बैतडी– बैतडीको शिवनाथ गाउँपालिकामा सम्पन्न शिवनाथ प्रिमियर लिग (एसपिएल) क्रिकेटमा आयोजक उदयदेव साहारा क्लब ‘बी’ च्याम्पियन भएको छ । सोमबार भएको खेलमा ब्राइट युथ स्पोट्स क्लब शर्मालीलाई दुई विकेटले हराउँदै आयोजकले उपाधि हात पारेको हो ।
विजेता क्लबले ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता शर्मालीले २२ हजार २ सय २२ रुपैयाँ पाएको छ । सुल्लेखान खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको शर्मालीले निर्धारित १५ ओभरमा छ विकेटको क्षतिमा १२७ रन बनाएकामा कृषन चन्दले सर्वाधिक ४१ रनको योगदान गरेका थिए । आयोजकका तर्फबाट मीनबहादुर चन्दले चार विकेट हात पारे ।
एक सय २८ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको आयोजकले १४ ओभर दुई बलमा मनोज चन्दको २८ रनको मद्दतमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । शर्मालीका तर्फबाट कृषन चन्दले दुई विकेट हात पारे । उनी म्यान अफ द फाइनल पनि चुनिए ।
प्रतियोगितामा दुई अर्धसतकसहित १७९ रन र छ विकेट हात पारेका आयोजकका वीरेन्द्र चन्द प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । उनले लिगको एउटा खेलमा ६ बलमा ६ छक्कासमेत हिर्काएका थिए । वीरेन्द्र म्यान अफ द म्याच हुँदै २ हजार २२२ पुरस्कार हात पारे । यस्तै आयोजककै मीनबहादुर चन्द प्रतियोगिताभर ११ विकेट हात पार्दै उत्कृष्ट बलर चुनिए भने शर्मालीका विनोद चन्द प्रतियोगितामा १२८ रन हिर्काउँदै उत्कृष्ट ब्याट्सम्यान भए । दुवैले समान रु एक हजार १११ पुरस्कार पाए ।
विजेता तथा उपविजेता खेलाडीलाई शिवनाथ गाउँपालिकाका अध्यक्ष किर्णसिंह साउद र उपाध्यक्ष कुश्मा चन्दले पुरस्कार प्रदान गरेकी आयोजक क्लबका अध्यक्ष मनोजसिंह ठकुराठीले जानकारी दिए । उक्त प्रतियोगितामा नौ टोली सहभागी थिए ।
प्रतिक्रिया