नुवाकोट– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन ‘त्रिशुली थ्री बी’ जलविद्युत आयोजनाको काममा अवरोध गर्न खोज्ने स्थानीयलाई कार्यस्थलमै नराम्ररी झपारेका छन् ।
उनले महत्वपूर्ण काममा अवरोध सिर्जना गर्न नहुने भन्दै स्थानीयमाथि खनिएका हुन् । उनले भने, ‘तपाईको जग्गामा काम भएको छ ? यस्तो महत्वपूर्ण काम रोक्ने ? अब एक दिन कसैले रोक्यो भने तपाईलाई समातेर थुनिदिन्छु ।’
कार्यस्थलमा एक महिला र अर्का एक पुरुषले जनताको माग पूरा गर्न हामीले अवरोध गरेको आशय पोखिरहँदा प्राधिकरण प्रमुख घिसिङले भने, ‘जनताको होइन तपाइको माग भन्नुस् न ? जनताको माग के हो ? हामी पूरा गर्छौं ।’
विहीबार प्राधिकरण प्रमुख घिसिङ त्रिशूली थि ‘ए’ आयोजनाको उत्पादन सुरुआत गर्न नुवाकोट र रसुवाको सीमा क्षेत्रमा जाने क्रममा निर्माणाधीन त्रिशूली ‘बी’ हब स्टेशनको निर्माणकार्यमा स्थानीयले नियतबस रोकेको थाहा पाएपछि उनी सो स्थानमा पुगेका थिए ।
२ दिनदेखि रसुवाको उत्तरगया गाउँपालिका वडा नम्बर ४ का स्थानीयबासीले अवरोध खडा गरेपछि काम प्रभावित बन्दै गएको थियो । त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउने काम भइरहेको छ । स्थानीयको जग्गा र घरको सुरक्षाकै लागि पर्खाल लगाउने काम भएको प्राधिकरण प्रमुख घिसिङले बताउँदै आफू स्थानीयको मागमा गम्भीर रहेको बताएका छन् ।
प्रतिक्रिया