नौबिसे–नागढुङ्गा सडकको बेहाल : १० मिनेट गाडी रोक्दा ३ किलोमिटर लामो जाम « Khabarhub

नौबिसे–नागढुङ्गा सडकको बेहाल : १० मिनेट गाडी रोक्दा ३ किलोमिटर लामो जाम


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ ।

सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौँले हेर्ने गर्दछ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडक खण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको बताउँछन् । सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने गुनासो उनको छ । १० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गरेको अधिकारी बताउँछन् ।

सो क्षेत्रमा ६ देखि ७ मिटर मात्र सडक चौडा रहेको छ । सोही सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् ।

सो खण्डमा मर्मतसम्भारका लागि गत वर्ष बोलपत्र आह्वान गरिए पनि कसैले पनि बोलपत्र समावेश गरेनन् । यस वर्ष पनि पहिलो बोलपत्र कसैको पनि नपरेको अधिकारी बताउँछन् ।

दोस्रो बोलपत्रको तयारी भइरहेको छ । काम गर्न नसक्ने भएपछि ठेकेदार कम्पनीहरुले मुग्लिनदेखि पिप्लामोडसम्म नै मर्मतका लागि बोलपत्र समावेश नगर्ने गरेको उनको भनाइ छ ।

यस वर्षको दशैँअघि मालवाहक सवारीका कारण धसिएको क्षेत्र मर्मत गर्न थालेको भए पनि काम गर्न नसकिएको सो क्षेत्र हेर्दै आएका इन्जिनीयर हरिकुमार ठकुरी बताउँछन् ।

साउन र भदौ महीनाका अधिकांश समय पानी परेका कारण असोजको पहिलो साता ती खाल्डा पुर्न शुरु गरिएको भए पनि सवारी चापका कारण काम सक्न नसकिएको ठकुरी बताउँछन् ।

यही असोज ५, ६ र ७ गते दैनिक एक घण्टा मात्रै एकतर्फी सवारी रोकेर खाल्डा परेका ठाउँमा कालोपत्रे गरिएकामा सवारी चाप बढेपछि रोकिएको छ ।

प्रमुख अधिकारीले भने, “असोज ७ गते बेलुकाबाट हामीले सवारी रोकेर काम गरेका छैनाँै । सवारी चापकै कारण सडकमा समस्या देखिएको हो ।” रातको समयमा पनि सवारी चापकै कारण काम गर्न सकिएको छैन । सो सडक खण्डको चितवनले हेर्ने क्षेत्रको ८० प्रतिशत मर्मतसम्भारको काम सकिएको उनको भनाइ छ । गणेश मन्दिर आसपासको क्षेत्र मात्र बाँकी रहेको छ ।

दशैँको नवमी र टीकाका दिन सवारी चाप घट्ने भएकाले काम गर्ने मानिस भेटिएमा सोही दिन केहीबेर एकतर्फी सवारी रोकेर काम गर्ने तयारी सडक कार्यालयले गरेको छ ।

ठेक्का कसैको पनि नपरेपछि सोही सडक खण्डमा रणनीतिक सडक मर्मतअन्तर्गत भित्तामा काम गर्दै आएको जिएमआर कन्सट्रक्शनको सहयोग लिएर मर्मतको काम भइरहेको छ । सडकमा सवारी नरोकेर नै खाल्डा परेका ठाउँमा भर्ने काम भने अहिले पनि भइरहेको छ ।

दशैँका बेला सडक नरोकियोस् भन्नका लागि भरतपुर, नौबिसे, गल्छी, गजुरी र फिस्लिङमा लोडर तयारी अवस्थामा राखिएको छ । भरतपुर र गल्छीमा पहिरो पन्छाउने व्याक हुसमेत राखिएको कार्यालयले जनाएको छ ।

सो सडक खण्डमा ट्राफिक प्रहरीले पनि लोडर र क्रेन तयारी अवस्थामा राखेको छ । यही सडक खण्ड मर्मतका लागि सीतापाइला धार्के सडक सञ्चालन गर्नुपर्ने विज्ञ इन्जिनीयरहरु बताउँछन् । अन्यथा काम गर्न निकै कठिन हुने उनीहरुको भनाइ छ ।

सडकका कारण मात्र नभएर सवारीको उच्च चाप, ठूला साना सवारी एकै साथ गुड्ने, दशैँका बेला क्षमताभन्दा बढी सामान बोकेर जाँदा उकालोमा बिग्रने, चालकले जथाभावी उछिन्ने जस्ता कारण सवारी आवागमनमा समस्या भएको देखिन्छ ।

प्रमुख अधिकारी काम गर्दा समेत जश नपाउने हुँदा आफूहरु खिन्न हुने गरेको बताउँछन् ।

उनले दुःखेसो गरे, “एकोहोरो गाली खानु परेको पीडा छ । आज तपाईंको मिडियामा यति दुःख बिसाउन पाइयो ।” सबै दोष सडकलाई थुपार्ने र यथार्थ परिस्थिति कसैले नबुझेका कारण काम गर्न कठिन भएको इन्जिनीयर ठकुरीले गुनासो गरे ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १ : २२ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक