काठमाडौं– नेपालगञ्जमा थप ६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार आइतबार साँझ नेपालञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आज मात्रै नेपालगञ्जमा ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
डा अधिकारीका अनुसार आइतबार साँझ कोरोना पुष्टि भएका ६ जनाको उमेर क्रमश १६,२१ र ३४ वर्षका पुरुष र ४०,५५ र ६० वर्षका महिला छन् ।
यसअघि स्वास्थ्य मन्त्रालयले आइतबारको नियमित लाइभ अपडेटमा नेपालगञ्जका ९ जना र वीरगञ्जमा १ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको थियो ।
नेपालगञ्जमा संक्रमण पुष्टि भएका १५ जना यसअघि शुक्रबार भेटिएका ६० वर्षीया कोरोना संक्रमित पुरुषको सम्पर्कमा रहेको व्यक्ति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नयाँ ६ जनामा कोरोना पुष्टि भएसँगै नेपालगञ्जमा मात्र कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
आज दिउँसो पर्साका ३६ वर्षीया पुरुष र नेपालगञ्जको प्रयोगशालामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको थियो। दिउँसो संक्रमण पुष्टि भएकाहरु ५ जना पुरुष र ४ जना महिला छन् । उनीहर ७ देखि ५८ वर्ष उमेरका छन् ।
पर्सामा देखिएका ३६ वर्षीया कोरोना संक्रमितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो भने ९ जनाको नेपालगञ्जको प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।
आज संक्रमण पुष्टि भएका मध्ये वीरगञ्जका संक्रमितलाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । यस्तै नेपालगञ्जमा संक्रमण पुष्टि भएकाहरुलाई नेपालगञ्जको कोरोना विशेष अस्पतालमा लगिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबार साँझ जारी गरेको विज्ञप्ति
प्रतिक्रिया