नारायणहिटी हत्याकाण्ड–'त्रिभुवन सदनभित्र पस्दा मान्छे पूरै सोत्तर भएर लडेको देखेँ' | Khabarhub Khabarhub

नारायणहिटी हत्याकाण्ड–’त्रिभुवन सदनभित्र पस्दा मान्छे पूरै सोत्तर भएर लडेको देखेँ’


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ साल जेठ ६ गते सोमबार । आज प्रकाशित नयाँ पत्रिका दैनिकले बालमन्दिरको भवन प्रहरीलाई दिने तयारी शीर्षकको समाचारलाई मुख्याताका साथ पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

त्यस्तै गरि धादिङ बस दुर्घटनामा आठ जनाको मृत्यु भएको समाचारलाई पनि पहिलो पृष्ठमा प्रकाशन गरेको छ । त्यस्तै ११ वर्षपछि बढ्यो भिसा शुल्क शीर्षकको समाचार प्रकाशन भएको छ ।

समाचारमा जनाइए अनुसार सरकारले ११ वर्षपछि विदेशीका लागि भिसा शुल्क बृद्धि गरेको उल्लेख गरिएको छ । सरकारले विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिँदै आएको छ । नयाँ दस्तुरअनुसार भिसा शुल्क ३० अमेरिकी डलर पुर्‍याइएको छ ।

त्यस्तै नारायणहिटी हत्याकाण्डमा राजा वीरेन्द्रका एडिसी सुन्दरप्रताप रानाले जे देखे शीर्षकमा अर्को समाचार नयाँ पत्रिका दैनिकले प्रकाशन गरेको छ । समाचारमा भनिएको छ–

दरबार हत्याकाण्डमा गोली चल्दै गर्दा नारायणहिटीमा प्रवेश गर्ने शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप रानाले १८ वर्षपछि लेखेको ‘दरबारको दुःखान्त’ पुस्तक बजारमा आउने भएको छ । दरबार हत्याकाण्ड र राजपरिवारसँग आफ्नो सम्बन्धमा आधारित रहेर उनले पुस्तक लेखेका हुन् । तत्कालीन राजा, रानी र युवराजको पाश्र्ववर्तीका रूपमा १७ वर्ष दरबारमा बिताएका रानाले पुस्तकमा दरबारबारे आफ्नो अनुभव सार्वजनिक गर्न लागेका हुन् । किताब पब्लिसर्सले प्रकाशन गरेको सो पुस्तकका केही सन्दर्भ यस्ता छन् :

 त्रिभुवन सदनभित्र पस्दा मान्छे पूरै सोत्तर भएर लडेको देखेँ

स्वचालित हतियार नियन्त्रण गर्न स्वचालित हतियारै चाहिन्थ्यो। तर, गजेन्द्र (दीपेन्द्रका एडिसी)ले अटोमेटिक हतियार ल्याउलान् भनेर पर्खिरहने समय थिएन, म आफ्नो ‘होल्स्टर’मा रहेको पिस्तोल निकाल्दै बिलियर्ड हलतिर दगुरिहालेँ।दगुर्दै जाँदा झ्यालबाट मेरा आँखा हलभित्र सरर्र पुगे, मान्छे पूरै सोत्तर भएर लडेको देखेँ । बिलियर्ड टेबलनजिक वीरेन्द्र सरकारको शरीर समातेर पूर्वअधिराजकुमार धीरेन्द्रका ज्वाइँ डा. राजीव शाही बस्नुभएको थियो। त्यहाँ छिर्ने एउटै मात्र ढोका पूर्वतिर थियो, प्यासेजपट्टि अलिकति घुमेर जानुपथ्र्यो।

म दगुर्दै भित्र पुग्दा केही क्षणअघि मात्र देखिएका डा. शाही त्यहाँ हुनुहुन्नथ्यो। त्यसवेला हलको बाहिरपट्टि गोली चल्दै थियो। हलभित्र पुग्दा भएभरका मानिस भुइँमा लडेका देखेँ। त्यो रगताम्मे माहोलमा सुरुमा त तिरिमिरी भयो। तर, तत्कालै आफूलाई सम्हालेँ। को–को लडे र कसलाई के–के भयो भनेर सोच्ने–हेर्ने समय थिएन। एक–एक सेकेन्डको महत्व थियो। मेरो ध्यान महाराजाधिराजतिर मात्र केन्द्रित थियो। लडेका मानिसलाई नाघ्दै म सरकार भएको ठाउँमा पुगेँ। सरकारलाई गोली लागेको प्रस्ट भइसकेको थियो। बिलियर्ड टेबलनजिक भुइँमा ढलेका राजालाई कसरी बाहिर निकाल्ने र अस्पताल लैजाने भन्ने कुरा मेरा लागि मुख्य चुनौती बन्यो।

पारसले सोधे, ‘ह्वाट इज ह्यापेनिङ ?’

सैनिक अस्पतालमा मेरोनजिक आएर शाहज्यादा पारसबाट सोधनी भयो, ‘सुन्दर, ह्वाट इज द सिचुएसन हियर राइट नाउ ? प्लिज ब्रिफ ह्वाट इज ह्यापेनिङ ?’त्यहाँ उपलब्ध राजपरिवारका सदस्यमध्ये सबभन्दा वरिष्ठ मैले पारसलाई मात्र देखेँ। के भइरहेको छ भनेर सोधेपछि मैले आफ्नो पेसागत कर्तव्यअनुरूप जवाफ दिनुपथ्र्यो, त्यसवेलासम्मका सबै विवरण बताइदिएँ।

यता अरू घाइतेलाई तारन्तार ल्याइँदै थियो। आपत्को त्यो वेला दरबारमा एम्बुलेन्सहरूको व्यवस्था हुन सकेन, तर सुरक्षाकर्मीहरू तुरुन्त परिचालित थिए। घाइतेमध्ये कसैलाई भ्यान, कसैलाई मिनीबस, कसैलाई पिकअप, जे–जे भेटिन्छ, त्यसैमा हालेर अस्पताल ल्याउने काम गरियो।केहीबेरमा श्रुति सरकारलाई ल्याइयो । मौसुफलाई स्टिलको ट्रलीमा राखिएको थियो। अस्पताल ल्याइपु-याउँदा मौसुफ जीवितै होइबक्सन्थ्यो। मैले छेउमा गएर हेरेँ, अतिशय पीडाले छटपटाउँदै ‘दुख्यो! दुख्यो!!’ भन्दै तारन्तार कराइबक्स्यो । त्यो देखेर मैले डा. खगेन्द्रबहादुर श्रेष्ठलाई कोट्याएँ, ‘सी इज अलाइभ डाक्टर सा’ब, केही गर्नुप-यो।’

उहाँले भन्नुभयो, ‘ठीकै छ, उहाँलाई केही भएको छैन, अलेलि दुख्यो होला।’उहाँले यसो भन्नु पनि स्वाभाविकै थियो। किनभने सर्सती हेर्दा अधिराजकुमारीको जिउबाट कतै पनि रगत बगेजस्तो र घाउ लागेजस्तो देखिएको थिएन। यस्तोमा डाक्टरहरूको ध्यान राजा, रानी, युवराज र अरू घाइतेतिर जानु स्वतः बुझ्न सकिने कुरा हो।

खासमा श्रुति सरकारलाई जाँघमा गोली लागेको रहेछ, जो बाहिरबाट हेर्दा देखिएको थिएन। आफ्ना पति गोरखशमशेर राणा गोली लागेर ढलेपछि श्रुति सरकारले छोप्न जाँदा अप्ठ्यारो ठाउँमा लागेको गोलीतिर समयमै कसैको ध्यान पुग्न सकेन। मलाई अहिले पनि सम्झिँदा साह्रै थकथक लाग्छ, डाक्टरहरूले त्यतिवेला प्राथमिकताका साथ हेर्न सकेको भए श्रुति सरकारको ज्यान जाने थिएन कि! तर, सायद नियतिको खेल अर्कै थियो। श्रुति सरकार आफ्नो चोटभन्दा पनि बुबामुमा बितेको आघातले छटपटिएको र कराइबक्सेको होला भन्ठानेछन् डाक्टरहरूले। अन्ततः मौसुफको प्राणपखेरु उडिहाल्यो।

यता कोमामा राखिएका युवराज दीपेन्द्र सरकारको स्वास्थ्य खस्किइरहेको थियो। जुनसुकै वेला निधन हुन सक्ने अवस्था थिय । त्यस्तो अवस्थामा मौसुफपछिका राजगद्दी उत्तराधिकारी एवं तत्कालीन ‘राज्य सहायक’ अधिराजकुमार ज्ञानेन्द्रलाई पूरापूर सुरक्षाका साथ राख्नु हाम्रो कर्तव्य हुन गएको थियो।‘राजा बिते, राजा अमर रहून्’ भन्ने फ्रान्सेली उखान नै छ। वीरेन्द्र सरकार र त्यसपछि दीपेन्द्र सरकारको पालैपालो निधन भए पनि गद्दी खाली राख्न मिल्ने थिएन। त्यसैले तेस्रो राजाको राज्यारोहणका वेला आइहाल्छ भन्ने कुरा सबैले बुझेका थिए। त्यसै सन्दर्भमा ज्ञानेन्द्र सरकारबाट हुकुम भयो, ‘आवश्यक प-यो भने जुनसुकै वेला मलाई फोन गर्नू, म तयारै हुन्छु।’

कोमामा राखिएका दीपेन्द्र सरकारलाई मैले ढोकैबाट हेरेँ। घ्यारघ्यार सास चलिरहेको थियो, दाह्री बढेर कालो भएको थियो र वेलावेलामा तर्सेर झस्किए जसरी शरीर चलाएको देखिन्थ्यो।रातदिनको तनाव र अनिद्राबाट थकित भएर म केहीबेर आराम गर्न राति नारायणहिटी दरबारकै क्वार्टरमा फर्किएको थिएँ, दीपेन्द्र सरकारको निधन भएको खबर छाउनी अस्पतालबाट आयो। जेठ २२ गते बिहान ३ः४५ बजे मौसुफको स्वर्गारोहण भएको डाक्टरहरूले घोषणा गरेका थिए। मैले तुरुन्त फोन गरेर ज्ञानेन्द्र सरकारलाई जानकारी दिएँ। ‘ठीक छ, म आएँ,’ मौसुफले भनिबक्स्यो। अस्पतालसम्म सवारी चलाउन म आफैँ निर्मलनिवास पुगेँ।

बीचमा कान्छाभाइ धीरेन्द्रसँग वीरेन्द्र सरकारको निकै दूरी बढ्यो। तर, उत्तराद्र्धमा फेरि निकटता कायम हुँदै आएको थियो। धीरेन्द्रले ०४५ मंसिर २८ गतेबाट लागू हुने गरी ‘श्री ५ अधिराजकुमार’को उपाधि र त्यो हैसियतमा पाइने सबै किसिमका सुविधाहरू छाड्नुभएको थियो। खासमा त्यो छाड्न उहाँलाई राजपरिवारबाटै दबाब सिर्जना गरिएको थियो। त्यो हुनुभन्दा केहीअघि मैले दरबारको शुक्रबारे पार्टीमा महाराजाधिराज सरकारले राजपरिवारका सदस्य र नातेदारहरूबीच हस्ताक्षर संकलन गरिबक्सेको अनौठो दृश्य देखेको थिएँ। त्यो कुन प्रयोजनका लागि हो भन्ने त्यसबखत खुल्न सकेको थिएन। किनभने हामी सोध्न पाउँदैनथ्यौँ, शाही परिवारले यो भन्ने कुरा भएन। तर, तीन महिनापछि धीरेन्द्र शाहको मानपदवी खोसिएपछि हस्ताक्षर संकलन त्यही प्रयोजनार्थ गरिएको कुरा मैले बल्ल बुझेँ।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ६ : ५१ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार