कसरी महाशक्ति बन्यो अमेरिका ? « Khabarhub

कसरी महाशक्ति बन्यो अमेरिका ?



अमेरिका विश्वको एकमात्र महाशक्ति राष्ट्र हो । विश्व अर्थतन्त्रमा अमेरिकाको बर्चश्व पनि कम छैन । आखिर अमेरिका कसरी विश्वको एकमात्र महाशक्ति बन्यो ? यसका पछाडि अमेरिकाले खेलेको भूमिका उल्लेख्य छ।

अमेरिका आर्थिक र सामरिक हिसाबले विश्वकै अग्रपन्तीमा देखिनु उसले गरेको आर्थिक विकास नै हो । अमेरिकाले विश्व बजारमा पारेको प्रभावलाई अरु कुनै राष्ट्रले जित्न सकेका छैनन् । विश्वको कुल ग्राहस्थ उत्पादनसँग तुलना गर्दा पनि अमेरिकाको मात्रै कुल ग्राहस्थ उत्पादन एक चौथाई हुन पुग्छ । अमेरिकाले आफ्नो राज्य सञ्चालनका लागि चाहिने नीति निर्माण तय गरेर अघि बढेपछि विश्वको शक्तिराष्ट्र बन्न पुग्यो ।

मनोरञ्जनका क्षेत्रमा पनि अमेरिकाले विश्वभर नै वर्चश्व जमाएको छ । अमेरिकन टेलिभिजन, हलिउड फिल्म उद्योग, जाफ, ब्लु, रक र र्‍याप म्युजिकले विश्वमा प्रभाव जमाएको छ ।

यसरी विश्वमाथि नै वर्चश्व कायम गर्न सक्नु अमेरिकाले छोटो समयमै आर्थिक समृद्धिका लागि चालेको कदम नै हो । विकासको गतिमा अघि बढिरहेका राष्ट्रका लागि गत्तिलो उदाहरण बनेको राष्ट्र अमेरिकामा सफलता नेतृत्व तहमा भएको काम गर्ने इच्छाशक्ति नै हो । यही इच्छाशक्तिले देशलाई विश्वको एक नम्बर बनाइराख्न मद्धत गरेको छ।

अमेरिकाले सन् १७७६ जुलाई ४ मा औपचारिक रुपमा स्वतन्त्रताको घोषणा गरेको थियो । परम्परागत शक्तिकेन्द्र युरोपबाट आन्ध्र महासागरको पल्लो किनारमा रहेको अमेरिका त्यसबेला शक्तिशाली मुलुक रहने अवस्था थिएन । अमेरिकाले विभिन्न मुलुकसँग भूभाग खरिद, युद्ध तथा आदिवासीहरुको भूमिमा कब्जा जमाएर अमेरिका पूर्वमा आन्ध्र महासागरको तटदेखि पश्चिममा प्रशान्त महासागरको तटसम्म फैलियो ।

यसबीचमा अमेरिकाले सन् १८०३ मा फ्रान्ससँग लुइजियानाको भूभाग खरिद गर्यो भने सन् १८१८ मा बेलायतसँग सम्झौता गरी रेड रिभर भ्याली आफ्नो मुलुकमा गाभ्यो । त्यस्तै, अमेरिकाले सन् १८१९ मा स्पेनसँग फ्लोरिडाको भूभाग खरिद गर्यो भने सन् १८४५ मा टेक्सासको भूभागलाई आफ्नो मुलुकमा गाभ्यो । अमेरिकाले सन् १८४६ मा बेलायतबाट ओरेगनको भूभाग आफ्नो मुलुकमा गाभ्यो । मेक्सिकोसँगको युद्धपछि सन् १८४८ मा अमेरिकाले दक्षिणी पश्चिमको ठूलो भूभाग मेक्सिकोबाट आफ्नो मुलुकमा गाभ्यो । त्यस्तै, अमेरिकाले सन् १८५३ मा मेक्सिकोसँग गाड्सडनको सम्झौता अनुसार मेसिला भ्याली आफ्नो मुलुकमा गाभ्यो । त्यस्तै, सन् १८६७ मा अमेरिकाले रुससँग अलास्काको भूभाग खरिद गर्यो ।

यस्ता भूभाग खरिद सम्झौता तथा अन्य सन्धीपछि अमेरिकी महादेशमा अमेरिका विशाल मुलुकको रुपमा स्थापित भयो । १८ औं शताब्दीको अन्त्य र १९ औँ शताब्दीको शुरुसम्म भएको औद्योगिक क्रान्तिपछि अमेरिकाको औद्योगिक उत्पादन बढ्दै गयो । यस्तो अवस्थामा अमेरिकालाई आफ्नो बजार विस्तार गर्नका लागि आफ्नो प्रशासनमा रहने भूभाग विस्तार गर्नुपर्ने अवस्था आयो ।

बेलायती साम्राज्यवादविरुद्धको युद्धको जगमा स्थापना भएको अमेरिकाको उच्च तहमा यो समयमा आएर साम्राज्यवादविरोधी भावना बढ्दै गइरहेको थियो । तर, सन् १८६० मा अमेरिकामा भएको गृहयुद्धपछि भने तत्कालिन विदेशमन्त्री विलियम एच स्वेवार्डले अमेरिकाले आफ्नो समृद्धिलाई बढाउन तथा आफ्नो चासो र स्वार्थ रक्षाका लागि अमेरिकाले विश्वमा आफ्नो भूमिकालाई बढाउनुपर्ने पक्षमा थिए । उनकै अग्रसरतामा सन् १९६७ मा अमेरिकाले तत्कालिन रुसी साम्राज्यसँग अलास्काको भूभाग खरिद गर्यो ।

यद्यपि अमेरिकाले ग्रिनल्याण्ड र आइसल्याण्ड तथा क्यारिबियनका अन्य भूभाग पनि अमेरिकामा गाभ्नुपर्ने विषयलाई भने अमेरिकाको कंग्रेसले अस्वीकार गर्यो । औद्योगिक उत्पादन बढ्दै गइरहेका बेला अमेरिकालाई नयाँ बजार तथा औद्योगिक सामग्रीका लागि नयाँ श्रोतको आवश्यकता परिरहेको थियो । यो अवस्थामा तीब्र आन्तरिक मतभेदका बीच अमेरिकाले स्पेनविरुद्ध सन् १८९८ मा युद्धको घोषणा गर्यो । स्पेनसँगको युद्धमा विजयी भएको अमेरिकाले तत्कालिन समयमा स्पेनको नियन्त्रणमा रहेको क्युबा, फिलिपिन्स, पुर्टो रिको, गुआमलगायतका भूभाग आफ्नो अधिनमा लियो ।

त्यसपछिका वर्षमा अमेरिकाले आन्ध्र महासागर र प्रशान्त महासागरका क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा हवाई अधिराज्य, वेक टापु, अमेरिकी सामोआ र पानामा नहरको क्षेत्रमा पनि आफ्नो आधिपत्य कायम गर्यो । त्यस्तै, डोमिनिकन गाणतन्त्रमा पनि अमेरिकाले कब्जा जमायो भने अमेरिकी भर्जिन टापु पनि आफ्नो मुलुकमा गाभ्यो । यससँगै अमेरिकी प्रभाव प्रशान्त महासागर र आन्ध्र महासागरका क्षेत्रमा तीब्र गतिमा विस्तार भयो भने यसले अमेरिकाको आर्थिक र रणनीतिक स्वार्थ रक्षा गर्न पनि सहयोग पुग्यो ।

त्यसपछि पहिलो विश्वयुद्ध शुरु भयो । पहिलो विश्वयुद्धमा अमेरिकाको भूमिका निर्णयक मात्रै रहेन यसले विश्व रंगमञ्चमा अमेरिकाको भूमिकालाई पनि अझ फराकिलो बनायो । सन् १९१८ मा फ्रान्सको राजधानी पेरिसमा पनि तत्कालिन अमेरिकी राष्ट्रपति उडरो विल्सनको अग्रसरतामा भएको शान्ति सम्झौतामा अमेरिकी विदेश नीतिको सबैभन्दा महत्वकांक्षी दस्तावेज तयार पारियो ।

के गर्‍यो लिग अफ नेसन्सले

शान्ति सम्झौता अनुसार विल्सनकै पहलमा विश्वमा फेरि विश्वयुद्ध नहोस् तथा दीर्घकालसम्म शान्ति बनिरहोस् भन्नका लागि लिग अफ नेसन्स नामक अन्तर्राष्ट्रिय संगठनको स्थापना भयो । अन्तर्राष्ट्रिय राजनीतिक तथा कुटनीतिक धारलाई नै उथलपुथल पारी अमेरिकी प्रभाव विस्तार गर्ने महत्वकांक्षाले स्थापना भएको लिग अफ नेसन्समा अमेरिका आफैँ भने सहभागी हुन पाएन ।

तर, तटस्थनीतिको चर्को प्रभाव रहेको अमेरिकी कंग्रेसले भने लिग अफ नेसन्समा अमेरिकाको सहभागितालाई अस्वीकार गर्यो । यसबाट अमेरिकी विदेश नीतिलाई विश्वस्तरमा पुर्‍याउने विल्सनको महत्वकांक्षी योजना असफल भयो ।

सन् १९३० को दशकमा आएको विश्वव्यापी आर्थिक मन्दी र युरोपमा हिटलरको उदयको समयसम्म अमेरिकाले युरोपेली विषयमा उति चासो दिएन । अमेरिकाको ध्यान आफ्नो आन्तरिक तथा क्षेत्रीय वृत्तमा मात्र केन्द्रित रह्यो । दोश्रो विश्वयुद्धको शुरुको समयमा पनि अमेरिकाले आफ्नो व्यापारिक चासो र स्वार्थ अनुसार सैनिक कदम चाल्ने भन्दा पनि व्यापारिक तथा कुटनीतिक माध्यमबाट आफ्नो सहभागिता देखाएको थियो । यसअनुसार अमेरिकाले जापान, जर्मनी, इटाली लगायत एक्सिस मुलुकमाथि नाकाबन्दी लगाउनेजस्ता कदम चालेको थियो ।

सन् १९४१ डिसेम्बर ७ मा जापानी साम्राज्यले अमेरिकाको हवाईमा रहेको पर्ल हर्बरस्थित अमेरिकी नौसैनिक अखडामा आक्रमण गरेपछि मात्र अमेरिका दोश्रो विश्वयुद्धमा प्रत्यक्ष रुपमा सहभागी भएको थियो । त्यसपछि अमेरिकाले सन् १९४१ को डिसेम्बर ११ मा तत्कालिन जर्मनीको तेश्रो राइखमाथि युद्धको घोषणा गरेको थियो ।

दोश्रो विश्वयुद्धमा जापानविरुद्ध प्रशान्त महासागरमा अमेरिकाले नौसैनिक युद्धमा सक्रिय रुपमा सहभागिता जनायो । यसबाट दोश्रो विश्वयुद्धको कुनै समय अपराजित र जित्नै नसकिनेजस्तो देखिएको जापानी साम्राज्य पतन हुँदै गयो । प्रशान्त महासागरीय क्षेत्रमा जापानी साम्राज्यविरुद्धको युद्धमा अमेरिकाको भूमिका सर्वाधिक महत्वपूर्ण छ । सन् १९४५ मा अमेरिकाले जापानका दुई महत्वपूर्ण शहरहरु हिरोसिमा र नागासाकीमा आणविक बम खसालेर आफ्नो शक्ति प्रदर्शन गरिसकेको थियो ।

दोस्रो विश्वयुद्धपछिको सफलता

दोश्रो विश्वयुद्धमा अमेरिका विजयी भएपछि त्यसको नतिजास्वरुप विश्वका विभिन्न स्थानमा अमेरिकाले आफ्ना सैनिक अखडा समेत स्थापना गर्यो । यसअनुसार अमेरिका विश्वको सैन्य शक्तिका रुपमा अगाडि आयो । अझै पनि विश्वका विभिन्न कुनामा अमेरिकाका ८ सयभन्दा धेरै सैनिक अखडाहरु छन् । अमेरिकाले चाहेको समयमा विश्वको जुनसुकै कुनामा समेत सैनिक आक्रमण गर्ने क्षमता राख्छ ।

दोश्रो विश्वयुद्धको समयमा अमेरिकाको न्यू हेम्पसायर राज्यको ब्रेटन उड्स शहरमा आर्थिक सम्मेलनको आयोजना गरियो । सम्मेलनमा ४४ साझेदार मुलुकका ७ सय ३० प्रतिनिधिको सहभागिता थियो । उक्त सम्मेलनमा विश्वयुद्धपछि विश्वभर एकै किसिमको आर्थिक नीति अख्तियार गर्ने सम्झौता भयो । यस सम्झौता अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय पुननिर्माण तथा विकास बैंकको स्थापना गरियो ।

अन्तर्राष्ट्रिय पुननिर्माण तथा विकास बैंक नै पछि गएर विश्वबैंकको स्वरुप लियो । यसबाट अन्तर्राष्ट्रिय मौद्रिक क्षेत्रमा अमेरिकी बर्चश्व कायम भयो । अझै पनि विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषमा अमेरिकी बर्चश्व उस्तै छ ।

दोश्रो विश्वयुद्धपछि स्थापना भएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मासमेत अमेरिका स्थायी सदस्यको रुपमा रहेको छ । अमेरिकाले आफूलाई चित्त नबुझ्ने वा आफ्नो स्वार्थ चासोविरुद्ध जाने जुनसुकै प्रस्तावमासमेत भिटो प्रयोग गर्ने क्षमता राख्छ । यसले अमेरिकाको अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रमा विशेष महत्व राख्छ ।
दोश्रो विश्वयुद्धपछि विश्व दुई ध्रुवमा विभाजित भयो । एकातिर साम्यवादी धारको सोभियत संघ थियो भने अर्कोतर्फ लोकतान्त्रिक मुलुक अमेरिका । त्यसपछि अमेरिका विश्वमा साम्यवाद विरोधी तथा लोकतन्त्रको संरक्षकको समेत भूमिकामा अगाडि आयो ।

अमेरिकाले आफ्ना साझेदारहरुलाई युद्धपछिको पुननिर्माणका लागि आर्थिक सहयोग पनि गर्यो । अमेरिकाले विश्वमा साम्यवादको प्रभाव र विस्तारलाई निरुत्साहित गर्न कोरिया र भियतनाममा युद्ध समेत लड्यो भने पूर्वी युरोपबाट साम्यवादको प्रभावलाई बढ्न नदिनका लागि युरोप तथा उत्तर अमेरिकी मुलुकहरुसँग मिलेर सन् १९४९ मा उत्तर एटलाण्टिक सन्धी संगठन नेटोका नामबाट सैन्य साझेदारी संगठनको स्थापना पनि गर्यो । यसको मुख्य उद्देश्य विश्वमा साम्यवादलाई रोक्नु नै थियो ।

सन् १९९१ मा सोभियत संघ विघटन भएपछि अमेरिका विश्वभर प्रभाव रहेको एकमात्र महाशक्तिको रुपमा अगाडि आयो । हाल अमेरिका विश्वको एकमात्र महाशक्तिको रुपमा छ । सैनिक, कुटनीतिक, आर्थिक तथा अन्य क्षेत्रमा अमेरिकालाई चुनौति दिनसक्ने मुलुकको रुपमा अर्को कुनै मुलुकको निकट भविष्यमा नै उदय भइहाल्ने सम्भावना पनि देखिँदैन ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ८ : १७ बजे

मतदाता भन्छन्– ‘नयाँ भन्दैमा असल र पुरानो भन्दैमा सबै खराब हुँदैनन्’

काठमाडौं- जीवनको हरेक पहिलो अनुभव उत्साहप्रद र कौतुहल हुन्छ ।

अमेरिकामा नेपाली परिवारभित्र विभत्स हत्या: श्रीमती र छोरी मार्नेमाथि गोली प्रहार, एक शिशु सुरक्षित

काठमाडौं – अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्र विभत्स

पुर्ख्यौली कालिगड पेसा संरक्षणमा जुट्दै युवा

भोजपुर– आफ्नै ठाउँमा स्वरोजगार सृजना गर्दै पुर्ख्यौली पेसाको संरक्षणमा युवा

‘भ्रष्टाचारमुक्त शासन र निष्पक्ष निर्वाचन हाम्रो प्राथमिकता’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपालको लोकतन्त्र र स्वतन्त्रताको यात्रा

मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा, यात्री धनुषा प्रस्थान

महोत्तरी– मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका