धनुषा – धनुषाको बटेश्वर गाउँपालिकामा काठ ओसार्न लागेको समूह र प्रहरीबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।
आइतबार राति १२ बजेतिर काठ ओसार पसारको विषयमा झडप हुँदा दुई प्रहरी र तीन जना स्थानीय घाइते भएको प्रहरीले जनाएको छ ।
बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि पुगेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोली र स्थानीयबीच झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता मकेन्द्र कुमार मिश्रका अनुसार ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिनेक्रममा ६०/७० जना स्थानीयबासीसँग झडप भएको हो ।
ट्याक्टरमा लोड गरिएको सखुवाको ८ थान गोलिया काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको र फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया