नौ वर्षमुनिमा बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै « Khabarhub

नौ वर्षमुनिमा बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भीमदत्तनगर – सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो ।

एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । “सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्”, उनले भने ।

कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् । मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५७३ महिला सङ्क्रमित छन् ।

“महिलाहरु पनि प्रायः श्रीमान्सँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी सङ्क्रमित छन्”, उनले भने “समुदायमा महिला सङ्क्रमित सङ्ख्या न्यून छ ।” कोरोनाबाट यहाँ हालसम्म पाँचको मृत्यु भइसकेको छ भने ४७९ सङ्क्रमित निको भइसकेका छन् । यहाँ सबैभन्दा बढी कैलालीका ५९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशक डा अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिममा तीन जिल्लामा पिसीआर मेसिन जडानको काम थालिने बताए । “डोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम शुरु भइसकेको छ”, अवस्थीले भने, “सात/दश दिनमा सबै सामान आइसक्छ ।”

क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गरिँदै

सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टिनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा हालसम्म एक हजार ९३४ स्थानमा करिब ७४ हजार ४३४ श्ययाको क्वारेन्टिन रहेको छ ।

यहाँका क्वारेन्टिनमा १३ हजार १७८ ंबसिरहेका छन् । बितेको एक महिनामा सुदूरपश्चिमका सीमानाका हुँदै एक लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएको तथ्याङ्क छ । तीमध्ये अधिकांश क्वारेन्टिन बसेर घर फर्किसकेका छन् । सरकारले नै सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएसम्म होम क्वारेन्टिनमा बसेर सतर्कता अपनाउन भनेपछि यहाँका आइसोलेसन कक्ष खाली छन् ।

त्यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा १५ स्वास्थ्यकर्मीसहित अग्रमोर्चामा खटिने २४ जनामा सङ्क्रमण देखिएको छ । निर्देशक डा अवस्थीले सङ्क्रमित बढेपछि क्वारेन्टिनलाई आइसोलेसन कक्ष बनाउन थालिएको बताए । “पहिले पनि केही स्थानीय तहले आइसोलेसन कक्ष बनाएका थिए”, उनले भने, “सङ्क्रमित बढ्न थालेपछि क्वारेन्टिनलाई नै आइसोलेसन कक्ष बनाउन थालिएको हो ।”

उनले १४ दिन क्वारेन्टिन बसेकालाई होम क्वारेन्टिन पठाएर आइसोलेसन बढाउन लागेको पनि बताए । यहाँका प्रादेशिक तथा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षमा ८२ सङ्क्रमित र ३० शङ्कास्पद बिरामी उपचारत छन् । “होम क्वारेन्टिन र क्वारेन्टिनमा सङ्क्रमित रहे पनि स्थानीय तहका सबैजसो स्वास्थ्यकर्मीहरुसित उहाँहरु समन्वयमै हुनुहुन्छ”, अवस्थीले भने, “लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिए अस्पताल ल्याएर उपचार गर्ने भनेका छौँ ।”

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : १९ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल