काठमाडौं – अमेरिकी लिग एलए ग्यालेक्सिका स्ट्राइकर जाल्टन इब्रामोभिचले पूर्व क्लब म्यान्चेस्टर युनाइटेडले चाहेको खण्डमा आफू फर्किन तयार रहेको बताएका छन् ।
एलए ग्यालेक्सिमा उनको सम्झौता आगामी नोभेम्बरमा सकिँदैछ । ३७ बर्षीय स्वडीस खेलाडी इब्रामोभिचले अमेरिकी लिगमा खेलेका ४९ खेलमा ४६ गोल गरेका छन् । उनी सन् २०१८ मा अमेरिका पुगेका थिए ।
‘प्रिमियर लिगमा म सजिलै खेल्न सक्छु । त्यसैले यदि युनाइटेडले मलाई लिन चाहन्छ भने म जान तयार छु’, इब्रामोभिचले भने ।
इब्रामोभिचले सन् २०१६–०१७ मा प्रिमियर लिगको सिजनमा २८ गोल गरेका थिए । २ बर्षको सम्झौता गरेर प्रिमियर लिग क्लब युनाइटेडमा आबद्ध भएका उनी घुँडामा चोट लागेपछि युनाइटेडसँगको सम्झौताबीचैमा छाडेका थिए ।
अहिले उनलाई युनाइटेडले आवद्ध गरेपनि जनवरीसम्म भने खेल्न पाउने छैनन् । युनाइटेडमा रहँदा इब्रामोभिचले लिग कप, कम्युनिटी सिल्ड र युरोपा लिग उचालेका थिए । गएको डिसेम्बरमा उनले यो सिजनका लागि ग्यालेक्सिसँग सम्झौता गरेका थिए ।
प्रतिक्रिया