श्रम स्वीकृति नलिई नेपालमा काम गर्दै उत्तर कोरियाली डाक्टर | Khabarhub Khabarhub

श्रम स्वीकृति नलिई नेपालमा काम गर्दै उत्तर कोरियाली डाक्टर


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली भूमि प्रयोग गरी ह्याकिङ लगायत अवैध गतिविधिमा संलग्न उत्तर कोरियालीहरु स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमासमेत अवैध रुपमा काम गरिररहेको खुलासा भएको छ । खबरहबले यसअघि उत्तरकोरियालीहरु काठमाडौं र ललितपुरमा बसेर संसारभर ह्याकिङमा संलग्न रहेको खुलासा गरेको थियो।

उत्तरकोरियाली चिकित्सकहरु स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमासमेत बिना स्वीकृति काम गरिरहेको भेट्टिएको छ। उत्तर कोरियाली नागरिकबाट सञ्चालित तनहुँको दमौलीस्थित ‘ने कोर्यो’ अस्पतालमा व्यवसायिक भिसामा आएका उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृतिबिनै सर्वसाधारणको स्वास्थ्य परीक्षणलगायत काम गरिरहेका छन्।

‘ने कोर्यो’ अस्पतालमा १० जना उत्तर कोरियालीहरुले काम गर्दै आएका छन् । तीमध्ये ८ जना चिकित्सक र दुई जना प्रशासनिक क्षेत्रमा कार्यरत छन् । उनीहरूमध्ये एलएम कुम सील ( Lm Kum Sil), काङ्ग र्‍योन ओके ( Kang Ryhon OK), किम जोङ (Kim Jong) र रि यु हुई (Ri You Hui) गरी चार जनाको मात्र श्रम स्वीकृति छ । यी बाहेक अरु सबै गैर कानुनी रुपमा काम गर्दै आएका छन्।

‘श्रम स्वीकृतिविनै कुनैपनि विदेशी नागरिकले काम गर्न पाउँदैनन्,’ श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक लालमणि ओझाले भने, ‘चार जना बाहेक अरु उत्तर कोरियाली नागरिकले अहिलेसम्म श्रम स्वीकृति लिएको हामीसँग रेकर्ड छैन।’

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने–‘कुनै पनि विदेशीले श्रम स्वीकृति नलिइ काम गर्न पाउँदैनन् । श्रम स्वीकृत दिने काम श्रम विभागको हो । यदि कसैले श्रम स्वीकृति लिएको छैन भने उनीहरु अवैध हुन् ।’

विदेशी चिकित्सकले नेपालमा काम गर्न चाहेमा अनुमति लिनुपर्ने बाध्यकारी प्राबधान छ । तर उत्तर कोरियाली चिकित्सक सबैले अनुमति नलिएको मेडिकल काउन्सिलले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिलकी प्रशासकीय अधिकृत अनिता लामा भन्छिन्–‘केही उत्तरकोरियन चिकित्सकहरुले नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिएर काम गरिरहेका छन् तर उनिहरुले श्रम स्वीकृति लिएका छन् या छैनन् त्यो चाहिँ हामीलाई थाहा हुँदैन ।’

सबै चिकित्सकले चिकित्सकीय सेवा दिनका लागि मेडिकल काउन्सिलबाट प्रमाण पत्र लिनुपर्ने हुन्छ । तर, ने कोर्यो अस्पतालका केही चिकित्सले सो प्रमाणपत्र समेत नलिएको पाइएको छ । त्यस्तै, अस्पतालमा लगानीकर्ताका रूपमा बिजनेस भिसा लिएका उत्तर कोरियालीहरु मात्र नभएर डिपेन्डेन्टमा आएकाहरूसमेतले काम गरिरहेका छन् । डिपेन्डेन्टमा आउने विदेशी कसैले पनि काम गर्न पाउँदैनन् ।

सन् २०१५ को जुनमा पाठेघरको अप्रेसन गर्ने क्रममा एक महिलाको मृत्यु भएपछि ने कोर्योका कोरियाली चिकित्सक विवादमा परेका थिए । पछि अनुसन्धान प्रतिबेदनले चिकित्सकको क्षमतामा प्रश्न उठाएको थियो ।

ने कोर्यो अस्पतालले स्थापनादेखि नै आफ्नो व्यवसाय घाटामा रहेको विवरण प्रत्येक वर्ष करदाता सेवा कार्यालयलाई बुझाउने गरेको छ । उत्तर कोरियाले नेपालमा रहेका सम्पूर्ण व्यवसाय घाटामा देखाई कर छल्ने तर लगातार नयाँ नयाँ व्यापारको आवरणमा अन्तर्राष्ट्रिय नाकाबन्दी छल्दै नेपालमा लगानी गर्नुलाई शंकाको दृष्टिले हेरिएको छ ।

‘उनीहरु काठमाडौं छाडी यहाँ आएर घाटाको अस्पताल चलाएर किन बसिरहेका छन्, हामीलाई पनि शंका लागेको छ,’ नाम नबताउने सर्तमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी अधिकारीले भने ।

यता, प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी भन्छन्–‘भिजिट भिसामा आएर कुनैपनि विदेशीले काम गर्न पाउँदैनन् । तर यो विषय अध्यागम विभागले हेर्ने भएकाले हामीलाई कुनै सूचना या आदेश आयो भने पक्राउ गरेर अध्यागमनमा विभागसम्म पुर्‍याउन सक्छौं ।’

उत्तर कोरियाली चिकित्सकको रहस्यम मृत्यु

उत्तर कोरियाली चिकित्सकरु नेपाली नागरिक धर्म चन्दद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर अस्पतलामा केहिसमय अघिसम्म अवैध रूपमा काम गरिरहेपनि हालैमात्र फर्किएका छन्। श्रम विभागको तथ्यांक अनुसार सेफर अस्पतालका सञ्चालक धर्म चन्दले शुरुमा उत्तर कोरियालीलाई दक्षिण कोरियाली नागरिकको नाममा श्रम स्वीकृति लिएको देखिन्छ। उनले जम्मा एक जना उत्तर कोरियाली चिकित्सकको मात्र मेडिकल काउन्सिलमा दर्ता गराएर काम लगाएका थिए ।

सेफरले लामो समयसम्म उत्तर कोरिया हो या दक्षिण केही नखुलाई कोरियाली पद्धतिको उपचार हुने भन्दै स्थानीय सर्वसाधरणलाई झुक्याउने किसिमको प्रचार गर्ने गरेको थियो। चन्दको अस्पतालमा कार्यरत तीन जना उत्तर कोरियाली चिकित्सकमध्ये २०७४ फागुनमा किम सोङको रहस्यमय मृत्यु समेत भएको थियो ।

उनको मृत्युबारे प्रभावकारी अनुसन्धान नगरी कानुनी व्यबस्था विपरित कञ्चनपुरमै सुटुक्क अन्तिम संस्कार गरिएको थियो । चन्दबाट सञ्चालित सोही अस्पतालले उनको हृदयाघातबाट निधन भएको भन्दै अन्तिम संस्कार गरेको थियो । सोङको रहस्यमय मृत्युपछि सोही अस्पतालमा कार्यरत उनकी पत्नी जुङ सुनलाई उत्तर कोरियाली दूतावासले स्वदेश फर्काएको थियो ।

चन्द र उत्तर कोरियाली साझेदारीमा हाल खटपट आएको र उनी अहिले उत्तर कोरियाली ह्याकिङमा संलग्न कम्पनीबाट देखिने गरी बाहिरिए पनि अनुसन्धान जारी रहेको सुरक्षा स्रोतले बतायो ।

चन्दको गतिविधि निगरानी मै रहेको अनुसन्धान संलग्न प्रहरी स्रोतले भन्यो, ‘चन्दको उत्तर कोरियाली कनेक्सन, व्यापारिक साझेदारी र उत्तरकोरियालीमाथि अन्तर्राष्ट्रिय नाकाबन्दी छल्न अस्पतालदेखि आइटीसम्मको साझेदारीलगायत उत्तर कोरियाली डाक्टरको रहस्यमय मृत्युपछि नेपालमै गुपचुप अन्तिम संस्कार गरिनु र उनकी श्रीमतीलाई हतार–हतार स्वदेश फर्काइनु सबै सामान्य देखिँदैन ।’

उत्तर कोरियाली नाकाबन्दी छल्न सक्रिय व्यक्ति, संस्था र देशले नै अन्तर्राष्ट्रिय नाकाबन्दी लाग्ने राष्ट्रसंघीय व्यवस्था छ । उत्तर कोरिया संसारकै सबैभन्दा कठोर नाकाबन्दीको सामना गरिरहेको देश हो।

चन्द र उत्तर कोरियालीबीचको व्यवसायिक खटपट उत्तर कोरियालीले ह्याकिङ गर्ने गरेको खुलेर हो या नाफा/घाटाको बाँडफाँडमा विवाद हो वा अरुको आखाँ छल्न यस्तो देखाउन खोजिएको हो स्पष्ट भइसकेको छैन अनुसन्धान जारी छ, सुरक्षा स्रोतले भन्यो।

यो पनि पढ्नुहोस्

नेपालमा बसेर संसारभर निशाना बनाउँदै उत्तर कोरियाली ह्याकर

नेपालमा उत्तर कोरियाली ह्याकरको गतिविधिप्रति अमेरिकाको ध्यानाकर्षण

नेपालस्थित उत्तर कोरियाली दूतावासलाई सवारी बिक्रीमा रोक, राजदूतकै कार खरिद रोकियो

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ११ : १२ बजे

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर