अब्बल दृष्टिविहीन– जसले ब्रेललिपी छाडेर प्रविधिमार्फत पढाइ अघि बढाए | Khabarhub Khabarhub

अब्बल दृष्टिविहीन– जसले ब्रेललिपी छाडेर प्रविधिमार्फत पढाइ अघि बढाए



नवलपरासी– नवलपरासीपूर्व देवचुलीका दृष्टिविहीन सौगात वाग्ले स्नातक तहमा डेभलपमेन्ट फाइनान्स अध्ययनरत छन् ।

काठमाडौँ विश्वविद्यालय अन्तर्गतको नेशनल कलेजमा डेभलपमेन्ट फाइनान्समा पढ्दै गरेका उनी जन्मदै दृष्टिविहीन हुन् ।

पोखराको अमर स्कुलमा एसएलसीसम्मको अध्ययनपूरा गरेपछि उनी उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गए । अमर स्कुलमा ब्रेललिपी सिकेपछि उनी ३ कक्षामा भर्ना भएका थिए । दृष्टिविहीन भएर पनि उनले आँखा देख्नेहरुसँगै प्रतिष्पर्धा गरे । स्कुलको होस्टेलमा बस्दा भने उनी दृष्टिविहीनहरुसँगै बस्थे । १० कक्षासम्म उनले यसरी नै पढे ।

शुरुमा उनको अलिअलि दृष्टि थियो । त्यसैले प्रगतिनगरको विश्वज्योति स्कुलमा परिवारले नर्सरीमा भर्ना गरिदिए । सामान्य विद्यार्थीसँगै उनी नर्सरीमा पढ्दासम्म कालोपाटीमा चकले लेख्न सक्थे भने कापीमा साइन पेनले लेख्ने गरे ।

आँखा नदेखेकै कारण उनी नर्सरीमा चार वर्ष पढे । कक्षा उत्तीर्ण हुन सकेनन् । छोराले आँखा देख्छ कि भनेर उनकी आमाले भैरहवास्थित रणअम्बिका आँखा अस्पतालमा लगिन् ।

रणअम्बिका आँखा अस्पतालले पोखराको हिमालयन आई हस्पिटलमा लैजान सुझाव दियो । तर हिमालयन आई हस्पिटलले दृष्टि नखुल्ने बताइपछि भने दृष्टिविहीन विद्यालयको खोजी गर्दै पोखराकै अमर स्कुल पुगिन् आमा सरस्वति वाग्ले । चार वर्षसम्मको नर्सरी कक्षामा पढेका सौगातको अमर स्कुलमा तेजावी विद्यार्थी बन्दै गए ।

आँखा नदेखेर चार वर्ष नर्सरीमा पढेकैले गर्दा आफ्नो जग बलियो भएको ठान्छन् । १० कक्षापछि सौगातले ब्रेललिपी छाडिदिए ।

नोबेल एकेडेमीका एक्लो दृष्टिविहीन

एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ गएका सौगात नोवेल एकेडेमीमा भर्ना भए । नोबेल एकेडेमीमा उनी एक्लो दृष्टिविहीन थिए । उनी दृष्टि भएकाहरुसँगै पढे । उनले ल्याबटपमै लेखेर पढ्न थाले । प्रविधिको प्रयोग गरेर उनले पढाइलाई अगाडि बढाए ।

‘म ल्याबटपमा लेखेर पढें,’ उनले भने, ‘मैले ल्याबटपमा लेख्थें, साथीहरु कापीमा लेख्थे ।’ उनका साथीहरु पनि सहयोगी थिए ।

‘ठूला बुकहरु मैले देख्न सक्दिनथें । देख्ने साथीहरुलाई पढेर सुनाइदेउ भन्थे । उनीहरुले अडियो रेकर्ड गरिदिन्छन् । मैले सुनेर पढ्छु ।’ सौगातले भने ।

ब्रेल लिपीको पढाइ दृष्टिविहीनका लागि मात्रै हुने उनले बताए । ‘कम्प्युटरमा लेखेको कुरा जोकसैले पनि पढ्न सक्छ, तर ब्रेल लिपी दृष्टिविहीनले मात्रै पढ्न सक्छ,’ उनले भने ।

मिस्टर ब्लाइण्ड रकर

सौगात वाग्ले मिस्टर ब्लाइण्ड रकर पनि हुन् । ब्लाइण्ड रक्सको आयोजनामा सन् २०१९मा भएको प्रतिष्पर्धामा देशभरका ५० जना दृष्टिविहीन प्रतिष्पर्धीलाई उछिनेर उनले ‘मिस्टर ब्लाइण्ड रकर २०१९’ को उपाधि चुमेका थिए ।

यो उपाधिले सौगातलाई समाजमा अझ बढी स्थापित गर्यो । यहि प्लेटफर्मले गर्दा आफू थप स्थापित भएको उनले महशुस गरे । ‘यो उपाधि भन्दा पनि यो प्लटफर्मले गर्दा समाजमा म छु भनेर चिनिन पाएँ,’ उनी गर्व गर्छन् ।

दुई भाइ नै दृष्टिविहीन

सौगातका परिवार शिक्षित छन् । बुवा समाजसेवामा र आमा देवचुलीकै नेपाल माविकी शिक्षिका हुन् । उनका एक दिदी र एउटा भाइ छन् । आमा बुवा र दिदीलाई कुनै समस्या नभए पनि उनीपछिका भाइले पनि आँखा देखेनन् ।

लामो समयको अन्तरालमा जन्मिएको भाइ पनि दृष्टिविहीन भएपछि उनी आफूलाई भाइको अभिभावक सम्झिन्छन् । भाइको जिम्मेवारी पनि आफ्नो काँधमा आएको उनी महशुश गर्छन् ।

जिनले गर्दा दाजुभाइलाई यस्तो समस्या देखिएको उनको बुझाइ छ । ‘पहिलो छोरी भएकाले त्यो समस्या देखिएन । छोरी भनेको एक्स एक्स क्रोमोजोम । छोरा भनेको एक्स वाई क्रोमोजोम भएकाले वाइमा खराब थियो कि,’ उनले भने ।

कोरोना संक्रमणपछि घरमै रहेका उनले भाइलाई अधिकांश समय शिक्षण सिकाइमा मद्दत गर्छन् । उनी भाइ अझै टाठो रहेको बताउँछन् ।

ललितपुरको लगनखेलमा नमुना मच्छिन्द्र स्कुलमा दृष्टिविहीनहरुसँगै पढ्छन् उनका भाइ संसार वाग्ले ।

‘मुख्य कुरा अनुशाशित बनाउनुपर्यो । अध्ययनप्रति लगाव र अनुशाशित भएपछि कुनै समस्या भएन,’ उनी भन्छन् ।

अटाउन नसकेको सेतो छडी

समाजमा हुने घटनाक्रमहरुले पनि सौगातलाई खिन्न बनाउँछ । तपाईंले पानी पोख्दा ‘ए पोखियो’ भन्ने, मैले पानी पोख्दा दृष्टिबिहिन भएर पानी पोख्यो भन्छन् । यस्ता कुराले खिन्न बनाउँछ’, उनी भन्छन् ।

१९ वर्षीय सौगात समाजको दृष्टिकोण अझै पनि बदलिन नसकेकोमा दुःखी छन् । हिड्दा सेतो छडीले समेत स्थान नपाएको महशुश गरेका उनको सेतो छडीलाई ठाउँ दिन राज्यसँग माग गर्छन् । दृष्टि नभएकै कारण आफूले भागेका विगतका पीडाहरु उनी कहिल्यै विर्सिदैनन् ।

नोवेल एकेडेमीमा पढ्दै गर्दा कक्षा ११ को परीक्षा चल्दै थियो । रत्न राज्य कलेजमा परीक्षा केन्द्र थियो । अन्तिम दिन अकाउन्टको परीक्षा थियो, थप गरिएको समय सकिनु १५ मिनेटअघि नै कापी खोसियो । कापी खोसिएकोमा उनलाई खासै पीडा भएन तर यिनीहरुलाई जति समय थपे पनि हुँदैन भन्ने मेडमको शब्दले घोँचिरह्यो ।

कक्षा १२ को परीक्षामा पनि उनले त्यस्तै पीडा भोग्नु पर्यो । आफूभन्दा तल्लो कक्षाको सहयोगी राख्न पाइने भएकाले उनले गोल्डेन गेटका कक्षा ११ का साथीलाई सहयोगी राखे ।

‘पहिलो दिन अंगेजीको परीक्षा थियो । लेख्दै थियौं, ३५ अंकको परीक्षा लेखिसकेको थिएँ । सहयोगीलाई केन्द्राध्यक्षले ११ को सहयोगी राख्न मिल्दैन भन्नुभयो ।

नमिल्ने नै हो भने पनि आज एक दिनलाई दिनुस्, भनेर आग्रह गरें तर मान्नु भएन, निकाल्दिनुभयो । त्यसपछि एक घण्टासम्म रोएँ । सम्झिँदा अहिले पनि मन अमिलो हुन्छ ।’ उनले भने, ‘एक घण्टापछि १० कक्षा पढ्ने सहयोगी पाएँ तर पनि अंग्रेजीमा ए प्लस ल्याएको थिएँ,’ उनले सुनाए ।

यी त प्रतिनिधि उदाहरण मात्र हुन्, हिड्दा हिड्दा धेरै ठाउँमा ठोक्किएर स्पात भइसकेको उनी बताउँछन् ।

प्रविधिको साथ

कम्प्युटरमा एनभीडीए (नन भिजुअल डिस्प्ले एक्सिस्) र मोबाइलमा टक ब्याकले सफ्टवेयरले गर्दा दृष्टिविहीनलाई अरु सहयोगीको आवश्यक पर्दैन ।

‘तपाईँ कम्प्युटरमा प्रिन्टमा लेख्नुहुन्छ, मैले सुन्छु । तपाईं हेरेर मोबाइल चलाउनुहुन्छ । मसँग सुन्ने सफ्टवेयर हुन्छ । फरक यति हो,’ उनी भन्छन् । एनभीडीए सफ्ट वेयरले फोटो मात्रै ‘रिड’ गर्दैन ।

साहित्यमा रुची राख्ने सौगात फुर्सदका बेला लेख रचनाहरु पनि लेख्ने गर्छन् । आजसम्म ७० वटा गजल लेखेको उनले बताए ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ११ : ५८ बजे

दुर्गा प्रसाईं अस्पताल भर्ना

काठमाडौं – प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पताल

‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’

काठमाडौं । लेखक तथा अनुवादक मञ्जुश्री थापाले नेपाली साहित्यमा महिलाको

सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव

मोरङ – खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार नेपाली जनतालाई स्वच्छ

धितोपत्र बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि सिफारिस

बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : मन्त्री पाण्डे

भक्तपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको