काठमाडौं– यसवर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भयो । उनीहरुको मृत्यु सगरमाथामा धेरै भीड वा ‘ट्राफिक जाम’ का कारण भएको चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जोडतोडका साथ प्रकाशन र प्रसारण गरे । तर, सरकारी अधिकारी तथा अनुभवी आरोहीहरुले भने उनीहरुको मृत्यु ‘ट्राफिक जाम’ वा भीडका कारण भएको चर्चालाई केबल अड्कलबाजीको संज्ञा दिएका छन् ।
यो आरोहण सिजन सगरमाथा आधार शिविरमै रहेका सरकारका सम्पर्क अधिकारी ज्ञानेन्द्र श्रेष्ठ धेरै भीड वा ‘ट्राफिक जाम’ कै कारण आरोहीहरुको मृत्यु भएको समाचारहरुको खण्डन गर्छन् । ‘यसपटक सगरमाथा आरोहण गर्नका लागि छोटो समयका लागि मात्र मौसम अनुकूल थियो, त्यसकारण त्यहाँ केही भीड देखियो । तर, बाहिर चर्चा भएजस्तो भीडकै कारण कसैको पनि मृत्यु भएको छैन’ खबरहबसँगको कुराकानीमा उनले भने ।
सगरमाथामा यो सिजन धेरै आरोहीको मृत्युको एकमात्र कारण ट्राफिक जाम नरहेको नेपाल सरकारले गत विहीबार नै स्पष्ट पारिसकेको छ । उच्च हिमाली भेगमा लेक लागेर, स्वास्थ्यका कारण र खराब मौसमका कारण उनीहरुको मृत्यु भएको सरकारी भनाइ छ ।
भारतमा आएको फानी नामक समुद्री आँधीबाट सगरमाथा आरोहणका लागि अनुकूल मौसम प्रभावित भएकाले दुई दिन आरोहणसम्बन्धी सबै गतिविधी स्थगित गरिएको थियो । सगरमाथा आरोहणको प्रारम्भिक अनुकूल मौसम मे १६ रहेको श्रेष्ठले जानकारी दिए । त्यसपछि दोश्रो अनुकूल मौसम मे महिनाको २० देखि २४ सम्म थियो ।
सोही अनुसार यो सिजन मे २१ का दिन १२२ आरोही, मे २२ का दिन २९७ आरोही, मे २३ का दिन १७२ आरोही र मे २४ का दिन बाँकी आरोही समगरमाथाको शिखरमा पुग्ने तय भएको थियो । २० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेम्बा दोर्जे शेर्पा पनि ट्राफिक जामकै कारण आरोहीको मृत्यु भएको अस्वीकार गर्छन् ।
‘हो, आरोहणका क्रममा धेरै भीड थियो । तर भीडकै कारण यतिका सङ्ख्यामा आरोहीको ज्यान गएको चाहीँ होइन’ उनी भन्छन् ।
‘सडकमा जाम हुँदा कसैको ज्यान जान्छ ? ट्राफिक जामकै कारण तपाईं सर्वोच्च शिखरमा पुग्ने पहिलो व्यक्ति नबन्नुहोला, त्यो आफ्नो ठाउँमा छ, तर यसैका कारण मानिसको ज्यानै त जाँदैन नी !’
सगरमाथा आरोहणको निरन्तरताका लागि आरोहीहरु अनुकूल मौसम पर्खेर बसेका थिए । उनले भने, ‘यो वर्ष थोरै दिन मात्र सगरमाथा आरोहणका लागि अनुकूल मौसम थियो । आरोहीले सगरमाथा आरोहणलाई पछि सार्न नसक्ने हुँदा यो वर्ष संसारले देख्नेगरी भीड हुन पुगेको हो ।’ यद्यपि पेम्बाले सगरमाथा आरोहण दलले भीडको व्यवस्थापन गर्ने हरसम्भव प्रयास गरेको बताए ।
‘आरोहण दलमा सहभागी आरोहीलाई स–सानो समूहमा विभाजन गरिएको थियो । तर, अन्य वर्षको तुलनामा यो वर्ष आरोहीको संख्या धेरै नै रहेकाले यो रणनीति त्यति सफल हुन सकेन ।’
उनका अनुसार कुनै भागदौड नभएको खण्डमा बाहिर चर्चा गरिएजस्तो ट्राफिक जामकै कारण सगरमाथा आरोहणका क्रममा कसैको पनि ज्यान जाँदैन । सडकमा हुने जामसँग तुलना गर्दै उनी भन्छन्, ‘सडकमा जाम हुँदा कसैको ज्यान जान्छ ? ट्राफिक जामकै कारण तपाईं सर्वोच्च शिखरमा पुग्ने पहिलो व्यक्ति नबन्नुहोला, त्यो आफ्नो ठाउँमा छ, तर यसैका कारण मानिसको ज्यानै त जाँदैन नी !’
टिम लिडरका रुपमा सगरमाथाको आरोहण दलको नेतृत्व गर्दै आएका उनी थप भन्छन्, ‘म हिमाल आरोहणबारे राम्रोसँग जानकार छु, आरोहणका बेला हिउँले हात खाने, हिउँका कारण दृष्टिमा समस्या आउने, हात र औंलामा हिउँको संक्रमण हुने गर्छ । यस्ता साइड इफेक्टका कारण केही समस्या त आउँछ, तर मानिसको ज्यान भने जाँदैन ।’
हावाहुरी जस्तो सगरमाथाको मौसममा अकस्मात आउने परिवर्तन, हिमनदी र हिमझरना फुट्ने कारणबाट पनि आरोहीहरुले ज्यान गुमाउने गरेका छन् । ‘हामीले आरोहीको ज्यान गुमाउने वास्तविक कारणको पहिचान गर्नुपर्छ । ट्राफिक जामलाई यसको दोष दिएर केही हुन्न’ उनी भन्छन् ।
यो सिजन नै सगरमाथाको सफल आरोहण गरेकी कान्छीमाया तामाङ पनि ट्राफिक जामकै कारण आरोहीको मृत्यु भएको स्वीकार्न तयार छैनन् ।
‘वसन्त ऋतुको समयमा सगरमाथा चढ्ने आरोहीहरुको सङ्ख्या धेरै नै हुने गरेको छ । मौसम राम्रो भएकाले यो वर्षको मे २२ र २३ – दुई दिनमा आरोहीको सङ्ख्या अरु बेलाको भन्दा धेरै थियो । आरोहीहरु त्यही दुई दिन सगरमाथाको शिखरमा पुग्न हतार गरिरहेका थिए’ खबरहबसँगको कुराकानीमा उनले खुलाइन् । यद्यपि यही ट्राफिक जामकै कारण आरोहीको मृत्यु भएको उनी पनि अस्वीकार गर्छिन् ।
यसै सिजनको मे २२ का दिन सगरमाथाको सफल आरोहण गरेका एचआईभी संक्रमित आरोही गोपाल श्रेष्ठले आरोहणको बीचमा २ घण्टा कुर्नुपरेको थियो । श्रेष्ठ पनि ट्राफिक जामका कारण मानिसहरुको मृत्यु भएको कुरा खण्डन गर्छन् ।
१४ पटक सगरमाथाको आरोहण गरिसकेका आरोही तथा गाइड फुर्बा तेन्जिङ शेर्पा भने आरोहणका क्रममा आरोहीको ज्यान जानुमा हिमाली पर्यावरण तथा आवश्यकताबारे केही थाहा नभएका अनुभवहीन गाइड र आरोहीका कारण सगरमाथामा यतिको ठूलो सङ्ख्यामा आरोहीको ज्यान गएको बताउँछन् ।
मे महिनाको दोश्रो साताबाट आरोहीले सगरमाथाको आरोहण गर्न शुरु गर्ने भएकाले उनी सगरमाथाको भीडलाई कम गर्न मे महिनाको पहिलो साताबाट डोरी टाङ्न शुरु गर्नुपर्ने सल्लाह दिन्छन् । अरुजस्तै उनी पनि ट्राफिक जामकै कारण आरोहीको ज्यान गएको स्वीकार गर्न तयार छैनन् ।
सगरमाथामा भीडबारे वर्षौंदेखि अध्ययनरत विज्ञ तथा अनुभवी आरोही अलान अर्नेटले पनि बिजनेश इनसाइडरसँगको कुराकानीमा ‘मौसम अनुकूल सिमित दिन, आरोहीको अधिक सङ्ख्या, अनुभवहीन आरोही र अपर्याप्त सहयोग लगायतका कारण आरोहीको ज्यान गएको’ बताए ।
आरोहणका क्रममा मारिएकाहरु अधिकांशलाई अक्सिजनको कमीका कारण लेक लागेको विश्वास गरिन्छ । लेक लागेका कारण आरोहीलाई टाउको दुख्ने, वान्ता हुने, सास फेर्न गाह्रो हुने मानसिक गडबडी हुने इत्यादी हुन्छ ।
पर्वतारोहण विज्ञहरुका अनुसार हिमाली क्षेत्रमा ज्यान जाने कारणहरु
– अपर्याप्त तालिम
– अनुभवहीन आरोही
– अक्सिजनलगायतका सहायता सामग्रीको अभाव
– पुराना रोगहरु
– हिमपहिरो, हिमआँधी लगायतका दुर्घटनाहरु
सगरमाथामा ‘ट्राफिक जाम’ हल्ला कसरी फैलियो ?
मे २३ का दिन निर्मल पुर्जा नाम गरेका आरोहीले ट्विटरमार्फत् सगरमाथाको हिलारी स्टेपमा मानिसहरुको भीड भएको तस्वीर सार्वजनिक गरे । त्यसलगत्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सोही तस्बीर र आरोहीको ज्यान गएको घटनालाई जोडेर समाचार सम्प्रेषण गर्न थाले ।
जुन ३ का दिन उनले इन्स्टाग्राममा पोष्ट गर्दै ट्राफिक जामकै कारण मानिसहरुको मृत्यु भएको कुरा असत्य रहेको भन्दै खण्डन गरे ।
‘तथ्यपरक रुपमा विश्लेषण गर्दा राम्रा उपकरण, मौसम पूर्वानुमान र व्यावसायिक रुपमा आरोहण गर्ने भएकाले सगरमाथा तुलनात्मक रुपमा सुरक्षित बन्दै गएको देखिन्छ’ अर्नेट भन्छन् ।
अर्नेटका अनुसार ‘सन् १९२३ देखि सन् १९९९ सम्म १,१६९ सगरमाथा आरोहीमध्ये १७० जनाको ज्यान गएको थियो । यो भनेको १४.५ प्रतिशत हो । तर, सन् २००० देखि सन् २०१८ सम्म ७,९९० आरोहीमध्ये केबल १२३ जनाको ज्यान गएको थियो । यो केबल १.५ प्रतिशत हो ।’
प्रतिक्रिया