रुस नेपालसँग अन्तरिक्ष प्रविधिबारे अनुभव साट्न चाहन्छ-वरिष्ठ रुसी अन्तरिक्षयात्री | Khabarhub Khabarhub

रुस नेपालसँग अन्तरिक्ष प्रविधिबारे अनुभव साट्न चाहन्छ-वरिष्ठ रुसी अन्तरिक्षयात्री



अन्तरिक्षमा २५२ दिन १७ घण्टा ३८ मिनेट बिताएका रुसी अन्तरिक्षयात्री भिक्टोर पेट्रोभिच सभिनिख प्रथम अन्तरिक्षयात्री युरी गाग्रिनको शालिक अनावरणका लागि हाल नेपालमा छन् । फ्लाइट इन्जिनियरका रुपमा अन्तरिक्ष अभियानको उनीसँग १० वर्ष लामो अनुभव छ । उनले विभिन्न अभियानका क्रममा तीनपटक अन्तरिक्षयात्रा गरिसकेका छन् ।

उनको सोयुज टि–१३/सल्युट–७ नामक अभियान अन्तरिक्ष अभियानको इतिहासमै सबैभन्दा खतरनाक मानिन्छ । अन्तरिक्ष यात्राको सफलताका लागि उनलाई तत्कालिन सोभियत संघले प्रदान गर्ने हिरो अफ द सोभियत युनियन, सोभियत संघको विज्ञान प्रतिष्ठानले प्रदान गर्ने सिओल्कोभ्स्की गोल्ड स्टारलगायत विभिन्न सोभियत तथा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भइसकेका छन् ।

अन्तरिक्षयात्रा सम्बन्धी उनका विभिन्न पुस्तकहरु पनि प्रकाशित छन् । हाल उनी रुसको भूमापन तथा नक्शाविज्ञान विश्वविद्यलयमा कार्यरत छन् । दरबारमार्गमा रहेको खबरहबको कार्यालयको भ्रमण गरी उनले ईश्वरदेव खनाललाई आफ्नो अन्तरिक्षयात्रासम्बन्धी अनुभव सुनाएका छन् ।

प्रस्तुत छ कुराकानीको सम्पादिन अंश

तपाईले अन्तरिक्षमा २५२ दिन १७ घण्टा ३८ मिनेट बिताउनु भयो । अन्तरिक्षमा तपाईको अनुभव कस्तो रह्यो ?

अन्तरिक्षमा मेरो अनुभव अनौठो रह्यो । त्यहाँ बेग्लै किसिमको सोचाई र मानसिक प्रतिबिम्ब आउने रहेछ । फ्लिाइट इन्जिनियरका रुपमा मेरो काम सोयुज टि–४, सोयुज टि–१३ र सोयुज टिएम–५ को नियन्त्रण गर्नु रहेकाले मेरो पुरा ध्यान भने त्यसको नियन्त्रणमा मात्र केन्द्रित थियो ।

त्यहाँ नसोचिएका के कस्ता कुरा थिए ?

अन्तरिक्षमा मेरा लागि नसोचिएका कुराहरु धेरै नै थिए । अन्तरिक्षबाट पृथ्वी कस्तो देखिने रहेछ भन्ने मेरालागि सबैभन्दा ठूलो उत्सुकताको विषय थियो । तर, मेरो काम अन्तरिक्ष उडानको नियन्त्रण गर्नु रहेकाले उडानका संयन्त्र सुचारु रुपमा सञ्चालन हुन्छ भन्ने निश्चित गर्नुमा मेरो पूर्ण ध्यान केन्द्रित थियो ।

तपाईले अन्तरिक्षको कुरा गर्नुभयो । अन्तरिक्षबाट पृथ्वी कस्तो देखिने रहेछ ? अन्तरिक्षबाट हेर्दा पृथ्वी साँच्चै किताबमा पढेजस्तै रहेछ वा फरक रहेछ ?

(हाँसो) साँच्चै मैले भूगोलमा पृथ्वी गोलो छ भनेर पढेको थिएँ । अन्तरिक्षबाट हेरेपछि मात्रै मैले थाहा पाएँ पृथ्वी गोलो नै रहेछ ।

अन्तरिक्ष यात्राका क्रममा तपाइले कुनै बेला सगरमाथा देख्नुभयो ?

मैले अघि पनि भनेँ मेरो काम अन्तरिक्ष यात्राको नियन्त्रण गर्नु रहेकाले सम्पूर्ण ध्यान त्यसतर्फ थियो । शुरुमा सगरमाथातर्फ मेरो ध्यान जान सम्भव पनि थिएन ।

हाम्रो उडान तत्कालिन सोभियत संघ र मङ्गोलियाको संयुक्त अन्तिरिक्ष अभियान अन्तर्गत त्यहाँ रहेका अन्तरिक्षयात्रीलाई लिएर आउनु थियो । त्यसैले हाम्रो सारा ध्यान त्यसतर्फमात्र केन्द्रित रह्यो । अन्तरिक्षबाट हेर्दा पृथ्वीमा हेर्दा कुनै पनि देशका सीमाना हुँदैनन् ।

तरपनि केही दिनपछि हामीले नदी र पहाडहरुलाई आधार बनाएर हामीले सगरमाथा पनि ठम्यायौँ । अर्को कुरा, हाम्रो पहिलो अन्तरिक्ष अभियान हिउँदको समयमा थियो । हिउँदमा सबै हिमालहरु हिउँले ढाकिने भएकाले पनि शुरुमै सगरमाथा ठम्याउन सकिएन ।

अन्तरिक्षयात्राका क्रममा सबैभन्दा ठूला जोखिम चाहीँ के हुने रहेछन् ?

अन्तरिक्ष आफैँमा जोखिमको केन्द्र हो । त्यसैले त्यहाँ पुग्नु उसैपनि जोखिमपूर्ण छ । त्यहाँ चारैतिर उल्का र अन्तरिक्षका चट्टानहरु घुमिरहेका हुन्छन् । त्यसले पनि जोखिम बढाउँछन् । एउटा सानो असावधानी पनि जोखिमपूर्ण हुन्छ ।

कुन कुराले तपाईलाई अन्तरिक्षयात्री बन्न प्रेरणा दिएको थियो ?

युरी गाग्रिन र अरु केहीले त्यसबेला अन्तरिक्षको यात्रा गरिसकेका थिए । म त्यसबेला अन्तरिक्षयानसम्बन्धी उपकरण बनाउने कारखानामा काम गर्थेँ । अन्तरिक्ष अभियान मेरालागि उत्सुकताको विषय पनि थियो । मैले पत्र लेख्दै त्यहाँका अधिकारीलाई अन्तरिक्षयात्री बन्ने आफ्नो अभिप्रायबारे जानकारी गराएँ ।

त्यसपछि आवश्यक मेडिकल चेकजाँच र आवश्यक प्रक्रियापछि अन्तरिक्षयात्री बन्न मलाई १९७८ मा बाटो खुल्यो । मैले सन् १९८९ सम्म अन्तरिक्ष अभियानका लागि काम गरेँ ।

नेपालले हालै अन्तरिक्षमा एउटा भू उपग्रह प्रक्षेपण गरेको छ, यसले नेपालजस्तो सानो मुलुककका लागि कतिको अर्थ राख्छ ?

नेपालका लागि यो महत्वपूर्ण छ । हरेक कुराको प्रयास शुरुमा सानै हुन्छ । यो नेपालको पहिलो प्रयास हुनुपर्छ । नेपालले अन्तरिक्षमा मात्रै केन्द्रित गरी कुनै संयन्त्र बनाएर यसलाई थप प्रभावकारी बनाउन सक्छ । नेपालको भूउपग्रहले सूचना क्षेत्रमाका साथै पृथ्वीको तस्बीर खिच्न समेत सक्छन् ।

तपाई नेपालीहरुसँग केही कुरा शेयर गर्न सक्नुहुन्छ

साँच्चै भन्दा मलाई नेपाल र यसको अर्थतन्त्रबारे केही थाहा छैन । तैपनि नेपालले अन्तरिक्षमा आफ्नै भू उपग्रह प्रक्षेपण गरी अन्तरिक्ष क्षेत्रमा चासो दर्शाएको छ, जुन निकै महत्वपूर्ण छ । रुस भविष्यमा नेपालसँग यस विषयमा सहकार्य गर्न तयार छ । नेपालले चाहेमा रुस अन्तरिक्ष प्रविधिबारे ज्ञान तथा अनुभव शेयर गर्न सदैव तयार नै रहेको छ । र मलाई आशा छ, नेपालले यस विषयमा भविष्यमा अझ प्रगति गर्दै जानेछ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  १२ : ५८ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले