विद्यासुन्दरको सक्रियता–स्थानीयको समस्या बुझ्न वडावडामा पुगेर स्थलगत अनुगमन | Khabarhub Khabarhub

विद्यासुन्दरको सक्रियता–स्थानीयको समस्या बुझ्न वडावडामा पुगेर स्थलगत अनुगमन


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगर क्षेत्रभित्र भएका विकास निर्माण र सेवा प्रवाहको स्थलगत अनुगमन सुरु गरेका छन् ।

यस अघि वडा नम्बर ९, १६ र २६ को स्थलगत अनुगमन गरेका शाक्यले मंगलवार वडा नम्बर ७ का विभिन्न स्थानको स्थलगत अनुगमन गरेका छन् ।

मेयर शाक्यले आफु निर्वाचित भएर आएपछिका अढाई वर्षमा वडामा भए–गरेका विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन अनुगमनमा निस्किएको जानकारी दिए ।

‘हामीले प्रत्येक वडाको विकास निर्माणका लागि बजेट पठाउने गरेका छौँ,’ उनले भने, ‘केन्द्रबाट पठाएको बजेट र वडामार्फत पनि परिचालन गरेको बजेटबाट कति काम सम्पन्न भयो । कति सम्पन्न हुन बाँकी छ भन्ने जानकारी लिनका लागि यो अनुगमन गरेका हौँ । यस्ता खाले अनुगमन ३२ वटै वडामा गर्ने तयारी भएको छ ।’ उनले यस्ता खाले अनुगमनलाई निरन्तरता दिने पनि बताए ।

मेयर शाक्यसहितको टोलीले महानगरपालिकाले दिएको ७ करोड बजेटमा निर्माण हुँदै गरेको मैजुबहाल चक्रपथ, चावहिल, मित्रपार्क, जयवागेश्वरी, सिफल, कुमारीगाललगायतका स्थानको अनुगमन गरेको थियो ।

लामो समयदेखि नगर विकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मैजुबहाल चक्रपथको अनुगमन गर्दा केही स्थानीयवासीले छिटो काम सम्पन्न गर्नुपर्ने भन्दै मेयर शाक्यसँग गुनासो गरेका थिए । केहीले घर अगाडि नै विजुलीका तारहरु अलपत्र पारेको, निर्माणकार्यमा ढिलासुस्ती गरेको जस्ता आक्रोस व्यक्त गरेका थिए ।

अनुगमनकै क्रममा भेटिनुभएका मैजु बहाल चक्रपथ सडक सुधार तथा ढल निर्माण अनुगमनसमितिका संयोजक समेत रहेका पूर्व डिआइजी रवीन्द्र पण्डितले मेयरसहितको टोली आफ्नो टोलमा अनुगमनका लागि आएकोमा खुशी व्यक्त गरे ।

‘पहिला यहाँको बाटो ६ मिटर भन्दा सानो थियो, अहिले यहाँका सडक विस्तार गर्ने क्रममा केही विग्रिएका छन् । अबको केही महिना भित्रमा यहाँका सबै सडक कालोपत्रे होलान भन्ने हामीले अपेक्षा गरेका छौँ,’ पण्डितले भने, ‘सडक वत्ती सार्नेलगायतका काममा सम्वन्धित निकायले त्यति ध्यान नदिदा थप समस्या भएको छ । आज मेयरज्युलगायतको टोलीले अनुगमन गरेपछि सम्वन्धित निकायको ध्यान जानेछ भन्नेमा हामी ढुक्क छौँ ।’

उनले महानगरपालिकाले ७ करोड बजेट दिने भएपछि आफूहरु उत्साहित भएर काममा लागेको भन्दै यस्ता खाले अनुगमन समय–समयमा गर्न आग्रह गरे ।

मेयर शाक्यले पनि स्थानीयका गुनासा सुन्दै छिटो–भन्दा छिटो काम सम्पन्न गर्ने गरी आफू अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले मैजु बहाल क्षेत्रकै लागि थप एक करोड बजेट छुट्याएको भन्दै विकास निर्माणका काममा अवरोध हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

स्थानीयले विकास निर्माणका काममा भएका ढिलासुस्तीलगायतका बारेमा गरेका गुनासोलाई आफूले सकारात्मक रुपमा लिएको भन्दै शाक्यले त्यसले जनप्रतिनिधिलाई थप जिम्मेवार बनाउने बताए ।

‘हामी अहिले काठमाडौँ महानगरपालिकाले गरेका काम र गरिरहेका दुबै कामको अनुगमन गरिरहेका छौँ,’ उनले भने, ‘भइसकेका काम भन्दा पनि भइरहेका र हुन बाँकी रहेका वा जनताले दुःख पाएका ठाउँको कामलाई छिटो सम्पन्न गर्नका लागि पनि हामीले स्थलगत अनुगमन गरेका हौँ । हामीले यहि बाटोका पोल सार्न विद्युत प्राधिकरणलाई ४३ लाख दिइसकेका छौँ । तर, त्यहाँबाट भएको ढिलासुस्ती र बाटो विस्तारका क्रममा देखिएका केही अवरोधले पनि थप समस्या भएको छ । तर, हामी यो वर्षको अन्त्यसम्ममा यहाँका सबै बाटो कालोपत्रे गरिसक्छौँ ।’

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ११ : ५३ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन