केही दिनभित्रै नेपाल आइपुग्दै पाँच वटा डिब्बा रहने रेल 'सेट' | Khabarhub Khabarhub

केही दिनभित्रै नेपाल आइपुग्दै पाँच वटा डिब्बा रहने रेल ‘सेट’


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि खरिद गरिएको रेल सेट केही दिनभित्रै नेपाल आइपुग्ने भएको छ ।

निर्माणको काम सम्पन्न भइसकेकाले रेल ल्याउने बाटो पर्खिरहेको रेल विभागले जनाएको छ । नेपाल सरकारले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरिद गरेको हो ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्ग निर्माण भएकामा सो मार्गमा सञ्चालनका लगि रेल सेट नेपाल सरकारले खरिद गरेको हो । रेल सेट भारतबाट लिग भएरै ल्याउनुपर्ने भएकाले लिग खाली भएको उपयुक्त समय मिलाएर ल्याउन लागिएको विभागका महानिर्देशक बलराम मिश्रले बताए । उनले भने “रेल सेट रेलमार्गसम्म केही दिनभित्रै आइपुग्नेछ ।”

रेल सेट आइपुग्न लाग्दा सरकारले आवश्यक तयारी अघि बढाइरहेको छ । रेल सञ्चालनका लागि विगतमा रहेको रेल्वे कम्पनी ब्यूताउँने गरी तयारी अघि बढाएको विभागले जनाएको छ ।

रेल्वे कम्पनी कर्मचारी विनियमावलीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ । सो विनियमावलीमाथि मन्त्रालयमा छलफलमा क्रममा रहेको महानिर्देशक मिश्रले बताए ।

कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून छन् । त्यसमा पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको उनको भनाइ छ ।

रेल सञ्चालनका लागि कम्पनीमा सबै गरी झण्डै २०० जनशक्ति आवश्यक पर्ने महानिर्देशक मिश्रले बताए । सञ्चालन, मर्मतलगायत कामका लागि इञ्जिनीयरिङ क्षेत्रका जनशक्तिसँगै कम्पनीमा प्रशासन, लेखालगायत कर्मचारी आवश्यक भएको भन्दै विभागले सबै खालका कर्मचारी प्रस्ताव गरेको हो ।

नेपाल भारत जोड्ने यो रेलमार्ग सञ्चालनको तयारी भइरहँदा रेल्वे विधेयक पनि अघि बढेको छ । राष्ट्रियसभाको समितिमा दफावर छलफलमा रहेको विधेयकले रेल सञ्चालनका लागि छुट्टै प्राधिकरणको परिकल्पना गरेको छ ।

रेल्वे विधेयकमा अन्तरराष्ट्रिय रेल सञ्चालन, चालकको योग्यता, यात्रुको सुरक्षा, रेलको सुरक्षालगायत विषय समेटेको छ ।

सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरिद प्रक्रिया गत वर्षअघि बढाएको थियो । ‘जि टु जि’ (दुई सरकारका बीच) रेल खरिद गरिएको हो ।

दुई वटा सेटमध्ये अहिले एउटा सेट आइपुग्ने र केही समयपछि अर्को सेट आइपुग्ने विभागले जनाएको छ । डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधिको सेटमा एउटामा पाँच वटा डिब्बा रहने विभागका प्रवक्ता अमन चित्रकारले बताए ।

उनका अनुसार सरकारले अहिले दुई वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए । उनले भने, “रेल सेटको निर्माण भइरहेकाले अहिले भनेभन्दा एक दुई सयसम्म तलमाथि हुनसक्छ ।”

जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर लम्बाइमा रेल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निमाण भइसकेको छ । सोही खण्डमा अहिले रेल सञ्चालन हुँदैछ ।

भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखिएकामा हालका लागि ३४ किलोमिटर मात्र रेल सञ्चालन हुनेछ। कुर्थादेखि बर्दिवासको विजुरासम्म थप १७ किलोमिटरमा आगामी दिनमा रेलमार्ग विस्तार गरिनेछ । जग्गा प्राप्ति हुन बाँकी रहेकाले लिक निर्माणमा ढिलाइ भएको हो ।

जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एक डेढ वर्षपछिबाट काम शुरु भएको चित्रकारले बताए। भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुन लागेको उनले जानकारी दिए । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनी बाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुन सकेको छैन ।

भारत सरकारसँगको सम्झौतानुसार नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ ।

सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज रहेका छन् । यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ९ : २५ बजे

पाकिस्तानमा तीन हिन्दू बालिकाको अपहरण, धर्मान्तरण र जबरजस्ती विवाह

काठमाडौं– पाकिस्तानमा तीन जना हिन्दू धर्मावलम्बी बालिकालाई अपहरण गरी धर्मान्तरण

आजका समाचार : च्यासलमा ओली-भण्डारी वार्ता, एमाले ‘कुलिङ पिरियड’विरुद्ध जाँदा शेखरको आक्रोश र सिरियाको सुवेदामा जारी हिंसा अझ तीव्र बन्दै

ओलीसँग वार्तापछि च्यासलबाट बाहिरिइन् पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री एवम् नेकपा एमालेका

जबरजस्ती करणी मुद्दामा पक्राउ परे राजेश अहिराज, पाँच दिन म्याद थप

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा मधेश प्रदेशका प्रमुख बनेका

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । साँझ

स्वास्थ्यमन्त्रीले भने- भदौभित्र स्वास्थ्य बीमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछ 

मध्यविन्दु– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाबापतको भुक्तानी गर्नुपर्ने सबै