रोकिएन बालविवाह : २० वर्ष नपुग्दै साढे १५ प्रतिशत किशोरी आमा बने « Khabarhub

रोकिएन बालविवाह : २० वर्ष नपुग्दै साढे १५ प्रतिशत किशोरी आमा बने


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको सङ्ख्या पनि बढ्दो छ ।

कानूनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्ये १५ दशमलव ५ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ । २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीहरूको विवाह भने १५ देखि १८ वर्षमा भएको पाइएको जिल्ला सामुदायिक अस्पतालको अनुमान छ ।

“सानै उमेरमा विवाह गर्नै हुँदैन”, अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले भने, “परिवक्व नभइ विहे गर्दा किशोरीको गर्भ तुहिने, रक्तश्राव हुने, बच्चा जन्माउन गाह्रो हुने र ज्यानै जानेसम्मको अवस्था आउन सक्छ ।”

अधिकांश किशोरीलाई शल्यक्रियामार्फत सुत्केरी बनाउनुपर्ने बाध्यता त्यसैका कारण भइरहेको उनको भनाइ छ । “उमेरै नपुगी विहे गर्ने धेरैजनाको पाठेघर खस्ने समस्या देखिएको छ”, उनले भने, “अन्य गम्भीर स्वास्थ्य समस्या पनि देखिन थालेका छन् ।” कम उमेरमा सन्तान जन्माउँदा मातृ–शिशु मृत्युदरको उच्च जोखिम रहेको प्रमुख श्रेष्ठको भनाइ छ ।

अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्याङ्कमा प्रसूति गराउनेमध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिने गरेको उनले बताए । आर्थिक वर्ष २०७६/७७ मा अस्पतालमा एक हजार एक सय २३ महिला आमा बनेका छन् ।

तीमध्ये एक सय ७१ किशोरी अर्थात साढे १५ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको तथ्याङ्कले देखाएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा अस्पतालमा एक हजार ११ महिला आमा बनेका छन् ।

तीमध्ये एक सय ८३ जना अर्थात १८ दशमलव १० प्रतिशत महिला २० वर्षमुनिका रहेको अस्पतालले जनाएको छ ।

यसैगरी आर्थिक वर्ष २०७४/०७५ मा एक हजार तीन सय २२ महिला आमा बनेका छन् । तीमध्ये तीन सय ६३ जना अर्थात २७ दशमलव ४५ प्रतिशत महिला २० वर्षमुनिका रहेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

लमजुङ, मनाङ, तनहुँ र गोरखा क्षेत्रमा पायक पर्ने अधिकांश महिला लमजुङ जिल्ला सामुदायिक अस्पताललगायत स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र लमजुङ जिल्ला सामुदायिक अस्पतालले मातृ शिशु सुरक्षा कार्यक्रमअन्तर्गत गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गरी कम उमेरमा विवाह नगर्न सल्लाह दिए पनि अझै उमेर नपुगी विवाह गर्ने चलन नरोकिनु जनचेतनाको अभाव र आमा सुरक्षा कार्यक्रमका लागि चुनौतीको विषय बनेको छ ।

जिल्लाका विभिन्न गैरसरकारी सङ्घसंस्था, विद्यालय, बाल क्लबलगायत पनि बालविवाहविरुद्धको अभियानमा छन् । केही विद्यालयले बालविवाह गरेकालाई पढ्न नै नआउनू भनेका पनि छन् । सामाजिक मान्यता, गरिबी, बेरोजगारी, देखासिकी, सञ्चार माध्यमको दुरुपयोग आदिका कारण बालविवाह नघटेको बताइएको छ ।

“पहिले पहिले महिनावारी नहुँदै छोरीको विवाह गरिदिनुपर्छ भन्ने थियो, त्यो गलत संस्कार अझै पनि कतिले छाडेका छैनन्”, प्रमुख श्रेष्ठले भने, “देखासिकी र घरपरिवारको दबाबले पनि सानै उमेरमा विवाह भइरहेको छ ।”

अभिभावकले बालबालिकालाई निगरानीमा नराख्दा पनि हुने आफूखुसी विवाहमा उमेर नपुगेकाहरू भेटिने गरेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयले स्थानीय तहसँग समन्वय गरेर बालविवाह नियन्त्रण अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

बालविवाह गर्ने र गराउनेलाई कारबाही गर्दै आए पनि रोक्न सजिलो नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घरायसी वातावरण, परम्परागत संस्कार र सञ्चार माध्यमको बढ्दो प्रयोगले कम उमेरमा विवाह गर्ने क्रम बढेको पाइन्छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  २ : ५५ बजे

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९