नेपालमा वामपन्थी नेताको चहलपहल बढ्यो, चे ग्वेभाराकी जेठी छोरी काठमाडौंमा « Khabarhub

नेपालमा वामपन्थी नेताको चहलपहल बढ्यो, चे ग्वेभाराकी जेठी छोरी काठमाडौंमा


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्युबाली क्रान्तिका क्रान्तिकारी नेता चे ग्वेभाराकी जेठी छोरी अलेइडा ग्वेभारा मार्च नेपाल आएकी छिन् ।

क्युबाप्रतिको ऐक्यबद्धताका लागि आयोजित क्षेत्रीय सम्मेलनमा सहभागी हुन उनी नेपाल आएकी हुन् । नेपाल आउनुअघि मार्चले भारतीय कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता गरेकी थिइन् ।

नेपालमा वामपन्थीको दुई तिहाई नेतृत्वको सरकार रहेको बेला पछिल्लो समय साम्यवादी तथा वामपन्थी मुलुकका नेता तथा प्रतिनिधिको भ्रमण बाक्लिँदै गएको छ । केही दिन अघिमात्र दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुएराले नेपालको भ्रमण गरेका थिए ।

उनी युवासम्बन्धी एक सम्मेलनमा भाग लिन नेपाल आएका थिए । नेपाल भ्रमणमा रहँदा गुएराले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अन्य नेताहरुसँग भेटवार्ता गरेका थिए । त्यसलगत्तै क्रान्तिकारी नेता चे की छोरीले नेपाल भ्रमण गरेकी हुन् ।

शुक्रबार काठमाडौंस्थित मल्ल होटेलमा आयोजित क्युबाप्रति ऐक्यबद्धताका लागि नवौं एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा सहमागी हुन भन्दै उनी नेपाल आएकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मार्चले आफ्ना बाबु चे ग्वेभाराको छविलाई बजारीकरण गरिएको प्रति असन्तुष्टि प्रकट गरिन् ।

‘उनका क्रान्तिकारी विचार र दर्शनलाई प्रतिबन्ध लगाइएको छ । उनी यस्तो तिरस्कारका लागि योग्य छैनन्’ उनले भनिन्,‘ जे भएपनि उनले दुश्मनविरुद्ध लडेका थिए । त्यसैले उनीहरुबाट योभन्दा राम्रो अपेक्षा गर्न पनि सकिन्न ।’

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले दशकौं देखिको नाकाबन्दी र प्रतिबन्धका बावजुद क्युबाले विश्वसामु अन्यायपूर्ण व्यवहारले शान्ति तथा स्वतन्त्रताप्रेमी जनताको चेतनालाई मार्न नसक्ने उदाहरण प्रस्तुत गरेको उल्लेख गरे ।

‘क्युबाविरुद्धको नाकाबन्दीले क्युबाली जनताको धैर्यता, राष्ट्रवादी दृष्टि र सार्वभौमिकता रक्षालाई कमजोर बनाउन सकेको छैन’ प्रचण्डले भने ।

उनले क्युबाविरुद्धको नाकाबन्दी मानवअधिकारको विश्वव्यापी मूल्य मान्यताको विपक्षमा रहेको समेत जनाए ।

‘संयुक्त राष्ट्रसंघ महासभाले क्युबाविरुद्ध लगाइएको नाकाबन्दी फुकुवा गर्न हरेक वर्ष भारी बहुमतसहित प्रस्ताव पारित गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय समुदायले क्युबाविरुद्धको नाकाबन्दीको विरोध गरेको करिव २६ वर्ष भइसकेको छ । विश्वव्यापी आह्वानका बावजुद क्युबामाथिको नाकाबन्दी जारी छ । क्युबाको पक्षमा नेपालले स्पष्ट रुपमा निरन्तर मत दिइरहेको छ’ उनले भने ।

कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि क्युबाविरुद्ध लगाइएको नाकाबन्दीको विरोधमा ऐक्यबद्धता प्रकट गरे ।

सम्मेलन आयोजनाका लागि नेकपाका नेता पशुपति चौलागाईको संयोजकत्वमा समिति बनेको थियो । सम्मेलनमा नेपालसहित क्युवा, ग्रिस, भारत, अष्ट्रेलिया, अमेरिकासहितका १७ मुलुकका प्रतिनिधिको सहभागिता थियो ।

क्युबाली प्रतिनिधिमण्डमा चे ग्वेभाराकी छोरी अलेइडा ग्वेभारा मार्च सहित अमेरिकामा पक्राउ परेका क्युबाली जासुस फर्नाडो गोन्जालेजको समेत कार्यक्रममा सहभागिता थियो ।

पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा शनिबार साझा धारणा सार्वजनिक गर्दै सम्मेलन समापन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।

चे ग्वेभाराकी छोरी मार्च नेपाल आएसँगै वामपन्थीहरुले चे को क्रान्तिकारी  दर्शनबारे चर्चा गरिरहेका छन् । वामपन्थी युवा नेताहरुले चेकी छोरीलाई नेपालमा स्वागत गर्दै सामाजिक सञ्जालमा तस्वीर पोस्ट गरेका छन् ।

को हुन् चे ग्वेभारा ?

सन् १९२८ मा अर्जेन्टिनाको रोजारियो प्रान्तमा जन्मेका अर्नेस्टो ‘चे’ ग्वेभारा विभिन्न मुलकको क्रान्तिमा सहभागी भएका थिए । अर्जेन्टिनामा जन्मिए पनि चे क्युवाको क्रान्ति सकिएपछि क्युवामा मन्त्री बनेका थिए ।

सन् १९५३ मा मोङ्काडा ब्यारेकमा गरिएको आक्रमण असफल भएपछि पक्राउ परी बन्धक बनाइएको क्युबाली नेता फिडेल क्यास्ट्रो क्युबाबाट भागेर मेक्सिको पुगेका बेला उनको भेट फिडेलसँग भएको थियो । यही क्रममा सन् १९५६ मा चेसहित, फिडेल, उनका भाइ राउल क्यास्ट्रोसहित ८२ जना छापामार नेताहरु ग्रान्मा डुङ्गामा मेक्सिकोबाट क्युबा फर्केका थिए ।

१९५९ जनवरी १ मा तत्कालीन क्युबाली सैनिक तानाशाह फुल्हेन्सियो बाटिस्टाको सत्ता च्यूत गराउन सफल क्रान्ति सम्पन्न भएपछि ग्वेभारा विश्वका अन्य क्षेत्रमा क्रान्ति विस्तार गर्न लागि परेका थिए । सोही क्रममा सन् १९६५ मा तत्कालिन कङ्गोली शासक मबुतु सेसे सेकोविरुद्धको छापामार युद्धमा सहभागी हुन अफ्रिका पुगेका थिए ।

कङ्गोली छापामार युद्ध असफल भएपछि सन् १९६६ मा उनी ल्याटिन अमेरिकी मुलुक बोलिभिया पुगी त्यहाँ सक्रिय करिब ५० छापामारसँग मिलेर युद्ध लडेका थिए ।

छापामार युद्धकै क्रममा सन् १९६७ मा बोलिभियाको दुर्गम ला हिग्वेइरा गाउँमा अमेरिकी गुप्तचर निकाय सीआइएका जासुसले उनलाई नियन्त्रणमा लिई हत्या गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ६ : ४४ बजे

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा