काठमाडौं– प्रधानमन्त्री कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिता जेठ अन्तिम सातादेखि शुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना र महाकाली स्पोर्टस सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता हुने भएको छ ।
चौथो संस्करणको प्रतियोगिता कन्चनपुरको महेन्द्रनगरमा जेष्ठ २८ गतेदेखि शुरु हुने आयोजकले जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगितामा ७ प्रदेशका ६ वटै टोली र १ विभागीय टोलीको सहभागिता रहने जानकारी दिएको हो । विजेताले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने राखेप सदस्यसचिब केशबकुमार बिष्ट बताए ।
८८ लाख खर्च हुने अनुमान गरिएको यस प्रतियोगितामा राखेपले ३५ लाख तथा व्यवस्थापनको जिम्मा पाएको महाकाली स्पोर्टस सोसाइटीले बाँकी रकम प्रायोजनमार्फत संकलन गर्नेछ । सोसाइटीका अध्यक्ष सुमन भट्टले कन्चनपुरले प्रतियोगिता आयोजनाको जिम्मा पाएकोमा स्थानीयमा खुसी रहेको बताएका छन् । केही दिनभित्रै टिमको जर्सी, खेल तालिका र ट्रफी सार्वजनिक गर्ने बताएका छन् ।
प्रतिक्रिया