यता हल बन्द, उता डिजिटल प्लेटफर्ममा धमाधम चलचित्र | Khabarhub Khabarhub

यता हल बन्द, उता डिजिटल प्लेटफर्ममा धमाधम चलचित्र



काठमाडौं – विदेशमा डिजिटल प्लेटफर्ममा मात्र रिलिज गर्न पनि चलचित्र बन्छन् । ती चलचित्र दर्शकले हलमा हेर्न पाउँदैनन् । डिजिटल स्ट्रिमिङ साइटमा मात्र रिलिज गरिन्छन् ।

बलिउडमा पनि कतिपय चलचित्र हलमा नभएर सिधै नेटफिल्क्स या अन्य स्ट्रिमिङ साइटमा रिलिज गरिन्छन् । बलिउडकर्मी करण जोहरले हालै ‘ड्राइभ’ नामक चलचित्र हलमा नभई नेटफिल्क्समा रिलिज गरेका थिए ।

यो चलचित्र हलमा रिलिज गर्दा नाफा नहुने देखेर सीधै नेटफिल्क्समा रिलिज गरिएको थियो । हलमा रिलिज गर्दा थप लगानी हुन्छ । नेपाली चलचित्र तयार भएर हलका लागि कोडिङ र प्रमोसन जोड्दा १५ देखि २० लाख रुपैयाँ बढी खर्च लाग्छ ।

यसै पनि डिजिटल स्ट्रिमिङले थिएटरको भविष्यमाथि प्रश्न गरिरहेको युगमा यतिबेला भने डिजिटल स्ट्रिमिङ र टेलिभिजनले दर्शकको ध्यान खिचेका छन् ।

लकडाउनका कारण दर्शकहरू हलमा पुग्न सकेका छैनन् । बरु युट्युब प्लेटफर्ममा भटाभट चलचित्र रिलिज गरिएका छन् ।

नेपाली चलचित्र हेर्न हलमा दर्शक आउँदैनन् तर ती चलचित्र युट्युबमा हिट हुन्छन् । युट्युबमा नि:शुल्क हेरेका दर्शकले पनि चलचित्रले मन छोएको प्रतिक्रिया दिने गर्छन् ।

लकडाउनका बेलामा युट्युबमा पूजा शर्मा र सौगात मल्लको ‘पोइ पर्‍यो काले’ अपलोड गरिएको छ । यो समाचार तयार पार्दा (बिहीवार) सम्म उक्त चलचित्र नेपालमा युट्युबको नम्बर एक ट्रेन्डिङमा छ ।

यस्तै सौगात मल्लकै शीर्ष भूमिका रहेको ‘पञ्चेबाजा’ पनि युट्युबमा सार्वजनिक गरिएको छ । युट्युबका दर्शकले चलचित्र मन परेको प्रतिक्रिया दिन थालेका छन् ।

घनश्याम लामिछानेले निर्देशन गरेको ‘पञ्चेबाजा’ पनि नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर २ मा छ ।

लकडाउनको समय सदुपयोग गर्दै चलचित्र ‘अनुराग’ पनि युट्युबमा हालै रिलिज गरिएको छ । यसमा एलिजा गौतम र समुद्र पण्डितको शीर्ष भूमिका छ ।

युट्युबमा यसै साता प्रियंका कार्की र आयुष्मान देशराज जोशीको शीर्ष भूमिका रहेको चलचित्र ‘प्रेम दिवस’ पनि अपलोड गरिएको छ । यो पनि युट्युबमा ट्रेन्डिङमा परेको थियो । केही चलचित्र रिलिजको तयारीमा छन् ।

एउटा संयोग के छ भने यीमध्ये कुनै चलचित्रले पनि हलबाट व्यावसायिक लाभ लिन सकेका थिएनन् । युट्युबमा भने राम्रो भ्युज पाएका छन् ।

लकडाउनका कारण नेपालका हल बन्द छन् । सरकारले लकडाउन गर्नुभन्दा पहिले नै हल बन्द गर्ने निर्णय गरेको थियो ।

लकडाउन खुला गरिए पनि वैशाख १८ गतेसम्म चलचित्र हल बन्द हुनेछन् । कोरोना भाइरस फैलिने त्रासका कारण यतिबेला नेपालमा मात्र होइन, विदेशमा पनि चलचित्र हल बन्द छन् । छिमेकी मुलुक भारतमा पनि लकडाउन छ । बलिउडले अर्बौं घाटा बेहोर्नुपरेको छ ।

लकडाउनका बेला नेपाली चलचित्रकर्मीले भने आफ्ना चलचित्र भटाभट डिजिटल प्लेटफर्ममा रिलिज गर्न थालेका छन् । यसले एकातिर दर्शकलाई घरैमा मनोरञ्जन दिएको छ भने अर्कातिर निर्मातालाई लाभ पनि भएको छ ।

चैत ५ गतेसम्म चलचित्र ‘आमा’ हलमा चलेको थियो । दीपेन्द्र के खनाल निर्देशित यो चलचित्र लकडाउनका बेला डिसहोममार्फत चैत्र १४ गतेदेखि नै प्रदर्शन गरियो ।

यो चलचित्रले हलबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको थियो । विदेशमा रिलिज नहुँदै डिसहोम प्रयोगकर्ताले घरमै बसेर सपरिवार हेर्ने अवसर पाएका छन् ।

निर्देशक दीपेन्द्र के खनाल भन्छन्, ‘हलमा आमा हेर्न नपाएका दर्शकले आग्रह गरेकाले डिसहोममार्फत रिलिज गरेका हौँ ।’

उनका अनुसार यो चलचित्रले हलमा राम्रो प्रतिक्रिया पाइरहेको थियो । कतिपय दर्शकले हेर्न मन गरेर पनि कोरोना भाइरस संक्रमणका कारणले पाएका थिएनन् । लगत्तै हल पनि बन्द गरिए ।

चलचित्र ‘आमा’ को एक दृश्यमा मिथिला शर्मा र सुरक्षा पन्त ।

‘हामीले डिसहोममार्फत रिलिज गरेपछि दर्शकले धन्यवाद भन्दै म्यासेज गरिरहनुभएको छ, उहाँहरुलाई पनि घरमा सपरिवार चलचित्र हेर्ने अवसर जुरेको छ,’ निर्देशक खनाल भन्छन्, ‘विदेशमा पनि हलमा रिलिज गरिएपछि अरू प्लेटफर्ममा रिलिज गर्ने गरिन्छ, हामीले पनि दर्शकको माग सम्बोधन गरेका हौं ।’

यता निर्देशक घनश्याम लामिछाने लकडाउनका बेला घरमै बसेका दर्शकलाई नेपाली चलचित्र हेर्ने अवसर मिलोस् भनेर ‘पञ्चेबाजा’ युट्युब रिलिज गरिएको बताउँछन् । उनी भन्छन्, ‘लडडाउनको समयमा दर्शक घरमै बस्नुभएको छ, हल बन्द हुँदा नेपाली चलचित्र हेर्न पाउनुभएको छैन, यो अवस्थामा दर्शकलाई पनि चलचित्र हेर्ने मौका हुन्छ भनेर अहिले नै युट्युबमार्फत रिलिज गरेका हौं ।’

निर्देशक लामिछानेका अनुसार यो चलचित्र वैशाखमा युट्युब रिलिज गर्ने योजना थियो ।

‘यतिबेला चलचित्र रिलिज हुँदा निर्माता, निर्देशकलाई खासै आर्थिक लाभ हुँदैन, हामीले पहिले नै डिजिटल राइट्स बेचिसकेका हुन्छौं,’ लामिछाने स्पष्ट पार्छन्, ‘धेरै दर्शकले हाम्रो चलचित्र हेर्नुहुन्छ र प्रतिक्रिया दिनुहुन्छ, चलचित्रकर्मीलाई हुने फाइदा यही हो ।’

दर्शकले नेपाली चलचित्र हेर्ने अवसर नपाएका यस्तो वेलामा युट्युब प्लेटफर्ममा भए पनि हेर्न पाऊन् भनेर युट्युब रिलिज भएको लामिछाने बताउँछन् ।

चलचित्र ‘पञ्चेबाजा’ पनि युट्युबमा रिलिज गरिएको छ ।

त्यसो त नेपालमा युट्युब र टेलिभिजन बाहेक अन्य स्ट्रिमिङ साइट त्यति प्रभावकारी छैनन् । भिडियो पसल, फोपी, आइफिल्क्स लगायतका एपले नेपाली चलचित्र स्ट्रिमिङको प्रयास गरे पनि ती एपमा हेर्नमा दर्शकले खासै रुचि देखाएका छैनन् । बरु विदेशी चलचित्र हेर्न दर्शक नेटफिल्क्स र अमेजन प्राइमजस्ता स्ट्रिमिङ साइटका ग्राहक बनिरहेका छन् ।

चलचित्र नि:शुल्क हेर्न पाइने भएकाले पनि दर्शकका लागि नेपालमा युट्युब लोकप्रिय माध्यम बनेको छ ।

निर्देशक नरेश कुमार केसी ‘लकडाउन’ को समयमा युट्युबमार्फत चलचित्र रिलिज गर्नु सकारात्मक मान्छन् । उनका अनुसार अहिलेको अवस्थामा नेपाली चलचित्र प्रदर्शन गर्न यो एक उत्तम विकल्प हो । उनी भन्छन्, ‘युट्युबबाट चलचित्र रिलिज गर्दा दर्शकले हेर्न पाउनुहुन्छ, यसले दर्शक र मेकर दुवैलाई फाइदा हुन्छ ।’

निर्देशक नरेश कुमार केसी डिजिटल स्ट्रिमिङ साइटमा फिल्म रिलिज हुनुलाई सकारात्मक रुपमा लिन्छन् ।

‘एउटा मेकरका लागि दर्शकले जति चलचित्र हेर्‍यो, त्यति राम्रो हुन्छ, अहिलेको परिवेशमा दर्शक घरको घर भएर डिप्रेसनमा पनि जानुभएको छ,’ केसी भन्छन्, ‘नेपालमा नेटफिल्क्स छैन, अमेजन प्राइम छैन, नेपालसँग जे छ, त्यही प्लेटफर्म प्रयोग गरेर दर्शकसँग पुर्‍याउनु राम्रो हो ।’

उनका अनुसार अबको चलचित्र निर्माण ‘दर्पण छायाँ’ बन्दाको जस्तो होइन । पहिले हलमा मात्र रिलिज गर्न चलचित्र बनाइन्थे, अब भने थिएटरसँगै डिजिटल रिलिजका लागि पनि निर्माताले सोच बनाइरहेका हुन्छन् ।

यतिबेला विश्वभरि नै डिजिटल माध्यमबाट चलचित्र रिलिज भइरहेका छन् । बलिउड, हलिउडदेखि चीनका कतिपय हल पनि बन्द छन् । दर्शकका लागि डिजिटल माध्यम नै राम्रो विकल्प बनेको छ ।

‘चलचित्र आमा हलमा रिलिज भएको केही दिनमै डिसहोममार्फत रिलिज गरियो, हलमा हेर्न नपाएका दर्शकले घरमै बसेर हेर्न पाउनुहुने भयो,’ निर्देशक नरेश कुमार केसी भन्छन्, ‘हलमा हेरेजस्तो आनन्द टिभीमा हेर्दा नआउन सक्छ तर अहिलेका लागि डिजिटल प्लेटफर्म नै एउटा विकल्प हो ।’

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ११ : २१ बजे

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित

गण्डकी– वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन