महोत्तरी- महोत्तरीमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जिल्लाको भंगहाका ११ जना ,जलेश्वरका १ जना, बर्दिबासका १ र एकडाराका १ जना गरी १४ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गिरेन्द्रकुमार झाले जानकारी दिए ।
योसँगै महोत्तरीमा कुल संक्रमितको संख्या ९३० पुगेको छ । यसअघि हिजो १४ जना सेना र एक सशस्त्र प्रहरी सहित १५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो।
जलेश्वर नगरपालिका र महोत्तरी जिल्लामै कोरोना संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
सीमामा चोरबाटो भएर मानिसको आवतजावत हुनु र जिल्लाभित्रै सञ्चालनमा रहेको क्वारेन्टाइनहरू व्यवस्थित हुन नसक्नुले कोरोनाको जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् ।
बर्दिबास उद्योग वाणिज्य संघले पनि कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आफ्ना मातहतका सम्पूर्ण व्यवसायीहरुलाई सचेत रहन आग्रह गरेको छ । उद्योग वाणिज्य संघले सचेतनामूलक जानकारीसहित माइकिङ गरी आमजनसमुदाययमा सचेत गराएको होटल व्यवसायी संघ महोत्तरीले जनाएको छ ।
यसैबीच गत साउन १५ गतेदेखि जारी निषेधाज्ञा साउन २५ गतेसम्मका लागि थपिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञाको समय साउन २५ गतेसम्मका लागि थप गरिएको जानकारी दिएको छ ।
यस्तो छ विज्ञप्ति
प्रतिक्रिया