजनीतिक दलबाहेक मधेसकेन्द्रीत दलहरुको गतिबिधि स्वभाविक रुपमा तराई मै बढी छ । देशको आधाभन्दा बढी जनसंख्या रहेका तराईका बिभिन्न २२ वटा जिल्लामध्ये मधेस केन्द्रित दलहरु प्रदेश नम्बर २ का विभिन्न जिल्लामा बढी सक्रिय देखिन्छन् । मधेसमा देखिएको असन्तुष्टि सम्बोधन गर्नका लागि मात्र नभइ मधेसी जनताको ‘भोला पन’ को फाइदा लिनका लागि दलहरु सक्रिय रहेको बुझाइ मधेसी वुद्धिजिविको छ ।

विश्लेषक अहिराज भन्छन्– ‘मधेस नै एउटा यस्तो ठाउँ हो, जहाँ सघन बस्ती छ, राजनीति कता लैजाने भन्ने निर्णयक मत छ, मुलुकको शक्तिका आधारहरु विस्तारै पहाडबाट मधेस झरेको प्रमाणसमेत हो, सबैको मधेस दौडाह । ’

आन्दोलनको शुरुवाती केन्द्र

अहिलेका ठूला राजनीतिक दलको आन्दोलनसमेत मधेसबाटै शुरु गरेका थिए । चाहे त्यो २०२८ सालको झापा आन्दोलन वा कांग्रेसले २००४ सालमा विराटनगरमा शुरु गरेको मजदुर आन्दोलन अथवा ०६३ माघमा रौतहटको गौरमा भएको मधेस आन्दोलन । जुन आन्दोलनका कारण ०६३ सालको अन्तरिम संविधानमा संघीय व्यवस्था राख्ने सहमति बनेको थियो ।

मधेसले साथ नदिएका कारण कांग्रेस, एमाले र माओवादीको समेत आकार घटेको इतिहास साक्षी छ । यसरी हेर्दा मधेसको भूमि र त्यहाँको जनताका कारण नेपाली राजनीतिमा महत्त्वपुर्ण परिवर्तन भएको इतिहास छ । जसका कारण पनि प्रमुख राजनीतिक दलदेखि पूर्वराजासम्मको मधेस दौडाहा शुरु भएको अनुमान गर्न गाह्रो छैन ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  २ : ३० बजे

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर