हलेसी मन्दिरको एक वर्षको भेटी साढे ८७ लाख | Khabarhub Khabarhub

हलेसी मन्दिरको एक वर्षको भेटी साढे ८७ लाख


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा एक वर्षको अवधिमा भेटीवापत रु साढे सतासी लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।विसं २०७५ असार १ गतेदेखि विसं २०७६ असार मसान्तसम्ममा नेपाली रु ८७ लाख ६६ हजार २७४ भेटीवापतको रकम सङ्कलन भएको हो ।

हलेसी सूचना केन्द्रले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतीय रुपयाँ २७ हजार ८०, अमेरिकन डलर ४५ र सिङ्गापुर डलर १० सङ्कलन भएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा सुन ११ दशमलव ५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको छ ।

सङ्कलित भेटीबाट बसाहाथान पोखरी निर्माण, वेबसाइट निर्माण, सूचना डिस्प्ले बोर्ड निर्माण, मन्दिर व्यवस्थापन समितिको भवनको भर्‍याङ तथा रेलिङ निर्माण, मन्दिरका लागि खानेपानी ट्याङ्की निर्माण, मन्दिर परिसर रङरोगन, कर्मचारी तलब तथा अतिथि सत्कारमा रु ४२ लाख ६८ हजार २६७ खर्च भएको केन्द्रका निमित्त प्रमुख सयन्द्र राईले बताए ।

हलेसीको स्तरोन्नति तथा कर्मचारीलाई तलब दिएर बचेको रकम रु ४४ लाख ९८ हजार सात हलेसीस्थित माछापुच्छ्रे बैंकमा रहेको मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको जनाइएको छ । हलेसी आउने भक्तजन तथा पर्यटकले चढाउने भेटीलाई व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समिति, हलेसी विकास समिति, हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयका प्रतिनिधिले एक-एक चाबी राख्ने गरेका छन् ।

एउटा पक्षले मात्र मन्दिरको चाबी राख्दा पादर्शी नहुने भएकाले चार जना प्रतिनिधिसँग चाबी राख्ने व्यवस्था मिलाइएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर राईले बताए । मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा अहिले बोलबम मेला लागेको छ । महिना दिनसम्म मेला लाग्ने हलेसीमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम तथा भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायत ठाउँबाट दर्शनार्थी तथा भक्तजन आएका छन् ।

मेलालाई व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समिति, हलेसी विकास समिति, नगरपालिका र इलाका प्रहरी कार्यालय खटिएका छन् । लगातारको वर्षा हुँदा पनि हलेसी आउने भक्तजन तथा दर्शनार्थीको संख्या उल्लेख्य रहेको जनाइएको छ । सङ्घीय सरकारको मातहतमा रहेको त्रिधार्मिकस्थल हलेसीमा अहिले जीर्णोद्धारको कामसमेत तीव्र गतिमा भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको संयुक्त रु ८२ लाख लगानीमा प्रतिक्षा कन्ट्रक्शन प्रालि काठमाडौँले जीर्णोद्धारको कामको जिम्मा लिएको हो ।

विसं २०४४/४५ मा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएको सिँढी, शिवलिङ्गलाई घेरिएको सिमेन्टको पिल्लर, ध्यान तथा पूजाअर्चना गरिने ठाउँलगायतमा उक्त सिमेन्ट हटाएर प्राकृतिक रुपले नयाँ संरचना निर्माणको काम भइरहेको छ । शिवलिङ्गलाई घेरिएको सिमेन्टका पिल्लर हटाएर तामाका खम्बा राखिएका छन् ।

दर्शनार्थी र पर्यटकको बाह्रै महिना उत्तिकै घुइँचो लाग्ने हलेसीको समग्र विकासका लागि यस वर्ष रु ८० लाख बजेट विनियोजन भएको छ । धार्मिक रुपले मात्र नभई प्राकृतिक रुपले समेत प्रसिद्ध हलेसीको गुरुयोजना निर्माणको कामसमेत भइरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ६ : ५३ बजे

दक्षिण कोरिया : कार्यवाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित

सियोल– दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार

साताको कार्टुन : मिलाएर सम्पत्ति शुद्धीकरण गरौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण

मधेस सरकारद्वारा ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा

जनकपुर– मधेश प्रदेश सरकारले प्रदेशका साढे ७ सय पत्रकारहरूको सामूहिक

दुई दिनमा सकियो रविको बयान, थुनछेक बहस बाँकी

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद

रास्वपा सचिवालय बैठक : सङ्गठनात्मक संरचना सुदृढीकरण गर्न छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक सम्पन्न भएको छ