कोरोना भाइरसको प्रभाव : नेपाल–चीन व्यापार ठप्प | Khabarhub Khabarhub

कोरोना भाइरसको प्रभाव : नेपाल–चीन व्यापार ठप्प


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर देखिन थालेको छ ।

कोरोनाको संक्रमण फैलिएसँगै नेपाल आउने पर्यटकको संख्या घटेको छ भने सामान आयात र निर्यात पनि प्रायः ठप्प जस्तै छ ।

नेपालमा प्रयोग हुने अधिकांश दैनिक उपभोग्य सामान चीनबाट नै आयत हुने गरेको छ । चीनले उत्पादन गरेको सामान नेपालमात्र होइन विश्वका जुनसुकै देशमा पुग्ने गरेका छन् । त्यसमा पनि नेपाल चिनियाँ उत्पादन धेरै भित्रिने गरेका छन् ।

नेपालको कुल वैदेशिक व्यापारमा सबैभन्दा ठूलो हिस्सा भारतको छ भने दोस्रोमा चीनको छ । ठूलो व्यापार साझेदार चीनसँग आयात निर्यात प्रायm ठप्प भएपछि त्यसको प्रभाव नेपाली अर्थतन्त्रमा पनि देखिएको छ ।

सरकारले चालु आर्थिक वर्ष साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । चीनसँगको व्यापारमा आएको समस्याले मुलुकको आर्थिक वृद्धिलाई कसरी असर पार्छ भन्नेबारे अध्ययन भइसकेको छैन ।

नेपालमा करिब १५ खर्बको वैदेशिक व्यापार हुने गर्छ । त्यसमा चीनको हिस्सा २ खर्ब भन्दा माथि छ ।

अहिले नेपाल र चीनबीच आवतजावत बन्द छ । नेपाल र चीनका सीमा नाका गत जनवरीको दोस्रो सातादेखि ठप्प छ । आवातजावतमा प्रतिबन्ध नै लगाइएको छ ।

चीनसगँ सीमा जोडिएका तातोपानी र रसुवागढी नाका बन्द भएको १ महिना भइसकेको भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले जानकारी दिए । जसका कारण तेस्रो मूलुक भएर आउने वस्तुहरुको निर्यातमा पनि कमी भएको छ ।

‘चीनबाट तेस्रो मुलुक हुदै नेपालमा सामान आइपुग्न ३० देखि ५० दिन लाग्ने भएकाले कति सामान कहाँ आइपुग्यो भनेर यकिन गर्न सकिदैन,’ घिमिरेले भने ‘चिनियाँ सामग्रीको आयात लामै समय रोकिए तेस्रो मुलुकका महँगा सामान भित्रिने र त्यसले मूल्यवृद्धिमा चाप पर्ने छ ।

मूल्यवृद्धिसँगै निर्यात ठप्प हुँदा नेपाली व्यापारीले नयाँ गन्तव्य खोज्नुपर्ने अवस्था आउन सक्ने पनि घिमिरेले बताए । यसले नेपालको अर्थतन्त्रमा शिथिलता आउने उनको भनाई छ ।

अर्थविद केशवप्रसाद आचार्य पनि नेपाल र चीनबीचको आयात निर्यात रोकिँदा देशको आर्थिक गतिविधिमा संकुचन ल्याउने बताउँछन् ।

‘आयात–निर्यात नभएपछि आर्थिक गतिविधि कम हुन्छ । हामीलाई चाहिने सामान बढी मूल्य तिरेर ल्याउनुपर्छ, जसले गर्दा सर्वसाधारणले आफ्नो बचत बढाउन सक्दैनन् । बचत नबढ्ने हो भने बैंक तथा वित्तीय संस्थामा निक्षेपको समस्या हुन्छ,’ अर्थविद् आचार्यले भने, ‘निक्षेप नभएपछि बैंकहरुले कर्जा दिन र लगानी गर्न सक्दैनन् । यसको असर पूर्वाधार निर्माण तथा औद्योगिक उत्पादनमा पर्न जान्छ ।’

मूल्यवृद्धिका कारण कामदारको ज्यालाको डिमान्ड बढ्छ भने निक्षेप कम हुँदा कर्जाको ब्याज महँगो हुन जान्छ । त्यसका कारण उद्योगधन्दाको उत्पादन लागत बढ्छ । यस प्रकारको आर्थिक चक्रका कारण समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने आचार्यको भनाई छ ।

अहिले चीनबाट नयाँ सामानहरु केही पनि नआएको र पुरानो मौज्दात सामान पनि अन्तिम अवस्थामा रहेकाले सामानको अभाव देखिन थालेको छ । उद्योग नै बन्द रहेकोले कोरोना भाइरस नियन्त्रणमा आएको कम्तिमा ३ महिनापछि मात्र ती सामानहरु ल्याउन सकिने विभागका सूचना अधिकारी घिमिरेले बताए ।

कोरोनाका कारण चीनको आर्थिक वृद्धि २ प्रतिशतमात्र हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । त्यसको असर नेपालमा पनि केही हदसम्म पर्ने जानकारहरु बताउँछन् । कोरोनाको प्रभाव नेपालको अर्थतन्त्रमा एकदेखि दुई प्रतिशतको हाराहारीमा पर्नसक्ने विज्ञहरुको अनुमान छ ।

विश्वका ५० भन्दा बढी देशमा कोरानाको संक्रमण फैलिएकाले नेपालमा आउने रेमिट्यान्समा पनि कमी आउन सक्ने देखिन्छ ।

कोरोनाको संक्रमण फैलिएको कोरियाबाट त्यहाँ रोजगारीमा रहेका नेपालीलाई स्वदेश फर्काउनुपर्ने अवस्था आयो भने देशको अर्थतन्त्रमा प्रभाव पार्ने अथविदहरु बताउँछन् ।

राजस्व संकलनका प्रमुख क्षेत्रमध्ये एउटा भन्सार हो । व्यापारिक कारोबारमा आउने मन्दीले सरकारको राजस्व असुलीमा पनि प्रभाव पार्छ । चीनबाट सामान आउन छाडेपछि नेपाली बजारमा अहिलेदेखि नै असर देखिन थालेको छ ।

कोरोना प्रभावकै कारण चिनियाँ पर्यटकको आगमन ठप्प भएपछि नेपाल भ्रमण वर्ष– २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा पनि धक्का पुग्ने देखिन्छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ९ : ०४ बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार