दशगजामा भारतीयको कुटपिटबाट घाइते एक नेपालीको मृत्यु « Khabarhub

दशगजामा भारतीयको कुटपिटबाट घाइते एक नेपालीको मृत्यु


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज— भारतीयहरूको कुटपिटबाट गम्भीर घाइते भएका एक नेपालीको मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६, कटैयाका ५५ वर्षीय रामदेव यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) तिलक भारतीका अनुसार नेपाल–भारत सीमाको दशगाजा क्षेत्रमा नेपालीको धानबाली भैँसीलाई खुवाएको विषयमा विवाद हुँदा रामदेवमाथि कुटपिट भएको थियो । घटना यही भदौ ६ गतेको हो ।

गम्भीर घाइते रामदेवको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार मृत्यु भएको हो ।

दशगाजा क्षेत्र नजिक नेपालीको खेतमा लगाएको धानबालीमा भारत, बिहारको मधुवनी जिल्ला, लौकही प्रखण्ड, ग्राम करयौत निवासी भैँसी चरवाहरूले आफ्ना भैँसी छाडेका थिए । आफ्नो धानबालीमा भैँसी चरेको देखेर रामदेव र उनका छोरा ३० वर्षीय ललनकुमारले भैँसी धपाउने प्रयास गरेका थिए ।

यस क्रममा भनाभन र विवाद हुँदा भैँसी चरवा भारतीयहरूले बाबुछोरालाई कुटपिट गरेका थिए । इलाका प्रहरी चौकी पातोका प्रहरी नायब निरीक्षक (सई) नवीनकुमार झाका अनुसार बाबुछोरामाथि लाठी र बाँसको भाटाले कुटपिट भएको थियो । कुटपिटबाट रामदेवको करङ भाँचिएको तथा पेट र टाउकोमा गम्भीर चोट लागेको थियो ।

रादेवलाई तत्काल राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएकोमा थप उपचारको लागि विराटनगर रेफर भएको थियो । रामेदवका छमेकी अनिलकुमार यादवका अनुसार विराटनगरमा कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि धरान लगिएको थियो । सामान्य घायते भएका छोरा ललनकुमार स्थानीय अस्पतालमा उपचारपछि फर्केका थिए ।

कुटपिटको आरोपमा एक भारतीय नागरिक नेपाल प्रहरीको नियन्त्रणमा छन् । भारत, बिहारको मधुवनी जिल्ला लौकही प्रखण्ड ग्राम करयौत निवासी १९ वर्षीय प्रदीपकुमार यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डिएसपी भारतीले जानकारी दिए ।

घटना ढाकछोप गर्न स्थानीय केही नेताहरूले गोप्य बैठकहरू गरेको र पैसा दिएर मिलाउन खोजेको पीडित पक्षको आरोप छ । घटनाबारे बुझ्न डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख इन्दुदेवी यादवलाई फोन गर्दा उनका श्रीमान् ओमप्रकाश यादवले फोन उठाए । उक्त घटनाबारे जिज्ञासा राख्दा उनले आफूलाई जानकारी रहेको र घटनापछि आफू पनि पुगेको बताए ।

ओमप्रकाशले दिएको जानकारी अनुसार भारतीयहरूले रामदेवलाई कुटपिट गरेर भारततिर लगेका थिए । यता नेपालीहरूले कुटपिटमा संलग्न एक जनालाई समातेर प्रहरीमा बुझाएका थिए भने अर्का एक भारतीयलाई आफ्नै घेरामा राखेका थिए ।

घटनापछि दुई पक्षबीच वार्ता हुँदा भारतीयले घाइते रामदेवलाई मुक्त गर्ने र उपचार खर्च बेहोर्ने तथा नेपालीले घेरामा राखेका एक जनालाई भारतीयहरूको जिम्मा लगाउने सहमति भयो ।

ओमप्रकाशका अनुसार भारतीयहरूले उपचार खर्चवापत ८० हजार रुपैयाँ रामदेवका परिवारजनलाई बुझाए । उक्त रकम छिन्नमस्ता अस्पतालमा खर्च भयो । विपन्न परिवारका रामदेवलाई गाउँलेहरूले चन्दा संकलन गरेर विराटनगर हुँदै धरान पु¥याए तर उपचार सफल हुन सकेन ।

मृतक रामदेवको सोमबार दाहसंस्कार भएको छ । ओम प्रकाशका अनुसार घटनाबारे भारतीयहरूसँग छललफल गर्ने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ४ : ०८ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल