आकलन गर्न नसकिने अधोगतिमा विश्व अर्थतन्त्र, नेपालमा के होला ॽ « Khabarhub

आकलन गर्न नसकिने अधोगतिमा विश्व अर्थतन्त्र, नेपालमा के होला ॽ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले विश्व अर्थतन्त्र डामाडोल हुने भय बढेको छ ।

तीन महिनाअघि चीनबाट फैलिएको संक्रमण डढेलोझैँ फैलिरहँदा अर्थतन्त्र आकलन नै गर्न नसकिने गरी अधोगतिमा गइरहेको सूचकहरूले देखाएका छन् ।

युरोपसहित अर्थतन्त्र बलियो भएका मुलुकलाई समेत असर गरेपछि विश्व अर्थतन्त्र डामाडोल हुने आकलन ब्याप्त छ ।

कोरोना भाइरसले अर्थतन्त्रमा पर्न सक्ने असरबारे एसियाली विकास बैंक (एडीबी) को ६ मार्च, २०२० को प्रारम्भिक प्रक्षेपण प्रतिवेदनलाई आधार मान्ने हो भने विश्व अर्थतन्त्रमा ३ खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म क्षति पुग्न सक्नेछ ।

यो आकलन सत्य सावित भए विश्व अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादनको ०.१ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म कमी आउनेछ ।

आइएमएफले समेत यही साता विश्व अर्थतन्त्र मन्दीमा जाने भनिसकेको छ । तथ्यांक नदिए पनि उसले स्पष्ट शब्दमा सन् २००८ को मन्दीभन्दा खराब अवस्थाबाट विश्व अर्थतन्त्र गुज्रिने चेतावनी दिएको छ ।

एडीबीको उक्त प्रक्षेपणले सन् २०१९ मा ८७ ट्रिलियन अमेरिकी डलरको कुल गार्हस्थ रहेको विश्व अर्थतन्त्र, चालु वर्ष सन् २०२० मा ९० ट्रिलियन अमेरिकी डलर नाघ्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको आकलनमा पनि ब्रेक लाग्ने निश्चित भएको छ ।

यो पुष्टि हुने गरी आइएमएफले समेत यही साता विश्व अर्थतन्त्र मन्दीमा जाने भनिसकेको छ । तथ्यांक नदिए पनि उसले स्पष्ट शब्दमा सन् २००८ को मन्दीभन्दा खराब अवस्थाबाट विश्व अर्थतन्त्र गुज्रिने चेतावनी दिएको छ ।

आइएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले सन् २०२० मा विश्व अर्थतन्त्रमा नकारात्मक वृद्धि हुने उल्लेख गरेकी छन् ।

विश्व श्रम संगठन (आइएलओ) ले कोरोना भाइरसको महामारीबाट २ करोड ५० लाख मानिस रोजगारविहीन हुनसक्ने प्रक्षेपण गरेको छ ।

सेयर मार्केट नाजुक अवस्थामा छ भने १७ वर्षयता कच्चा तेलको मूल्य न्यून भएर २१ डलर प्रतिब्यारेलमा आएको छ ।

डिसेम्बर, २०१९ बाट फैलिन थालेको कोरोना भाइरसका कारण आज विश्व शक्तिराष्ट्र अमेरिका, युरोप लगायत भारतसम्मको आर्थिक भविष्य अन्योलग्रस्त छ ।

चीन, जापान, युरोपियन युनियन अनि अमेरिकासम्मको जीडीपीमा डबल डिजिट गिरावट आइसकेको छ ।

औद्योगिक राष्ट्रको समूह जी–२० मुलुकको अर्थतन्त्र २.२ प्रतिशतले घट्ने युरोपियन युनियनको प्रक्षेपण छ ।

विश्व बैंकले दक्षिण एसिया र प्यासिफिक रिजनको अर्थतन्त्रको प्रक्षेपणसहित मंगलबार (३१ अक्टोबर) मा सार्वजनिक गरेको सूचकले पनि नकारात्मक संकेत देखाएको छ ।

उक्त प्रक्षेपणअनुसार दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको वृद्धिदर शून्य दशमलव १ प्रतिशत देखि बढीमा २ दशमलव ३ प्रतिशतसम्म हुनेछ ।

जबकि चीन सन् २०१९ मा ६ दशमलव १ प्रतिशतको वृद्धिदरसहित सन् २०२० मा ६ दशमलव ५ को अवस्थामा पुग्ने आइएमएफको प्रक्षेपण थियो ।

उक्त प्रतिवेदनले इण्डोनेशिया, थाइल्याण्ड, मलेसिया लगायतका मुलुकको वृद्धिदर नकारात्मक हुने औँल्याएको छ  ।

विज्ञहरूको भनाइमा सन् २०२० मा विश्वले एउटा नयाँ वित्तीय संकट, महामन्दीको सामना गर्नुपर्ने निश्चित छ ।

‘यो कोरोना भाइरसले जीवनको जति क्षति पुग्छ त्योभन्दा बढी भोकमरी, कुपोषण, औषधिउपचार नभएर मानिसको ज्यान गुम्ने खतरा देखिन्छ,’ अर्थविद् डा. चन्द्रमणि अधिकारीले भने, ‘कोरोना भाइरसको संक्रमण फैलने क्रम लामो समयसम्म लम्बिरहे उत्पादन नै हुन्न, राज्यले नोट छापेकै भरमा मानिसको पेट भरिन्न ।’

विश्व अर्थतन्त्रमा झण्डै एक चौथाई जीडीपीको हिस्सा ओगट्ने अमेरिकी अर्थव्यवस्था थिलथिलिन थालेको छ । २१ ट्रिलियन डलर हाराहारीको अमेरिकी अर्थतन्त्र एक महिना यता ठप्पप्रायः छ ।

वार्षिक १ दशमलव ७ प्रतिशतको वृद्धिदरबाट अघि सरिरहेको अमेरिकी अर्थतन्त्र अब झन् खराब अवस्थाबाट गुज्रिने निश्चित जस्तै भएको छ । एक हप्तामै अमेरिकामा ३२ लाखभन्दा बढी मानिस बेरोजगार भएको तथ्यांक त्यहाँको श्रम विभागले सार्वजनिक गरेको छ ।

यद्यपि अमेरिकी सरकारले २ ट्रिलियन (२० खर्ब भन्दा बढी) अमेरिकी डलर बराबरको राहत प्याकेज ल्याएकाले कम्तिमा अरू ३ महिना त्यहाँ समस्या भइहाल्ने अवस्था नरहेको विज्ञहरू बताउँछन् ।

‘अरु ४ महिना यही अवस्था रहे पनि अहिलेको अवस्था विगतका बेलाहरूका जस्तो संकटको अवस्था नहोला तर मन्दी हुने चाहिँ पक्का हो,’ पूर्वअर्थसचिव रामेश्वर खनाल भन्छन्, ‘बैंकहरूले निक्षेप नै दिन नसक्ने अवस्था अहिलेको होइन, न त सम्पत्तिको मूल्य नै घटेको अवस्था हो, तत्कालिन शासकले जस्तो मूर्खता अहिलेकाले गरेका छैनन्, बरु अर्थतन्त्र बिग्रन नदिन तत्काल नै राहत प्याकेज ल्याइसकेका छन्, मन्दीमै गए पनि उक्सिन खासै समय लाग्दैन ।’

अमेरिकाले कोरोनाका कारण उत्पन्न संकट निस्तेज पार्न भन्दै ल्याएको प्याकेजले वार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी भएकालाई सिधै १२ सय डलर दिने,  रोजगारी गुमाएकालाई तत्काल प्रति हप्ता ६ सय डल दिने, साना व्यवसायीका लागि ३ खर्ब ६७ अर्ब डलर ऋण दिने भनेको छ । यसले केही मलमपट्टी लगाउने छ ।

कोरोना भाइरसले अर्थतन्त्र नाजुक बन्दै जान थालेपछि एक महिनाअघि नै आइएमएफले प्रारम्भिक चरणमा विश्व अर्थतन्त्र उकास्न ३ ट्रिलियन (३० खर्ब भन्दा बढी ) अमेरिकी डलर आवश्यक रहेको बताउनुले र त्यति रकम समेत यो बेला नखर्चिनुले अवस्था अझ बिग्रिँदै जाने देखिएको छ ।

अर्थविद्हरू विश्व अर्थतन्त्रका चालक मानिने मुलुकहरू अमेरिका, युरोपका सबैजसो देश, चीन, जापान र भारतको अर्थव्यवस्था नसुध्रिए संसारकै अर्थव्यवस्थामा असर पर्ने बताउँछन् ।

‘विश्व अर्थतन्त्र अहिले व्यापारमा बढी केन्द्रित छ । चीन यो महामारीबाट तंग्रिन खोजेजस्तो देखिन्छ तर उसका पार्टनर मुलुक थलिएका बेला उसको आन्तरिक अर्थतन्त्र चलायमान हुनुबाहेकको सकारात्मक अरू संकेत देखिदैन,’ अर्थविद् डा. गोविन्द नेपाल भन्छन्, ‘अमेरिका, युरोपको अर्थतन्त्र अनिश्चिततामा फसेको छ, विश्वका ठूला भनिएका अर्थतन्त्र चलायमान नहुँदा स्वाभाविक हिसाबले समस्या पर्छ, विश्व बैंक, एडीबी, आइएफका प्रारम्भिक आकलनभन्दा पनि अवस्था भयावह हुन सक्छ ।’

विश्व स्वास्थ्य संगठनले मानवजातिकै अस्तित्व संकटमा परेको बताइरहेका बेला अर्थतन्त्र आकलन नै गर्न नसक्ने अवस्थाबाट पनि गुज्रन सक्ने उनको भनाइ छ ।

अर्थशास्त्रीहरुले अर्थतन्त्र तहसनहस हुने अनुमान गरिरहँदा खराब अवस्थाबाट जोगिन विभिन्न मुलुकहरुले धमाधम आर्थिक सहायता घोषणा गरिरहेका छन् ।

छिमेकी मुलुक भारतले १७ खर्ब भारतीय रुपैयाँको आर्थिक सहायता घोषणा गरेको छ । बेलायतले ६५ अर्ब पाउण्डको आर्थिक सहयता घोषणा गरेको छ ।

यस्तै, जर्मनीले ८ खर्ब १४ अर्ब अमेरिकी डलर बराबरको, दक्षिण कोरियाले ९ खर्ब ०८ अर्ब अमेरिकी डलर, अष्ट्रेलियाले ५४ अर्ब अमेरिकी डलर, फ्रान्सले ३ खर्ब ४५ अर्ब यूरो, स्पेनले २ खर्ब युरो, जापानले २ खर्ब ७० अर्ब अमेरिकी डलर तथा चीनले १४ खर्ब अमेरिकी डलरको आर्थिक सहायता घोषणा गरेका छन् ।

सम्भावित आर्थिक संकटसँग जुध्न आइएमएफ, विश्व बैंकजस्ता ठूला संस्थाहरुले ठूलो राशीको ऋण दिन सक्ने अवस्थामा रहेको जनाएका छन् ।

आइएमएफले आफ्ना सदस्य राष्ट्रहरूलाई १० खर्ब डलरसम्म ऋण उपलब्ध गराउन सक्ने भनेको छ । विश्व बैंकले १२ अर्ब डलरसम्म ऋण उपलब्ध गराउन तयार रहेको जनाएको छ ।

कोरोना भाइसर संक्रमण फैलने क्रम नरोकिएकाले विभिन्न संस्थाले तयारी अवस्थामा रहेको जनाउ दिनु र विभिन्न मुलुकले आर्थिक सहायता घोषणा गर्नु स्वाभाविक भएको सबैजसो अर्थविद्हरू बताउँछन् ।

संक्रमण नियन्त्रणमा नआइकन अहिल्यै गरिएका विश्लेषण हतारो हुन् भन्नेमा पनि उनीहरू एकमत देखिन्छन् ।

‘संसारको अर्थतन्त्रको विश्लेषण त्यतिबेला ठीक हुन्छ, जतिबेला कोरोना भाइरसको महामारी रोकिन्छ,’ अर्थविद् राजु नेपाल भन्छन्, ‘विश्वको ध्यान अहिले मानवीय क्षति कम गर्नेतिर भएकाले अहिले यसको आकलन हतारो हुन्छ, तर विश्व मन्दीमा जाने पक्का छ ।’

के होला नेपालको अवस्था

प्रचलित मूल्यमा ३० बिलयन अमेरिकी डलर हाराहारीमा रहेको नेपालको अर्थतन्त्र पनि विश्व अर्थतन्त्रमा आएको मन्दीबाट जोगिने छैन ।

गत वर्षको ७ दशमलव १ प्रतिशतबाट एकैचोटी ८ दशमलव ५ प्रतिशतको वृद्धिदर हासिल गर्ने सरकारी लक्ष्यमा कोरोना भाइरसको महामारीले ब्रेक लागाइदिने निश्चित छ ।

अर्थमन्त्रीले मंगलबार दिएको अभिव्यक्तिले समेत यसलाई पुष्टि गर्छ ।

अरु मुलुकहरूले अर्ब र खर्बका आर्थिक प्याकेज घोषणा गरिरहँदा नेपालले भने अंकमा आर्थिक सहायता घोषणा गरेन ।

यद्यपि लकडाउनपछि चलायमान हुन नसकेको अर्थतन्त्र र अस्थायी रूपमा रोजगारविहीन भएका श्रमिकहरुको हितार्थ विभिन्न सहुलियत भने घोषणा भएको छ । यसको प्रभाव लेखाजोखा हुने नै छ ।

मूलतः भारत, चीन, सेवा र रेमिट्यान्ससँग बेष्टित नेपालको अर्थतन्त्रको वृद्धिदर ५ प्रतिशतभन्दा तल पुग्ने विज्ञहरूको आकलन छ  ।

‘अपर तामाकोसी जोड्न सकिएन, कृषिमा समस्या नै छ, औद्योगिक उत्पादन ठप्प भएको छ, हाम्रो वृद्धिदर अब ५ प्रतिशत राखे अति उत्तम हुन्छ,’ अर्थविद् राजु नेपाल भन्छन् ।

नेपालमा उथलपुथल नै हुने गरिको अवस्था भने नआउने उनको बुझाइ छ ।

‘सानो अर्थतन्त्र भएको हाम्रोजस्तो मुलकमा खासै समस्या हुन्न, अझै पनि हामीले कृषिलाई चलायमान बनाउन सक्ने आधार छ,’ नेपालले भने, ‘महामारी हुन खोज्नेबित्तिकै मानिसहरु धमाधम थातथलो फर्किनु गाउँघर सुरक्षित भन्ने हो, उनीहरूलाई कृषि कर्ममा क्रियाशील गराउन सकिन्छ, आफ्ना लागि आफैँ जोहो गर्न सक्ने कृषि उपज उत्पादनमा अहिले नै समस्या हुन्न ।’

अनन्तकालसम्म अन्य मुलुकसँग विच्छेद हुने अवस्था आए नेपालको होटल, पर्यटन र उडानको क्षेत्र तथा वैदेशिक ब्यापारसँग सम्बन्धित व्यवसाय धराशयी हुन सक्नेछन् ।

सेवा क्षेत्रले अहिले पनि कूल गार्हस्थ क्षेत्रमा ५८ प्रतिशत हिस्सा ओगटेको छ । यो क्षेत्र धराशयी हुँदा मूलुक निर्वाहमुखी कृषिलाई माथि उकास्दै आफूलाई धान्ने अवस्थामा पुर्‍याउने योजनामा सरकार लाग्नु पर्ने विज्ञहरू सुझाउँछन् ।

‘सम्भावित त्यस्ता समस्याल सम्बोधन हुने गरी सरकारले बेलैमा गृहकार्य गर्दै आन्तरिक उत्पादन बढाएर भरथेग गर्ने योजनामा केन्द्रित हुनुपर्छ, अन्यथा अवस्था खराब परिस्थितिबाट गुज्रिने निश्चित छ,’ अर्थविद् डा. चन्द्रमणि अधिकारी  भन्छन्, ‘नत्र भारत र चीनको अर्थव्यवस्थामा बढी भर परेको नेपालको अवस्था नाजुक हुनेछ ।’

पूर्वअर्थसचिव रामेश्वर खनाल भने नेपालको अर्थतन्त्रमा अहिल्यै खासै प्रभाव परिहाल्ने अवस्था देख्दैनन् ।

‘दोस्रो चौमासिकसम्मको सकारात्मक अवस्थाले बाँकी चार महिनालाई पनि थेग्ने नै छ,’ खनालले भने, ‘त्यतिन्जेलसम्म पनि अर्थतन्त्र चलायमान हुन सकेन भने अवस्था बिग्रन हो ।’

विकास खर्चमा भने यो वर्ष कोरोना भाइरसको असर देखिने निश्चित छ । चालु आर्थिक वर्षको ४ खर्ब ८ अर्ब पूँजीगत बजेटमध्ये अहिलेसम्म १ खर्ब ३ अर्ब मात्रै खर्च भएको छ, जुन ४१ प्रतिशत मात्रै हो ।

अर्थतन्त्रमा अकल्पनीय संकटको अवस्थामा पुगे आन्तरिक उत्पादन बढाउने कार्यक्रम सरकारले ल्याउने नेपाल राष्ट्र बैंकका अधिकारीको भनाइ छ ।

‘विश्व अर्थतन्त्र तहसनहसकै अवस्थामा गयो र हामी संसारसँग विच्छेदको अवस्थामा आए, आन्तरिक उत्पादन बढाउने कार्यक्रम सरकारले ल्याउँछ,’ राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट भन्छन्, ‘सरकारले तत्काललाई राहत प्याकेज ल्याएको थाहा पाइहाल्नुभयो, हामीलाई धान्ने गरी कृषि उपज उत्पादन गर्ने जमिन छ, बेरोजगार मानिसलाई केही प्रोत्साहन भत्ता दिएर भए पनि कृषि कर्ममा प्रोत्साहित गरिन्छ ।’

अर्थतन्त्र बिग्रिने भो भनेर डराउन नहुने पूर्वअर्थसचिव खनाल बताउँछन् । ‘प्राकृतिक विपत्ति र युद्धपछिको अर्थतन्त्र त अझ छिटो रिकोभर हुन्छ, मलाई लाग्छ अहिलेको संकट पनि २ वर्षजतिमा हल भइसक्छ,’ खनालले भने, ‘यसअघि पनि संसारमा ठूल्ठूला संकट आएकै हुन् ।’

 विश्व अर्थतन्त्रका ठूला संकटक

कोरोना भाइरसका कारण उत्पन्न संकट नै विश्व अर्थतन्त्रमा अहिलेसम्मकै सबैभन्दा खराब अवस्था भने होइन । यसअघि पनि विश्व अर्थतन्त्र अधोगतिमा गएको उदाहरणहरू छन् ।

बेलायतको क्रेडिट क्रन्च

सन् १७६० सम्ममा संसाभर द ग्रेट ब्रिटेनको आधिपत्य कायम भइसकेको थियो । ब्रिटेनले अन्य साम्राज्यमा व्यापार विस्तार गरेर ठूलो धनराशि जम्मा गरिसकेको थियो ।

तर, लण्डनबाट सुरु भएको क्रेडिट क्रन्च संकटले पूरै युरोपलाई डामाडोल बनाइदियो । अन्ततः युरोप नै आर्थिक संकटले ग्रस्त भयो ।

बेलायती व्यापारीहरूले संसारभर व्यापार विस्तार गरेका थिए, यसका लागि लण्डनका ठूला बैंकले त्यस्ता व्यापारीहरूलाई अत्यधिक लगानी गरेका थिए । व्यापारीहरूले विस्तारै बैंकको ऋण तिर्नको साटो बेलायतभन्दा बाहिर सम्पति जम्मा गर्न थालेपछि यो संकट चुलिएको थियो ।

अमेरिका को द ग्रेट डिप्रेशन

२४ अक्टोबर १९१९, अमेरिकी शेयर बजारका लगानीकर्ताका लागि कालो दिन भन्दा फरक पर्दैन ।

त्यहाँ एकै दिन करीब पाँच अर्ब डलरको शेयर क्र्यास भएको सम्भवतः त्यो नै पहिलो घटना थियो । त्यसपछि अमेरिकी शेयर बजारमा दशकौंसम्म उतारचढाव रोकिएन ।

अमेरिकी सरकार र बजार विज्ञहरूले शेयर बजार नियन्त्रण गर्न नपाउँदै फेरि २९ अक्टोबर १९२९, ब्ल्याक ट्यूजडे, अमेरिकी सेयर बजार १४ अर्ब डलरले क्र्यास भयो ।

यो नै थियो द ग्रेट डिप्रेशनको सुरुवात, यो क्रम एक दशकसम्म चलिरह्यो जसको असर अरु राष्ट्रहरूमा पनि प¥यो ।

यस घटनाले १ करोड़ ३० लाख अमेरिकीलाई बेरोजगार बनायो भने भने ५ हजार भन्दा बढी अमेरिकी बैंक नै बन्द भए ।

अमेरिकाको अहिलेको अवस्था त्यस्तै होला भन्नु हतारो हुन्छ तर संकेतहरू गतिला छैनन् । अहिले नै ० लाखभन्दा बढी अमेरिकीहरू बेरोजगार भइसकेको खबर छ ।

कच्चा तेल मूल्य संकट

सन् १९७३ मा पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको संस्था ओपेकले अमेरिकालाई पेट्रोलियम बिक्री गर्न रोक लगाएपछि सुरु भयो ओपेक तेल मूल्य संकट ।

संसारका हरेक देशको ग्रोथ अफ इन्जिन पेट्रोलियम पदार्थलाई मानिन्छ र यसको उत्पादन केही सीमित देशमा मात्र हुन्छ ।

सन् १९७३ मा चौथो अरब—इजरायल युद्धमा अमेरिकाले इजराइललाई हतियार निर्यात गर्न थालेपछि असन्तुष्ट अरब देशहरूले अमेरिकालाई तेलको नाकाबन्दी गरेका थिए ।

इजराइलसँगको हतियार व्यापार अमेरिकालाई महँगो साबितमात्र भएन, चरम पेट्रोलियम संकट उत्पन्न भयो । त्यसको असर अमेरिकाको जीडीपीमा पर्‍यो ।

१२ वर्षअघिको बिश्वव्यापी मन्दी

सन् २००८ मा अमेरिकाबाट सुरु भएको विश्वव्यापी मन्दी २१औँ शताब्दीको ठूलो आर्थिक संकट मानिन्छ ।

यसले सारा विश्वको अर्थतन्त्र तसहनहस गरेको थियो । अमेरिकी बैंकहरूले समयमा कर्जा चुक्ता नगर्ने कम्पनीहरूलाई दबाब स्वरूप कर्जाको ब्याजदर वृद्धि गरेपछि यो संकट सुरु भएको थियो ।

जसलाई सवप्राइम मोर्डगेज कर्जा संकटको संज्ञा दिइयो । ठूला अमेरिकन कम्पनीहरूलाई बैंकले कडाइ गरेपछि उनीहरूले ब्याज तिर्नुको साटो उपभोक्तामा लागत बढाइदिँदा समस्या अझ बढी चुलिएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  २ : ५९ बजे

एक सातासम्म बुटवल आसपासमा लोडसेडिङ हुने

बुटवल – बुटवल आसपास क्षेत्रमा आज देखी एक हप्तासम्म नियमित

वन्यजन्तुबाट तरकारी जोगाउन भीमदत्तका किसानको खेतबारीमै बास

दोधारा चाँदनी – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्किने वन्यजन्तुबाट भीमदत्त नगरपालिकाका

काठमाडौँ महानगरको विकास सहायता कार्यक्रमका लागि ८९ प्रस्ताव छनोट

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको विकास सहायता कार्यक्रमका लागि ८९ वटा

उच्चस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक बस्दै

काठमाडौँ – सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

धनगढी – अन्तिम समयमा आएर हिजो स्थगित हुन पुगेको सुदूरपश्चिम