गत बिहीबार हर्मुजको स्ट्रेटमा इरानी फौजले अमेरिकी जासुसी सैनिक ड्रोन खसालेपछि मध्यपूर्वमा तनाव उत्कर्षमा छ । इरानले आफ्नो जलक्षेत्रमाथिको आकाशमा उडिरहेका बेला अमेरिकी ड्रोन खसालेको दाबी गरेको थियो । अमेरिकाले भने आफ्नो सैनिक ड्रोन अन्तर्राष्ट्रिय आकाशमा उडिरहेका बेला इरानले क्षेप्यास्त्र प्रहार गरी खसालिदिएको आरोप लगाउँदै आएको छ ।
इरानले ११ करोड अमेरिकी डलर पर्ने आरक्यू-४ ए ग्लोबल हक नामक अमेरिकी सैनिक ड्रोनलाई ३ खोरदाद नामक क्षेप्यास्त्र प्रयोग गरी खसालेको दाबी गरेको थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार उक्त ड्रोन जमिनबाट २२ हजार फिटको उचाईमा रहेका बेला जमिनबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्रले हिर्काएको बताउँदै आएका छन् ।
आरक्यू-४ ए ग्लोबल हक ड्रोन खसालिएको यो इतिहासकै पहिलो घटना हो । इरानसँग ३ खोरदाद बाहेक अरु पनि अत्याधुनिक क्षेप्यास्त्र रहेको बताइन्छ ।
अमेरिकी सैनिक ड्रोन खसालेको केही समयलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका सैनिक निशानामा सैन्य आक्रमण गर्न लागेको तर, पछि ट्रम्पकै ठाडो निर्देशनमा उक्त आक्रमण रोकिएको समाचार पनि सार्वजनिक भएको थियो । ट्रम्पले पछि ट्वीट गर्दै उक्त आक्रमणबाट १५० जनाभन्दा धेरैको ज्यान जाने भएकाले उक्त आक्रमण रोकिएको जनाएका थिए ।
दुबै मुलुकले यसअघि बारम्बार युद्ध नचाहिरहेको बताउँदै आएका छन् । इरान अमेरिकी सैनिक आक्रमणसँग कुनै हालतमा बच्न सक्ने अवस्थामा हुने छैन । यही कारण इरानले अमेरिकासँग युद्ध गर्न चाहँदैन ।
राजनीतिक रुपमा अस्थिर रहेको इराकसहित सिरिया, यमनलगायतका मध्यपूर्वी मुलुकहरुमा जारी द्वन्द्वका कारण मध्यपूर्व निकै अस्थिर रहँदै आएको छ । इराक र अफगानिस्तानमा आक्रमण गरेर द्वन्द्वमा फसिरहेको अमेरिका पनि इरानमा आक्रमण गरी बलिरहेको आगोमा घिउ थप्ने पक्षमा देखिँदैन । यद्यपि आवश्यक परेको खण्डमा सैनिक विकल्प भने खुला रहेको दुबै मुलुकले बताउँदै आएका छन् । मध्यपूर्वमा अझै अर्को युद्धको खतरा टरिसकेको छैन ।
इरान आसपास अमेरिकाका दर्जनौं सैनिक अखडाहरु छन् । पाकिस्तान, अफगानिस्तान, कुवेत, कतार, संयुक्त अरब इमिरेट्स (युएई), इराक, सिरिया, टर्कीको इन्सर्लिक विमानस्थल, पूर्वी टर्कीलगायतका दर्जनौं सैनिक अखडामा अमेरिकी सेनाको उपस्थिती छ । अमेरिकाले इरानसँगको युद्धको समयमा हिन्द महासागरमा रहेको डिएगो गार्सिया, साइप्रसमा रहेको सैनिक विमानस्थल तथा लाल सागरमा रहेको सैनिक अखडाको पनि प्रयोग गर्न सक्छ । त्यस्तै, फारसको खाडीमा हालैमात्र अमेरिकाले लडाकु विमानवाहक नौ सैनिक पानीजहाज र अन्य युद्धपोत तैनाथ गरेको छ ।
इरानसँग युद्ध भइहालेको खण्डमा विश्व शक्ति मुलुक अमेरिकाले आफ्नो विशाल सैनिक तागत प्रदर्शन गरी केही दिन, साता वा महिनाभित्रै इरानको सत्ता ढाल्ने क्षमता राख्छ । अमेरिकी आक्रमणमा बेलायतसहित नेटोका अन्य मुलुक पनि संलग्न हुनसक्छन् । त्यस्तै, अमेरिकी आक्रमण लगत्तै इरानमा कुर्द, अरब, बलोचलगायत आत्मनिर्णयका लागि संघर्षरत समूहहरुले पनि तत्कालै विद्रोह गर्नसक्ने सम्भावना रहन्छ । आत्मनिर्णयका लागि संघर्षरत समूहले यो युद्धको फाइदा उठाउन सक्छन् ।
अमेरिकी आक्रमणलगत्तै इरानभित्रै एकभन्दा धेरै मोर्चामा अर्को गृहयुद्ध शुरु हुनसक्छ । यो गृहयुद्ध इरानको सत्ता पूर्ण रुपमा च्युत भएपनि लामो समयसम्म जारी रहनसक्छ । यसबाट दशौं हजार इरानी सैनिक तथा सर्वसाधारणको ज्यान जाने निश्चित छ । तैपनि युद्धको समयमा इरानको सत्ताले अमेरिकी निशानामा आक्रमण गर्न सक्दो प्रयास गर्ने निश्चित छ । इरानसँग भारी सङ्ख्यामा भूमिगत स्थानमा लामो दुरीका अत्याधुनिक क्षेप्यास्त्र रहेको बताइन्छ । जसले मध्यपूर्वका अमेरिकी सैनिक निशानामा आक्रमण गर्ने कोशिस गर्नेछ ।
त्यस्तै, इरानले अमेरिकासँग युद्ध भएमा हर्मुजको स्ट्रेट बन्द गरिदिने चेतावनी दिँदै आएको छ । हर्मुजको स्ट्रेट भएर विश्वको कुल २० प्रतिशत तेल निर्यात हुने गरेको छ । युद्धका बेला इरानले त्यसलाई बन्द गर्ने हरसम्भव प्रयास गर्ने छ । अमेरिकाका लागि यो तेलमार्गलाई सुचारु गर्नु प्रमुख चुनौति हुनेछ । अमेरिका र इरानबीचको युद्धको केन्द्रविन्दु हर्मुजको स्ट्रेट आसपास भएको खण्डमा यसले विश्वमा तेलको मूल्य बढ्ने र त्यसले विश्वमा उर्जा असुरक्षा पैदा गर्न सक्छ ।
इरानको सबैभन्दा शक्तिशाली सैन्य दस्ता रिभल्यूसनरी गार्ड कप्र्स आईआरजीसी छापामार युद्धमा अब्बल मानिन्छ । सिरिया र इराकमा जारी युद्धका क्रममा आईआरजीसीका सैनिक अधिकारी तथा सैनिक जवानहरुले युद्धको अनुभव गरिसकेका कारण अमेरिकासँग युद्ध भएको खण्डमा यो अनुभव काम लाग्नसक्छ । आइआरजीसीले इरानसहित छिमेकी मुलुकहरु इराक, अफगानिस्तान, पाकिस्तानलगायतका मुलुकबाट लाखौं शिया स्वयंसेवाक लडाकु जम्मा पारी अमेरिकाविरुद्धको युद्धलाई अघि बढाउन सक्छ ।
त्यसबाहेक धर्मतन्त्रमा आधारित इरान विश्वको एकमात्र शिया मुलुक हो । अमेरिकासँगको युद्धका बेला इरानले आफ्नो प्रभावमा रहेका विश्वभरका उग्रवादी शियाहरुलाई अमेरिकी निशानामा आक्रमणका लागि प्रयोग गर्ने प्रयास गर्नेछ ।
खासगरी अमेरिकी साझेदार मुलुक साउदी अरबको पूर्वी कतिफ प्रान्तमा रहेका साउदी अधिराज्यप्रति निकै असन्तुष्ट शियाहरुले विद्रोह गर्नसक्ने सम्भावना रहेको बताइन्छ । त्यसबाहेक इरानले अफगानिस्तान र पाकिस्तानका शिया लडाकुलाई हतियार उपलब्ध गराएर त्यहाँ रहेका अमेरिकी सैनिक निशानामा आक्रमणका लागि प्रयोग गर्नसक्छ ।
अफगानिस्तान वा इराकजस्तै इरान कमजोर मुलुक होइन । इरान आफैंमा क्षेत्रीय शक्ति हो भने मध्यपूर्वमा सक्रिय विभिन्न लडाकु समूहहरु इरानप्रति वफादार छन् । लेबनानको शिया लडाकु समूह हेज्बोल्लाह, यमनमा सक्रिय हुथी लडाकु समूह, इराकका शिया लडाकु समूहहरु इरानप्रति वफादार रहँदै आएका छन् । इरानले ती लडाकु समूहलाई प्रयोग गरी अमेरिकी वा अमेरिकी साझेदार मुलुकमाथि आक्रमण गर्नसक्ने सम्भावना रहन्छ । यसमध्ये इराकमा रहेका शिया लडाकुले इराकस्थित अमेरिकी सैनिक निशानामा आक्रमणलाई तिब्र बनाउने सम्भावना छ भने हेज्बोल्लाहले अमेरिकाको सबैभन्दा महत्वपर्ण साझेदार इजरायललाई लक्षित गरी आक्रमण गर्नसक्छ भने यमनका हुथी विद्रोहीले साउदी अरबमा आफ्ना आक्रमणलाई तिब्र बनाउन सक्छन् ।
अमेरिकी आक्रमणबाट इरानको सत्ता ढलेमा हाल त्यहाँ कुनै पनि किसिमको विपक्षी समूह नरहेको अवस्थामा त्यसले अराजकता सिर्जना गरी मध्यपूर्वको दोश्रो सबैभन्दा ठूलो जनसङ्ख्या रहेको मुलुक इरानमा राजनीतिक शून्यतालाई उत्पन्न हुने र त्यसलाई शिया उग्रवादी समूहले भर्नसक्ने अर्कोतर्फ चिन्ता छ ।
इरान र अमेरिकाबीच युद्ध भइहाले त्यसले न त इरान, न त अमेरिका कसैलाई पनि फाइदा हुँदैन । सोही कारण दुबै मुलुक हाल प्रत्यक्ष युद्धको पक्षमा देखिँदैनन् ।
प्रतिक्रिया