खाली विद्यालय भवनमा कोभिड अस्पताल « Khabarhub

खाली विद्यालय भवनमा कोभिड अस्पताल


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– खाली रहेको विद्यालय भवन उपयोग गरेर बागलुङको काठेखोला गाउँपालिकाले अस्थायी कोभिड–१९ अस्पताल निर्माण गरेको छ ।

काठेखोला वडा नं ६ बिहुँमा रहेको भीमसेन प्राथमिक विद्यालयको भवनमा कोरोना सङ्क्रमितको उपचारका लागि १० शय्याको अस्पताल तयार गरिएको हो ।

विद्यार्थी सङ्ख्या कम भएर नजिकैको अर्को विद्यालयमा प्राथमिक तह गाभिएपछि खाली रहेको सो विद्यालयको भवन उपयोग गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए ।

भीमसेन प्रावि नजिकै रहेको भीमसेन माविमा गाभिएपछि भवन खाली थियो । “अस्थायी अस्पताल बनाउन अन्य भवन थिएनन्, विद्यालयको खाली भवनको उपयोग गर्यौं”, उनले भने, “कोभिड अवधिभर यो भवनमा अस्पताल रहनेछ ।”

पहिले क्वारेन्टाइन बनाइएको भवनमा शय्याका लागि आवश्यक पूर्वाधार निर्माण गरेर अस्पतालका रुपमा विकास गरिएको हो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले जनस्वास्थ्य अधिकृत सातौँ तहका रामचन्द्र लामाको नेतृत्वमा चार जना खटाएको छ । दुई स्टार्फ नर्स करार सेवामा छन् । एक कार्यालय सहयोगी पहिलेदेखि नै सेवारत छन् ।

“अस्थायी भए पनि अस्पताल हो, आवश्यक पूर्वाधार सम्पन्न बनाइएको छ”, प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले भने, “मितव्ययी हिसाबले बिरामीको हितमा अस्पताल चल्नेछ ।”

अस्पतालको अनुगमन गाउँपालिकाले गर्ने तथा आवश्यक पूर्वाधार, उपकरण र औषधिको व्यवस्था गरिएको उनले बताए।

गाउँपालिकालाई सङ्घीय सरकारले अस्थायी कोभिड अस्पतालको लागि रु १० लाख उपलब्ध गराएको थियो । रु पाँच लाख कर्मचारीको व्यवस्थापन र बाँकी रु पाँच लाखमा पूर्वाधार निर्माण गर्ने कार्यविधि छ ।

“सरकारले पाँच शय्याको अस्पताल बनाउन भनेको थियो, हामीले दश शय्याको बनायौँ”, अध्यक्ष थापाले भने, “सम्भावित बिरामी, जनशक्ति र पूर्वाधारका आधारमा शय्या बढाइएको हो ।” गाउँपालिकाले चिकित्सकका लागि आवेदन मागे पनि नपरेपछि जनस्वास्थ्य अधिकृतलाई जिम्मेवारी दिएर थप प्रक्रियामा लागेको छ ।

काठेखोलामा हालसम्म ७८ सङ्क्रमितमध्ये ७४ जना निको भइसकेका छन् । अस्थायी अस्पतालमा दुई जनाले उपचार गराइरहेका छन् । अस्पतालमा रहेका सङ्क्रमितलाई आइसोलेसनमा दैनिक तीन पटक खानाको व्यवस्था गरिएको र कोभिड महामारीमा काम गर्ने स्वास्थ्यकर्मीलाई ५० र ७५ प्रतिशत जोखिम भत्ताको व्यवस्थापन गरिइको गाउँपालिकाले जनाएको छ ।

अस्पताल सञ्चालनपछि अक्सिजन आवश्यक बिरामीको काठेखोलामै उपचार हुनेछ । भेण्टिलेटर र सघन उपचार कक्षका आवश्यक बिरामीलाई मात्रै सदरमुकाम बागलुङ बजार पठाइने छ ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १२ : १० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार