काठमाडौं – नायिका परमिता राज्यलक्ष्मी राणाले राजधानीको बुढानीलकण्ठ नगरपालिका–५ बसपार्क नजिकै एक पैदल यात्रुको ज्यान जाने गरी कार दुर्घटना हुँदा आफू पनि कारमै सवार रहेको स्वीकार गरेकी छिन् ।
गत मंसिर २८ गते मादक पदार्थ सेवन गरेका चार जना सवार कारले ठक्कर दिँदा गोरखाकी ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थिएको थियो ।
प्रहरीका अनुसार दुर्घटनाको समयमा चार जना कारमा थिए । कारमा सवार ३ जनाको नाम खुलाए पनि प्रहरीले परमिताको नाम गोप्य राखेको थियो । यद्यपि चौथो व्यक्ति भीआईपी कोही रहेको चर्चा सामाजिक सञ्जालमा चलेको थियो ।
घटना भएको एक महिनापछि परमिताले आफू उक्त कारमा सवार रहेको स्वीकार गरेकी छिन् ।
बा १४ च ६१२३ नम्बरको कारमा आफू पनि सवार रहेको परमिताले सामाजिक सञ्जालमार्फत बताएकी हुन् । उनले माफी माग्दै भनेकी छिन् – ‘म सबैसँग माफी माग्न चाहन्छु, चार जनाले लिएको मूर्ख निर्णयले एकजना निर्दोषको ज्यान गयो ।’
‘मैले यो एक खराब सपना होस् भनेर कामना पनि गरेँ, तर त्यो कारभित्र एक यात्रु म पनि थिएँ,’ परमिताले लेखेकी छिन्, ‘मैले ढिला भनेकोमा पनि माफी चाहन्छु तर म त्यो दुर्घटनाले दुखी थिएँ ।’
उनले उक्त दुर्भाग्यपूर्ण घटनाले दुःखी भएको बताएकी छिन् । परमिताले उक्त घटनापछि आफू धेरै चोटमा परेको र दुर्भाग्यपूर्ण घटनाले आफू मर्माहत भएको बताएकी छिन् ।
उनले चार छोरीहरुले मायालु आमा गुमाएको र श्रीमानले सहयोगी श्रीमती गुमाएको घटनाले आफ्नो जीवनमा पूर्ण रुपमा परिवर्तन ल्याएको बताएकी छिन् ।
‘केवल भगवानले जान्नुहुन्छ कि म हरेक बिहान मेरो हृदय र आत्मासँग कसरी उठ्छु र अझै शोक र शोकमा छु,’ उनले भनेकी छिन् ।
दुर्घटना भएपछि आफू घर पुगेपछि मात्र महिलाको मृत्यु भएको आफूले थाहा पाएको बताएकी छिन् ।
उनले आफू दुई वर्षको हुँदा कार दुर्घटनामा बुबालाई गुमाउनु परेको र त्यसयता आफूले अरुलाई कहिल्यै चोट पुर्याउन नसक्ने पनि बताएकी छिन् ।
परमिताले दुर्घटनापछि आफूले पहिलोपटक आमालाई फोन गरेको तर उनले नउठेको बताएकी छिन् । उक्त कारलाई २१ वर्षीय पृथ्वी मल्लले चलाएका थिए ।
अत्यधिक मदिरा सेवन गरी कार चलाइएकाले दुर्घटनामा परेको प्रहरीले बताएको थियो । कारमा नायिका परमिता राणा, करिश मास्के, एलिना थापा र पृथ्वी मल्ल सवार थिए । उनीहरू मंसिर २७ गते शुक्रबार साँझ शिवपुरी, डाँडागाउँ गएका थिए ।
प्रतिक्रिया