बारीमा एक दाना स्याउको मूल्य एक रुपैयाँ « Khabarhub

बारीमा एक दाना स्याउको मूल्य एक रुपैयाँ


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- खानामा रसिलो र स्वादिलो हुने बाजुराको हावापानीमा फलेको प्राङ्गारिक स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ ।

बाजुरामा फलेको प्राङ्गारिक स्याउ रसिलो र स्वदिष्ट हुने भएकोले धेरैको रोजाइमा पर्ने गरेको हो । वर्षभरी भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीयवासी नजिकिँदै गरेको वडादशैँको मुखमा स्वदेशमै उत्पादन भएको स्याउ पहिलो पटक आफ्नै बजारमा पाउँदा खुशी छन् ।

बाजुराका उत्तरपूर्वी क्षेत्रका स्वामीकात्तिक, जुकोट, जगन्नाथ, पाण्डुसैनलगायतका गाउँमा यो वर्ष स्याउको उत्पादन राम्रो छ । ‘यो स्याउ खानामा निकै रसिलो र स्वादिलो छ’, कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत मीनप्रसाद जैशीले भने, ‘भारतबाट आयातित स्याउमा ‘हरमन’ वा अन्य विषादीको प्रयोग हुने गरेकामा यहाँको स्याउ कुनै पनि विषादी प्रयोग नगरी उत्पादन हुने गरेको छ ।’

बजारीकरणको समस्याः बाजुरामा उत्पादन भएको स्याउ तराईका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेपनि यसको बजारीकरण गर्न भने समस्या छ । स्याउ फल्ने गाउँसम्म सडकको पहुँच पुग्न नसकेको र भएका सडक पनि बिग्रेभत्किएका कारण स्याउको बजारीकरण हुन नसक्दा स्थानीय कृषकले यसको उचित मूल्य पाउन सकेका छैनन् ।

दुई सय ३० हेक्टर जग्गामा गरिएको स्याउ खेतीबाट योवर्ष एक हजार ५० मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । पहिलो पटक स्वामीकात्तिक सहकारी संस्थाको पहलमा ‘जसले खायो, उसले स्वाद थाहा पायो’ भन्ने नारासहित त्यहाँ उत्पादन भएको स्याउ तराईका शहरी क्षेत्रमा बजारीकरण गर्न थालिएको छ । सो संस्थाको पहलमा ६० क्वीन्टल स्याउ धनगढी पुर्‍याइएकामा तीन दिनमा झण्डै ३६ क्वीन्टल बिक्री भइसकेको छ ।

सो स्याउ काठमाडौँ पठाउने तयारी पनि संस्थाले गरेको छ । यसको बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्रले किसानलाई कार्टून उपलब्ध गराउनुका साथै ढुवानीमा सहयोग गरेको जनाएको छ ।

बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्मको सडक बिग्रेका कारण त्यहाँ उत्पादन भएको स्याउ धनगढीसम्म पुर्‍याउन कर्णाली नदी पारीका कालीकोट, दैलेख, सुर्खेत, बाँके हुँदै बर्दियाको बाटो प्रयोग गर्नुपरेको छ । बाजुराको स्वामीकार्तिकबाट धनगढीसम्म स्याउ पुर्‍याउन एक हप्ताको समय लागेको थियो ।

एक दाना स्याउको मूल्य एक रुपैयाँ

स्याउ फल्ने गाउँमा यतिबेला एक दाना स्याउ एक रुपैयाँमा पाउने गरेको छ । ‘गाउँमा एक रुपैंयामा एक दाना पाउँदा सदरमुकाम मार्तडीमा दश रुपैयाँमा एक दाना पाउँछ’, सहकारीका अध्यक्ष शाहीले भने, ‘यस्तो अवस्थामा सडकको पहुँच पुर्‍याउन सकिए किसानले आफ्नो स्याउको उचित मूल्य पनि पाउँथे ।’

सहकारी संस्थाले भने ग्रेडिङ गरिएको स्याउ किसानबाट प्रतिकिलो १५ देखि २५ मा खरीद गरेर धनगढी बजारमा पुर्‍याएको हो । धनगढी बजारमा उक्त स्याउको मूल्य एक किलोको १०० पाँच किलो भन्दा बढी लिनेलाई प्रतिकिलो ९० र प्रति कार्टून २० किलोको पोका लिनेलाई प्रतिकिलो रु ७५ तोकिएको छ । भारतबट आयातित स्याउको भने स्थानीय बजार मूल्य प्रतिकिलो रु १०० देखि रु १८० सम्म छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १२ : २४ बजे

तीन वर्षीया बालिका गरिमा चौधरी हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक