काठमाडौं- नेपाली कांग्रेसले महाधिवेशन आगामी फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ संक्रमणका कारण तीन महिना पार्टीका सबै गतिविधि ठप्प भए पनि केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा गर्ने पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो ।
केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको अधिवेशनको तालिका भने परिमार्जन गर्ने निर्णय गरेको छ ।
बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा परिमार्जित तालिका प्रस्तुत गरेका थिए । प्रस्तावित नागरिकता विधेयक र केन्द्रीय महाधिवेशनको तालिकासम्बन्धी एजेण्डा राखेर असार १६ गतेदेखि कांग्रेस बैठक सुरु भएको थियो ।
महाधिवेशनका लागि नयाँ प्रस्तावित तालिकामा क्रियाशील सदस्यताको नवीकरण, वितरण र छानबिन प्रकृया सकेर मंसिर मसान्तभित्र सम्पूर्ण सूची निर्वाचन आयोगलाई बुझाई सक्नुपर्ने उल्लेख छ ।
पुरानो राज्य संरचनाका आधारमा रहेको पार्टीका संरचनालाई समायोजन गर्न कांग्रेसले मंसिरदेखि नै सुरु गरेको हो । २६ जिल्लाको समायोजन हुन अझै बाँकी छन् । बैठकले समायोजनको काम साउन १० गते भित्र सक्ने लक्ष्य लिएको छ ।
क्रियाशील सदस्यताको वितरण, नवीकरण साउन मसान्तभित्र सक्ने र भदौ मसान्तभित्र सदस्यताको सूची केन्द्रमा पठाई सक्न मातहतका स्थानीय निकायलाई निर्देशन गरेको छ ।
क्रियाशील सदस्यतामाथि उजुरी गर्ने समय असोज मसान्त, पुनरावेदनका लाग कात्तिक मसान्त र सम्पूर्ण विवाद टुंगाउनका लागि मंसिर २५ गते सम्मको समय दिइएको छ ।
यस्तो छ महाधिवेशनको कार्यतालिका
- केन्द्रीय अधिवेशन फागुन ७, ८, ९ र १० गते ।
- गाउँ /नगर, वडा अधिवेशन ०७७ पुस ६ गते
- गाउँ/नगरपालिका अधिवेशन ०७७ पुस ८ गते
- प्रदेशसभा क्षत्रीय अधिवेशन ०७७ पुस ११ गते
- प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको
- जिल्लाका अधिवेशन ०७७ पुस १३
- एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका अधिवेशन ०७७ पुस १६
- प्रदेश अधिवेशन माघ ६ गते
प्रतिक्रिया