लोकपर्व जितियाको व्रत आजदेखि शुरू « Khabarhub

लोकपर्व जितियाको व्रत आजदेखि शुरू


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ ।

यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ ।

पण्डित गणेश झाका अनुसार आज शनिबार सूर्योदय भएदेखि शुरू भएको यो व्रत भोलि आइतबार दिउँसो ३ बजेपछि सम्पन्न हुनेछ । जितिया पर्व मैथिल संस्कृतिको पर्वमध्ये एउटा प्रमुख पर्व हो ।

यसलाई ‘जिमुतवाहन’ व्रत पनि भनिन्छ। सन्तानको सुख शान्ति र चिरायूका लागि यो पर्व मनाउने चलन छ । जितिया पर्व यस कारणले पनि प्रसिद्ध छ की यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास छ ।

विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ। यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खर जितिया गरेकी रहेछिन् भन्ने मान्यता पनि रहेको छ ।

भविष्य पुराणमा वर्णन गरेअनुसार जिमुतवाहन शालिवाहन राजाका पुत्र थिए, उनीमाथि महादेवको असीम कृपा रहेकाले उनको नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायू हुने वरदान भगवानबाट प्राप्त गरेका थिए ।

आज अष्टमीका तिथिमा व्रतार्थीले पूर्णतया निराहार बसी साँझपख जिमुतवाहन, चिल र स्याल विषयक कथा सुन्ने गर्दछिन् । कथा सुन्ने बेलामा व्रतार्थीले आफ्नो पाइतालामुनि एउटा खर राख्नुपर्ने हुन्छ ।

कथा समाप्त भएपछि पाइतालामुनिको खरलाई छ टुक्रा पारी तीनतीन पटक गरी शरीरको अगाडि र पछाडि फ्याँकिने गरिन्छ । यो भावले पारिवारिक जीवन सुखमय होस् भन्ने कामना बोकेको पाइन्छ ।

नवमी तिथिमा स्नानादी गरी पवित्र भई जिमुतवाहन, चिल, स्याल र दिवङ्गता महिलालाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गर्ने गरिन्छ । यसरी यो व्रतको पारण गरिन्छ । पारणका दिन अङ्कुरी (भिजाइएको केराउ) सहित पकाएको साग खाने प्रचलन रहेको छ । यसप्रकार यो व्रतले करीब तीन दिनको अवधि समेटेको हुन्छ ।

जितिया व्रत कुनै शास्त्रीय देवताको नभई लोकदेवता जितवाहनको आराधना गर्ने भएकाले यसलाई जीवितपुत्रीका व्रत पनि भनिन्छ । यस व्रतको पहिलो दिन सप्तमी तिथिमा नहायखाय, तेलखरी, पितराइन र ओठङ्नको विधि गर्ने चलन छ ।

जितिया पर्वमा प्रयुक्त हुने तोरी वा सस्र्यूको तेल, पिना, घिरौलाको पात, नैवेद्यका वस्तुहरू स्वास्थ्य र संस्कृतिका दृष्टिले महत्वपूर्ण छन् । व्रतको एक दिन पहिले कोदोको रोटी र माछा तथा एक दिन पछि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले मिथिलाको खानपान र विविधताको पहिचान पनि गराउँछ ।

यस्तै ओठङ्नको समयमा पानी खाने बेलामा भन्ने मन्त्रले दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयताको बोध गराएको हुन्छ । चिल र स्याललाई नैवेद्य चढाइनुले पशुपक्षीप्रति समेत आत्मीयता र श्रद्धा प्रदर्शित भएको देखिन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ९ : ५२ बजे

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्धि : डब्ल्यूएचओ

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा- कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौं- पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा यसको

फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी

काठमाडौं – केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

काबुल- पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरुलाई सशक्त बनाउनको लागि