काठमाडौं – कोरोनाभाइरसको संक्रमणले विश्वब्यापी रुप लिइरहँदा नेपालले पनि आइतबारयता अपरझटपूर्ण निर्यणहरु गरेको छ ।
अतिजोखिम ठानिएका मुलुकको भ्रमणमा जान रोक लगाउनेदेखि सभा/सम्मेलन गर्नमा समेत कडाईं लगाइरहँदा नेपाल प्रहरीले पनि सतर्कताका उपाय सुरु गरेको छ ।
प्रहरी अस्पताल र प्रहरी प्रधान कार्यालयमार्फत आन्तरिक रुपमा स्वास्थ्य सचेतना सुरु गरिएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
विमानस्थल, ट्राफिक चेकिङ र भीडभाडमा खटिने प्रहरीलाई अनिवार्य मास्क लगाउन निर्देशन दिइएको प्रहरी प्रवक्ता क्षेत्रीले बताएका छन् ।
त्यसबाहेक साबुनपानीले हात धुने, स्वास्थ्यमा समस्या देखिए परीक्षण गरिहाल्न पनि सुझाइएको छ। सकेसम्म हात नमिलाउन र नमस्ते गर्न निर्देशन दिइएको छ ।
प्रहरीमा अभिवादन गरिदै आए पनि साथिभाई र सेवाग्राहीसँग हात मिलाइदै आएको थियो । आइन्दा त्यस्तो नगर्न उर्दी जारी गरिएको छ ।
कोरोनाकै प्रभावले फागुन २३ र २४ गते धनगढीमा तय गरिएको सुदूरपश्चिम प्रदेशको सुरक्षा गोष्ठी पनि तत्काललाई स्थगित गरिएको छ ।
यस्तै कोरोनाकै कारण मापसे चेकिङ समेत फितलो भएको छ । ट्राफिक प्रहरीसँग पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा शंकित व्यक्तिलाई मुखले सुँघेर गरिदै आएको चेकिङ अहिलेलाई स्थगित भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले जानकारी दिए ।
प्रतिक्रिया