मिक्लाजुङ हत्याकाण्डः ‘पारिवारिक कलहले भयानक दुर्घटना’ « Khabarhub

मिक्लाजुङ हत्याकाण्डः ‘पारिवारिक कलहले भयानक दुर्घटना’


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्याले आरुबोटेका स्थानीय मात्रै होइन आम नेपाली शोकमा छन् ।

उक्त घटना भएको केही समयपछि घटनास्थल नजिकै सोही गाउँपालिका–७ लिम्बाका ३१ वर्षीय मानबहादुर माखिमले आत्महत्या गरेपछि घटना फिल्मी शैलीमा झैँ थप रहस्यमय बनेको छ ।  यद्यपि प्रारम्भिक अनुसन्धान र प्रमाणले भने घटना पारिवारिक कलहका कारण भएको र आत्महत्या गर्नेबाटै हुन पुगेको देखिएको प्रहरीको दाबी छ । बुधबार राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री रामबहादुर थापालेसमेत प्रारम्भिक तथ्यलाई पुष्टि हुने गरी पारिवारिक बेमेलकै कारण घटना भएको देखिएको बताए । उनले घटनाको सूक्ष्म अध्ययन भइरहेकाले दोषी पहिचान हुने आश्वासनसमेत दिए ।

घटनामा मानबहादुर एक्लै थिए वा अरु पनि संलग्न थिए भन्नेबारेमा भने खुलेको छैन । विभत्स घटनाबाट भागेर जोगिएकी १४ वर्षीय सीता खजुमको बयानलाई नै मुख्य आधार बनाएर प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । आत्महत्या गरेका मानबहादुरको शव नजिकै रगत लागेको खुकुरी, टिसर्ट, लाइट फेला परेकाले पनि अनुसन्धान उनीमाथि नै केन्द्रित गरेको छ । प्रमाणले उसैले घटना घटाएको जस्तो देखिने तर सबै कोणबाट अनुसन्धान भइरहेकाले अनुसन्धानपछि मात्रै सबै कुरा खुल्ने पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए ।

जिल्लास्थित प्रहरी कार्यालय, सङ्घीय प्रहरी एकाइ धरान, प्रदेश नं १ को प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली अनुसन्धानमा खटिएको छ । अनुसन्धानमा कुकुरसमेत परिचालन गरिएको छ । सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शरदकुमार खत्रीले पारिवारिक झगडाले भयानक दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए । अनुसन्धानमा समस्या नआओस् भनेर यसपटक घटनाको प्रकृति मुचुल्का उठाउँदा चिकित्सकको टोलीसमेत लगेको थियो । शव परीक्षण रिपोर्टले मानबहादुरले आफैँ झुण्डिएर आत्महत्या गरेको पुष्टि भएको छ ।

मलेसिया गएर फर्किएका मानबहादुरको विवाह मनकुमारी फियाखसँग विसं २०६८ मा भएको थियो । मलेसियामा रहँदा नै पारिवारिक किचलो शुरु भएको बताए पनि के कारण भनेर यकिन नभएको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनले परिवारका अन्य सदस्यलाई पैसा पठाउने गरे पनि श्रीमतीलाई दिने गरेका थिएनन् ।

पारिवारिक कलहले श्रीमती माइतमा गएर बसेकी थिइन् । श्रीमती घर जान नमानेपछि उनीहरुबीच पारपाचुकेको प्रक्रिया चल्दै थियो । प्रहरी नायब उपरीक्षक कुँवरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको बुझिएको बताए ।

अनुसन्धान साँघुरियोः प्रहरी प्रवक्ता

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सूक्ष्मरुपमा अनुसन्धान भइरहेकाले अनुसन्धान साँघुरिँदै गएको बताए ।

पोखरेलले भने, “आत्महत्या गरेको व्यक्ति र अपराधमा परेका व्यक्तिको रिलेसनका विषयमा सूक्ष्म अध्ययन भइरहेको छ, अहिले नै यसै भन्न मिल्दैन, अनुसन्धान भने साँघुरिएको छ ।”

यसपाली प्रहरी अली सजक भएर अनुसन्धानमा लागेको छ । निर्मला काण्डमा अलिकती हतारिँदा परिणाम नकारात्मक निस्किएकाले पनि अहिले प्रहरी सचेत हुँदै घटनाका विवरण सार्वजनिक गरिरहेको छ । पोखरेलले आत्महत्या गर्ने व्यक्ति र मृतक परिवारका बीचमा विषय जोडिएको बताए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ८ : ५५ बजे

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका