राष्ट्रियसभा निर्वाचनका लागि राजपा र समाजवादीले उम्मेदवार टुंगो लगाए « Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि राजपा र समाजवादीले उम्मेदवार टुंगो लगाए


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएका छन् ।

राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश २ बाट अन्य समूहमा मृगेन्द्रकुमारसिंह यादव र अल्पसंख्यक/अपांगता समूहबाट शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले बताए ।

यादव र सिंह दुबै जना पार्टीको वरिष्ठ उपाध्यक्ष हुन् । दुबै जना सप्तरी निवासी हुन् । यादव संयोजक महतो निकटका हुन् भने सिंह अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी निकटका नेता हुन् ।

राजपाबाट यसअघि राजपाको तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका रमेश यादव र बृखेशचन्द्र लालको पदावधि सकिँदै छ । रमेश नेता महन्थ ठाकुर निकट र बृखेशचन्द्र नेता महेन्द्रराय यादव निकटका नेता हुन् ।

ठाकुर र यादव हाल सदस्य भएकालाई नै दोहोर्‍याउने पक्षमा थिए भने महतो, भण्डारीसहित राजकिशोर यादव र अनिल झा नयाँ अनुहार पठाउने पक्षमा उभिएका थिए ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाले प्रदेश २ तर्फको चार सिटमा दुई/दुई सिट लिने र एकअर्कालाई सहयोग गर्ने सहमति २ पुसमा नै गरिसकेका छन् ।

यसैगरी, समाजवादी पार्टीको शनिबार बसेको पदाधिकारी बैठकले अहिले भएका सदस्यलाई नै दोहोर्‍याउने निर्णय गरेको छ । समाजवादी पार्टीका महासचिव रामसहाय यादवले दलितबाट सदस्य भएका रामपृत पासवानलाई नै पुनः उम्मेदवार बनाउने निर्णय भएको बताए ।

अन्य समूहबाट हुने उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी समाजवादी पार्टीका बीचमा राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति शुक्रबार नै भएको छ ।

प्रदेश २ मा हुने ४ पदको निर्वाचनमा कांग्रेसका तर्फबाट महिला र अल्पसंख्यक तथा समाजवादीका तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने सहमति कांग्रेस र समाजवादीबीच भएको छ । नेकपाले शुक्रबार र कांग्रेसले शनिबार उम्मेदवारको टुंगो लगाइसकेका छन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ७ : ५५ बजे

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति