लिम्पियाधुरा, कालापानी र लिपुलेख भन्ज्याङ समेटेको क्षेत्रमा भारतीय अतिक्रमणको कथा आजको होइन।
सुगौली सन्धीको कागतमा मसीसम्म सुक्न नपाउँदै शुरु भैसकेको थियो, आज भन्दा दुई सय बर्ष अघिदेखि। सन् १८१९ देखि इस्ट इन्डिया कम्पनीले प्रकाशन गर्न लगाएका आधिकारिक नक्साहरुमा यस क्षेत्रको सम्पूर्ण या आंशिक भाग भारतीय भूभागमा समावेश गरिदै आएको थियो।
सांकेतिक चाल थियो भोलीको लागि । १ सय ४० बर्षपछि, आज भन्दा झन्डै ६० बर्ष अगाडी त्यो भोली आईपुग्यो। त्यो दिन नक्साबाट ठूलो छलाङ लगाएर भारतले जीवन्त रुपमा त्यस क्षेत्रमा प्रवेश गर्यो।
त्यस समय सम्म शासक फेरिइसकेका थिए–साम्राज्यज्यबादी अधिनायक अंग्रेज सरकारको स्थानमा लोकतन्त्र शासक थियो। तर, छिमेकीको शरीरमा बुट जुत्ताको हीलले कुल्चदै आफ्नो महत्वाकांक्षाको चुलीमा पुग्न त्यसले सहायता गर्छ भने के साम्राज्यवादी के लोकतन्त्रवादी यी केवल नाममा मात्र फरक भई दिन्छन्।
विश्व शक्ति हुने उन्मादले भरिएको दिमागलाई रोक्ने कुनै नैतिक पर्खाल हुँदैन। छिमेकी तुलनात्मक रुपमा धेरै गुणा सानो र त्यो भन्दा पनि आर्थिक र अरु सबै क्षेत्रमा अत्यन्त दुर्बल भएको परिस्थितिमा शान्तिपूर्ण तरिकाले दुई राष्ट्रको सह-अस्तित्व हुने केवल सिद्धान्तमा मात्र सीमित हुन्छ।
अलमोडामा नेपालको पराजय पछि नेपाली सेनालाई काली नदी पार गर्न बाध्य बनाइएको थियो। त्यही समयदेखि काली नदी अनौपचारिक रुपमा अंग्रेजले खुम्च्याइ दिएको नेपालको पश्चिमी सीमा बन्यो, पछि सुगौली सन्धीले त्यसलाई आधिकारिकता दियो।
अंग्रेज त्यो बेलासम्म लिम्म्पियाधूरा नामसँग परिचित नभएता पनि त्यस धूरा काली नदीको मुहान भएकोमा जानकार भैसकेका थिए । त्यस्तै लिपुलेक बारे पनि । त्यस क्षेत्रमा यात्रा गर्न सुगम नभनौ तर सबैभन्दा कम कठिन भन्ज्याङ मानिन्थ्यो लिपुलेक। अरु भन्ज्याङहरु हिउँ परेर बन्द भएको समय त्यो भन्ज्याङ हिउँ नढाकिने पनि उनीहरुले सुनेका थिए।
तिब्बती नगर तक्लाकोटबाट निकट रहेको र धार्मिक तिर्थस्थल मानसरोवर र कैलाशबाट निकट थियो । तिब्बतीहरुसँग ब्यापार गर्न सकिने नाका पनि। साथमा सामरिक दृष्टिकोर्णबाट पनि महत्वपूर्ण स्थल थियो। रुसी जासुसहरु तिब्बतको त्यो क्षेत्रमा आईपुगे भने त्यो भन्ज्याङ धेरै काममा आउने थियो।
यी कारणले गर्दा त्यस बेला भरखरै नेपालबाट खोसिएको कुमाउ भूभागको कमिश्नर पदमा नियुक्त गरिएका मिस्टर एड्वर्ड गार्डनरले नेपाल सरकारसँग पश्चिमी सिमाना सम्बन्धि वार्तामा कुनै भूभाग भारत सरकारलाई चाहिए सो भूभाग नेपाल सरकारले सुम्पिने कुरा समेत उठाएको देखिन्छ।
आंकलन गर्न सकिन्छ त्यो भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक भन्ज्याङ क्षेत्र थियो। यसरी सुगौली सन्धि अगाडीनै त्यस क्षेत्रलाई आफ्नो भूभाग बनाउन प्रयत्नशील भएका थिए अंग्रेज ।
यदी नेपाल सरकारले उक्त क्षेत्र अंग्रेजलाई सुम्पिएको भए मार्च १८१६ मा दुबै पक्षले हस्ताक्षर गरेका सुगौली सन्धिको अनुच्छेद ३ मा लेखिन्थ्यो। अनुछेद ३ मा अंग्रेज शासित भारतलाई ‘सदाको लागी’ नेपालले सुम्पेको भूभागहरु संलग्न छन्। तर, कुनै पनि हिमाली नाका या कुनै पनि उत्तरको भूभाग भारतलाई सुम्पिएको उल्लेख छैन।
सुगौली सन्धीको अनुच्छेद ८ अनुसार नेपाल र अंग्रेज सरकार दुबैले एक अर्काको दरबारमा “मान्यता-प्राप्त “मन्त्री” राख्ने शर्त अनुसार अनुरुप सन्धि पश्चात अंग्रेज सरकारले कुमाउको कमिस्नर मिस्टर गार्डेनरलाई काठमाडौं पठायो।
कमिश्नरको रिक्त पदमा मिस्टर गार्डनर पछिका उच्च अधिकारी सह-कमिश्नर मिस्टर ट्रेल नियुक्त भए। मिस्टर ट्रेल लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र कुमाउमा गाभ्ने मह्त्वाकांक्षा मिस्टर गार्डनरको भन्दा कम थिएन।
यस प्रयासमा मिस्टर गार्ड्नर र मिस्टर ट्रेल बाहेक लागेका अर्को ब्यक्ति थिए क्याप्टेन वेब। क्याप्टेन वेब कुमाउलाई नेपालबाट अंग्रेज सरकारले गाभ्ने बित्तिकै त्यस स्थानको सर्वेक्षक पदमा नियुक्त भएका थिए, मिस्टर गार्डनर र मिस्टर ट्रेलर नियुक्त भएकै समयमा।
क्याप्टेन वेबलाई मानसरोवर पुग्ने पहिलो युरोपेली बन्ने ठूलो इच्छा थियो र त्यो पूरा हुन नपाएकोले उनी र उनका मित्रहरु दुखी भएका थिए। सर्भेयर नियुक्त हुनु भन्दा अगाडी अंग्रेज-गोर्खा युद्धमा भाग लिएका क्याप्टेन वेब युद्धकै समय निति भन्ज्याङ भएर तिब्बत प्रवेश गर्न कोशिश गरेका थिए।
सर्भेयर भएपछि उनले तक्लाकोट जान दुई-तीन पटक कोशिश गरेका थिए। मिस्टर ट्रेल कमिश्नर भएपछि एक पटक उनीहरुको निती भन्ज्याङमा जम्काभेट भएको थियो। दुबै आ-आफ्ना सेवकहरु र सैनिकको लस्कर साथ पुगेका थिए।
मिस्टर ट्रेल त्यहाँको नाकामा ब्यापर गर्न सामानहरु साथमा ल्याएका थिए। मिस्टर ट्रेलको सिको गर्दै क्याप्टेन वेब केही दिन पछी त्यही नाकामा पुगे चस्मा र अरु सामानहरु लिएर।
सर्भेयर नियुक्त भएको २-३ बर्ष सम्ममा क्याप्टेन वेबले कुमाउको हिमाली क्षेत्र र तिब्बतसँगको सिमानाका सैयौ स्थानहरुको ‘बैरोमीटरिक ओब्जरभेसन’लिइसकेका थिए। सर्वेक्षक वेबले आफूले संकलन गरेको मेजरमेन्टहहरुको आधारमा बनाएको कुमाउको नक्सा सन् १८१९ मा प्रकाशित भयो।
उक्त नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक अवस्थित भूभागहरु पनि कुमाउको नक्सामा देखाइएको छ। यस नक्सामा कालापानीको नाम दिइएको छ, तर लिम्पियाधुरा र लिपुलेकको कही नाम छैन। नोट गरौं लिम्पियाधुरा र लिपुलेक यी दुई नामहरु अंग्रेज शासित भारतको अधिकारिक नक्साहरुमा धेरैपछि मात्र आउन थालेको देखिन्छ।
वेबको नक्सामा नेपालको उत्तर पश्चिमी सिमाना टिन्करदेखी शुरु भएको देखिन्छ। नक्सामा कुन्ती ( कुति) गुन्जी, नाभी गाउँहरुको नाम दिइएको छ र काली नदी क्रमश यी गाउँहरु भएर तल पनि झरेको चित्रण गरिएको छ ।
१८२७ मा फेरी अर्को नक्सा आयो कुमाउको। क्याप्टेन वेबले बनाएको। यस नक्सा इस्ट इन्डिया कम्पनीले आधिकारिक रूपमा प्रकाशन गर्न लगाएको अत्यन्त महत्वपूर्ण ‘दी इन्डियन एट्लास’ को भोल्युम १ मा समावेश छ ।
रंगिन नक्सामा नेपाल र कुमाउ बीचको पश्चिमी सीमा भिन्ना भिन्नै रङ्गले देखाइएको छ। वेबले बनाएको १८१९ को नक्सा र यसमा फरक –कालापानी नेपालतिर छ। स्पष्टतः लिपुलेक नेपालको भूभागमा छ। यो नक्सा प्रकाशन हुँदासम्म लिम्पियाधुराबाट तल आउने नदी काली नभई अर्कै नदी भएको र काली नदीको मुहान कालापानी झर्ना भएको भन्ने वेब र अरुहरुले कथा बुनिसकेका थिए।
त्यसैले नक्सामा लुम्पियाधुरा र कुन्ती ( कुति) गुन्जी, नाभी गाउँहरु भारतिय भूभाग भित्र देखाइएको छ। तर केही कारणले नक्सामा लिम्पियाधुराबाट आउने नदीको नाम काली नै राखिएको छ, जो हाम्रो लागि ससक्त प्रमाण हुनेछ।
त्यस्तै प्रसिद्ध बेलायती नक्सा प्रकाशक एरोव्स्मिथद्वारा १८३२ मा प्रकाशित भारतको नक्सामा लिम्पियाधूराबाट तल आउने नदीको नाम केही नदिए पनि काली नै मानेको बुझ्न सकिन्छ ।
इन्डिया कम्पनी सरकारको अफिसर क्याप्टेन हेनरी स्ट्राचे र उनको भाइ लेफ्टिनेन्ट रिचार्ड स्ट्राचे र उनका कम्पनी सरकारले १८४६ मा कुमाउ र गडवालको तिब्बतसंगको सीमा क्षेत्रको वैज्ञानिक सर्वेक्षण गर्न खटायो।
त्यो बिकट सीमाक्षेत्रमा कम्पनी सरकारले गर्न लगाएको त्यो पहिलो आधिकारिक वैज्ञानिक सर्वेक्षण थियो। सिमाना पार गरि त्यही बर्ष हेनरी स्ट्राचे तिब्बत भूमिमा पुगेका थिए। रिचार्ड स्ट्राचे १८४८ मा राक्षसताल र मानसरोबर ताल पुगेका थिए ।
त्यस्तै १८४९ मा दुबै भाइ नीति भन्ज्याङ र हुन्देस भन्ज्याङ पुगे सीमा गस्ति गरिरहेका तिब्बती अफिसरहरुको विरोधलाई कुनै वास्ता नगरी। १८४८ देखि दुबै दाजु भाइले लेखेको बेग्लै बेग्लै रिसर्च पेपरहरु आउन थाल्यो त्यस समयको सबैभन्दा प्रमुख जर्नलहरुमा।
१८४८ मा प्रकाशित पेपरमा हेनरी स्ट्राचेले “लान्क्प्याधूरा’(लिम्पियाधूरा) बाट तल झर्ने नदी काली नभइ ‘कुन्ति यान्क्दी’भएको जानकारी दिन्छन्। यसरी पहिलो पटक बाहिर प्रकाशमा आउँछन् यी दुई नामहरु। त्यस पेपरमा ‘लान्क्प्याधुरा’‘ब्यान्सी’(ब्यास) क्षेत्रबाट मानसरोवर र राक्षस ताल पुग्ने सबैभन्दा सुलभ भन्ज्याङ भएको भनेका छन् स्ट्राचेले ।
‘कुन्ति यान्क्दी’लाई काली नदी मानि भूगोलवेत्ताहरुले सीमारेखा कोरेकोमा खेद प्रकट गरेका छन्। उनको शब्दमा त्यो ‘थिओरोटिकली राइट’भए पनि “प्राक्टिकली रङ’ थियो। त्यस्तै भूगलबेत्ताहरुले ‘कालापानी झर्ना’ काली नदीको मुहान भनेका तर नदी ‘लिपुलेक’ भएर आउने लेखेका छन्। उनले पेपरमा ‘लान्क्प्याधूरा’देखि तलका गाउँहरु, कालापानी र लिपुलेक सबै भारतका क्षेत्र भएको र च्याङ्रु र टिन्कर नेपालको भूभाग भएको बताएका छन्।
उक्त पेपरमा उनले अंग्रेजले नेपाललाई टिन्कर उपत्यका ‘दिएको’ मा पनि दुखेसो पोखेका छन्। तर, हेनरी स्ट्राचे यी स्थानहरुमा आफू स्वयम पुगेको थिएनन्। उनले कुतिको ‘रेन्चु’ बाट जानकारी बटुलेका थिए।
हेनरी स्ट्राचे र उनको भाइ रिचार्डको रिसर्चहरु समावेश गरी १८५० एप्रीलमा भारतको सर्भेयर जनरलको अफिसले कुमाउ र बृटिश गडवालको नयाँ नक्सा निकाल्यो। त्यस नक्सामा कालापानी र लिपुलेक लेखिएको प्रष्ठ देखिन्छ।
तर, कारणवस लिम्पुधुरियाबाट बहेको नदीलाई ‘कुन्ति यान्क्दी’भनिएको छैन । नामहीन छोडिएको छ। नक्सामा काली नदी लिपुलेखको तलबाट पस्चिमतिर बहेको र एक स्थानमा आएर तल झरेको देखाइएको छ।
नक्सामा आफ्नो भन्दैमा हुँदैन। वास्तविकता धेरै फरक छ र यी सबै हाम्रो पक्षका प्रमाण हुन्। स्ट्राचेको पेपर प्रकाशित भए पछि ‘लान्क्प्याधूरा’(लिम्पियाधूरा) र लिपुलेक भन्ज्याङ भन्ने नामका भन्ज्याङ रहेछन् भन्ने बाहिर प्रकाशमा आयो। त्यस्तै ‘कुन्ति यान्क्दी’पनि। त्यो भन्दा अघि यी नाम अनजान थिए।
अंग्रेज शासित भारतको भूभागमा यी पर्ने भए यी नामहरु कुमाउको रिपोर्टहरुमा आउनु पर्ने थियो र अन्यत्र पनि तर कही भेटिदैन । १८५० मा हेनरी स्ट्राचेलाई उद्धृत गर्दै लिपुलेक देखापर्छ एक किताबमा । १८५१ मा आएर बल्ल कुमाउको रिपोर्टमा ‘लान्क्प्याधूरा’र “लेपुधूरा” (लिपुलेक) भन्ने नाम देखिन्छ। त्यस्तै, भारतीय भूभागमा पर्ने भए ती भन्ज्याङमा पहिले नै सर्वेक्षेकहरु पुग्नु पर्ने त्यो पनि देखिदैन। हेनरी स्ट्राचे स्वयम त्यहाँ किन गएनन्?
पहिला लिम्पियाधुरा कालीको मुहान नभई कालापानी झर्ना कालीको मुहान भएको जाल बुनियो। र त्यसपछि कालापानी झर्ना पनि होइन लिपुलेकबाट काली बहेको जाल बुनियो ।
अलमोरामा नेपालको हारपछि जुन १ (१८१५) मा अंग्रेज भारतको गभर्नर जनरल लर्ड हास्टिन्ज एक गुप्तपत्रमा लेख्छन्, “हिमाच्छादित पहाडहरुबाट उठी लगभग सीधा दक्षिणी दिशा भएर समथल प्रदेशतिर लाग्ने काली (कुमाउको) पूर्वी सिमाना हुनेछ।” यसो लेख्दा के कालापानी झर्ना या लिपु खोलालाई सम्झेर उनले लेखेका थिए होलान्?
प्रतिक्रिया